सेती किनारमा देउवाहरूको काटमारले रिसाएकी ‘बालुकादेवी’

दमाहाको र भोक्करको धुनले यतिखेर सुदूरपश्चिमका डाडाँकाँडा गुञ्जायमान बनेका छन्। पूर्वजका पालादेखि मनाउँदै आएका देवीदेवताका जात्राहरु बडो धुमधामका साथ मनाइँदैछन्। तिहार सकिएलगत्तै सुरु हुने ती पर्वहरु पूर्णिमासम्म मनाइन्छन्।

पर्यटनकर्मी तथा समाजसेवी अमर शाहीका अनुसार डोटीको बालुका देवीको जाँत (जात्रा) को भव्य तयारी भइरहेको छ। चारैतिरबाट मान्छेहरु आउने क्रम जारी छ।

सुदूरपश्चिममा देवतालाई कपाउँदा वा पुकार्दा भन्ने गरिन्छ– ‘नीरऽ चुरऽ काँ छै आ प्रभु।’ त्यो चुर भनेको महाभारतको लेकको धुरो हो, जहाँ काफली बसेका छन्। नीर भनेको पानी भएको ठाउँ हो, जहाँ भागेश्वर बसेका छन्। बीचमा कफल्लेकी छन्। त्यसैले भन्ने गरिन्छ शिर घणेलो, नाभी महेश्वर पादुक अंकुश भाइ। जे भए नि यी सबै शिवजीकै अवतार मानिन्छन्।

शिवजीका तिनै मूर्ति यतै एकै डाँडामा छन्। दुईवटा खोला र एउटा नदीको संगम (त्रिवेणी) भएको भोश्वरको यो क्षेत्र प्रसिद्ध तीर्थस्थलको रुपमा चिनिन्छ। बालुकादेवी बालासैनी देवीका नामले चिनिन्छन् पुराण तथा धार्मिक ग्रन्थहरुमा। तिहारपछि लगत्तै आउने पूर्णिमा तिथिमा पुज्ने गरिन्छ बालुका देवीलाई।

को हुन् बालुकादेवी?

साहित्यकार तथा संस्कृतिक अध्येता पद्मराज जोशी भारद्वाज भन्छन्, ‘स्कन्धपुराणमा सीता नदी र कलावती नदीको संगममा बालुकादेवी पुजन भन्ने कुरा उल्लेख गरेको पाइन्छ। त्यहाँ उल्लेख गरिएकी सीता नदी भनेकी सेती नदी र कलावती नदी भनेको हालको कालागाड हो। बालुका देवी माता दुर्गाको रुप हो। सेती किनारमा बालुवाको मूर्ति स्थापना गरी बालुवामा बसी तपस्या गरेकी हुँदा यिनलाई बालुका देवी भनिएको हो। पुराणमा उल्लेख भएअनुसार बालुकादेवी (बालासैनी), शैलेश्वरी, बडीमालिका, उग्रतारा, डिलासैनी, निङ्गलाशैनी भगवती, मेलौली भगवती, सुर्मादेवी र त्रिपुरासुन्दरी नौवटै दिदीबहिनीहरू हुन् भन्ने भनाइ पनि छ।’

सेती किनारमै छ भागेश्वरको मन्दिर। भारद्वाजका अनुसार भागेश्वरलाई पुराना डोटीराज्यका देवताहरुका राजा मानिन्छ। यिनै भागेश्वरलाई माइती मानेर बालुकादेवीले ढोग्ने गरेको हुँदा जात्राको दिन बालुकाको गाँजलाई भागेश्वरको मन्दिरछेवैमा पुर्याइ निहुराउने चलन छ।

माथि बालुकादेवीको मन्दिरबाट नजिकै देखिन्छ भागेश्वर र सालमुनिको मन्दिर अनि सेतीको रमणीय दृश्य। छुट्टै मिथ बोकेका छन् निकै नै चर्चित मानिने भागेश्वर र सालमुनिले।

पुराणमा सीता नदीका नामले चिनिएकी सेती बगिरहेकी छन् भागेश्वर र कपड्यौतीको मन्दिर छेवैबाट। नदीहरू सभ्यताका मुहान हुन्। स्वाभिमानका घटा हुन्। लगनशीलताका छाल हुन्। अस्तित्वका पहिचान हुन्। जिन्दगीको सुन्दर गति पनि हुन्।

ताण्डव नृत्य देखाउने सनक पनि चढ्छ नदीसँग कहिले। एक्ला यात्री बनेर पनि उल्लासका साथ बगिदिन्छन् नदीहरू। सिक्नुपर्ने धेरै कुराहरू छन् मान्छेले नदीबाट। त्यस्तै सिक्नुपर्ने धेरै कुराहरु छन् हाम्रा चाडपर्व र जात्राहरुबाट। जात्राहरु मनोरन्जन दिलाउने पर्वहरु मात्रै नभई मेलमिलाप र भाइचारा सिकाउने पर्व पनि हुन्।

टाढाका आफन्तजनहरूसँग भेटघाट गर्नुका साथै प्रेमिल मनका उपहार साटासाट गर्ने, नौलो चिनजान गर्ने संगमस्थल पनि हुन्। विगतमा सूचना सम्प्रेषण गर्ने साधनहरू थिएनन्। यस्तै खाले भेटघाटमा एकअर्काको हालबाट थाहा पाउन सकिन्थ्यो।

जात्राको सांगीतिक तरङ्गले शरीरमा ऊर्जा बढाउने काम हुन्थ्यो। उमङ्ग र हर्षोल्लासका माध्यम थिए विगतका जात्राहरू, जहाँ काम विभाजनले सामाजिक तथा उत्तरदायी भावनामा बृद्धि हुन जान्थ्यो। नयाँ लुगाकपडामा सजिएर जात्रास्थलमा पुग्दा जीवन र जगतप्रतिको आस्था, प्रेम र विश्वास बढ्थ्यो।

स्थानीय उत्पादनलाई बजारीकरण गर्ने हालका हाट बजारझैँ व्यापार व्यवसायसँग समेत जोडिएका छन् जात्राहरु। वर्षदिनमा एकपटक आउने जात्रामा केटाकेटीका खेलौनादेखि युवायुवतीका श्रृगारका सामान र दैनिक जीवनमा प्रयोग हुने अदुवा, बेसार, खुर्सानीदेखि फलफूल र साग तरकारीसमेत खरिद बिक्री गर्ने चलन छँदैछ।

बालुकादेवी जात्रासम्बन्धी कहावतहरु

कथा भन्छ– हाल डडेल्धुरा जिल्लामा पर्ने गन्याप शिखरदेखि डोटीको लाना केदारसम्मका देवताको छलफल यसै ठाउँमा भएको हो। लडाइँमा कतिपय देवताहरूका हातखुट्टा टुटेर अपाङ्ग बन्न पुगेका हुन्। त्यसैले यस क्षेत्रमा मनाइने जात्रामा धामीहरू नाच्दा कोही एक खुट्टाले नाच्ने गर्छन् भने कोही घोप्टो परेर हात र खुट्टाले नाच्ने गर्छन्। कोही कम्मारमा हात लगाएर विभिन्न तरिकाले नाच्ने गर्छन्।

लडाइँका क्रममा अन्तिम समयमा देवताहरूकै जित हुन्छ। खापरेलाई परास्त गरेर टाउको काटी ल्याएको र उक्त टाउको हालको शिखर नगरपालिकाअन्तर्गत पर्ने कफल्लेकीमा राखिएको थियो भन्ने किम्वदन्ती छ। खापरेको टाउकोको स्वरुपको वस्तु हाल पनि कफल्लेकीमा देख्न सकिन्छ। यो एक पौराणिक कथामा आधारित मिथ हो।

ऐतिहासिक पक्ष

सेती नदीको किनारदेखि माथितिर अवस्थित बालुका देवीको पुरानो माडू सडक माथिको उर्वर जमिनमा थियो। जहाँ केही वर्षअघिसम्म पुरानो मन्दिरको भग्नावशेष देख्न सकिन्थ्यो। हाल त्यहाँ छेउमा रहेको आँपको रुख मात्रै छ।

स्थानीय निर्गबीर शाहीका अनुसार ‘सय वर्षअघि जात्राको दिन बालुकादेवीको मन्दिरभित्र एक जना महात्मा भात पकाइरहेका रहेछन्। त्यो समयमा जात्राको अख्तियारी थियो तोलीगाउँ निवासी देउवाहरूमा। चाकरदार थिए सेलीगाउँ निवासी साउँदहरू। देउवाले त्यहाँ जुठो हुन्छ, हामीले जात्रा मनाउनुछ बाहिर निस्किनोस् भन्दा जोगी अटेरी बनेपछि रिसको झोकमा तलबार निकालेर जोगीको टाउको छेदन गरिदिएछन्।

मन्दिरभित्र रगत देख्नासाथ गाँज फुत्केर किनारमा अवस्थित नागढुङ्गाको छेउबाटै सेतीमा गएछ। बग्दै गरेको गाँजलाई गोठालाहरूले देख्दा पौडी खेलेर किनारमा ल्याएछन्। गाँजमा पहिरिएका चाँदीका पतिउँ, सुनको गजुर, गाँजको लौरोलगायतका सामग्री कफल्लेकीतिरका गोठालाले लगेछन् भने गाँजको घाँगर मात्र मुगेगाउँ क्षेत्रका गोठालाका हातमा परेछ।

अधिकांश सामग्रीहरू भेटाएका कफल्लेकीका गोठालाहरूले आफ्नो गाउँमा लगेर दुर्गाको मन्दिर स्थापना गरी पुज्न थालेछन्। जहाँ एकदिन अगाडि नै दुर्गा जाँत मनाइएको थियो। मुडेगाउँ क्षेत्रमा केही वर्षसम्म पूजाआजा र जात्रा मनाउने काम रोकिएछ। तलबार चलाउने देउवालाई मुडेगाउँ निवासी ठकुरीहरूले मरिदिएछन् भने बाँकी देउवाहरू त्यो ठाउँ छोडेर हिँडेछन्।

समय बित्दै गयो। घरघरमा बेचैनी उत्पन्न हुन थाल्यो। खोजनीति गर्दा बालुकादेवीले चित्त दुखाएको कुरा हुन थालेपछि वि.स. १९९६ सालमा त्यस क्षेत्रका गन्नेमान्ने व्यक्तिहरू बसेर छलफल गरी पुरानो मन्दिर रहेको ठाउँबाट करिब १५० मिटर माथिको जमिनमा नयाँ मन्दिर निर्माण गरे। वि.सं. १९९७ सालदेखि पूजाआजाका साथ जात्रा मनाउन थालेको कुरा सुनाउँछन् साँस्कृतिक अध्येता पद्मराज जोशी भारद्वाज,मन्दिरका भडारी, चिन्तामणि जैशी र डिलबहाुर बोगटीलगायतका व्यक्तिहरू।

पद्मराज जोशी भारद्वाजका अनुसार डोटी जिल्लाको सबैभन्दा पहिलेदेखि मनाइएको जात्रा नै बालुकादेवीको जात्रा हो। सय वर्षसम्मको यसको इतिहास सजिलै थाहा पाउन सकिन्छ। त्योभन्दा अगाडि कहिलेदेखि मनाउन थालिएको थियो भन्ने कुरा खोजकै विषय बनेको छ।

'यहाँ पालैपालो गरी तीन गाउँमा चतुर्दशीको राति गाँजलाई राख्ने गरिन्थ्यो। जुन गाउँ हुन् घङाडा, मुडेगाउँ र पधेडा गाउँ। ती गाउँका बासिन्दाले कारेकारेका साथै आगन्तुकहरुलाई स्वागत सत्कारसहित खानाको व्यवस्था गर्नु पर्थ्याे', समाजसेवी निर्गबहादुर शाही सम्झिन्छन्।

अन्तिम जाँत भएकोले यता डडेल्धुरा र उता अछामसम्मका श्रद्धालुहरू आउने गर्दथे उहिले। नाङ्गा खुकुरी तलबारहरू नचाउँथे। हातहतियारको बीचमा गाँज जान्थ्यो। यहाँ जात्रामा पहिला नाच्ने मसानीको धामी हो। २२ खला (आँगन) र ५२ दलको मालिक मानिन्छ मसानी।

अघिल्लो दिन साँझ भँडारमा पूजाआजा गरी गाँज सजिन्छ। गाजाबाजासहित समथल ठाउँमा नचाउँदै उमङ्गका साथ मन्दिरमा ल्याइन्छ उक्त गाँजलाई। राति धामी भँडारीलगायत केही व्यक्ति कुरुवा बस्छन् मन्दिमा।

जात्राको दिन बिहान गाजाबाजासहित गाँज नचाउँदै लगिन्छ भागेश्वर कपडौती मन्दिरको प्राङ्गणमा। जहाँबाट बालुका देवीको गाँज निहुराएर भागेश्वरलाई ढोग्न लगाइन्छ। नदीको जल ल्याएर धामी भँडारीले छर्किने गरिन्छ गाँजमा। जसको अर्थ गाँजलाई नुहाउनु भन्ने हुन्छ। कनाय समयमा गाँजलाई सेतीमा नुहाउन र भागेश्वरलाई ढोग्न लग्ने चलन छ। कनाय समयको अर्थ हो गेडागुडी अर्थात दालखेती राम्रो हुने समय। जुन हरेक तेस्राे वर्षमा पर्दछ। जात्राको दिन दिउँसो जात्रा मनाउन थाल्दा अरु कुनै देवताको नाम पुकारिँदैन। मात्र एकपल्ट कालोपातललाई पुकारिन्छ। अनि त्यो क्षेत्रका त्यहाँ उपस्थित धामीहरू जम्मै काँप्न थाल्छन्। जात्रा नसद्धिउन्जेल ती काँपी नै रहन्छन्।

बालुका देवीको जात्रा हुने ठाउँ प्राकृतिक हिसाबले पनि सुन्दर छ। सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुमध्येको एक यो क्षेत्र पनि हो। यहाँ मानव संस्कृति र सभ्यताको अभिन्न अङ्गका रुपमा लिएका तमाम मिथहरु सुन्नमा आउँछन्। ती मिथहरुमा नैतिक दृष्टि भेटिन्छ अनि भेटिन्छ नीतिमूलक स्वर पनि। यहाँका धेरै जसो मिथमा सत्यताको विजय हुने कुरामा बढी जोड दिएको पाइन्छ।

पर्यटनकर्मी अमर शाही बताउँछन्, ‘हाम्रो संस्कृति सभ्यता र मूल्यमान्यताहरुले हामीलाई बाँच्न सिकाएका छन्। मानव बन्न सिकाएका छन्। यो विराट संस्कृति र सभ्यताको संरक्षण गरेर पर्यटकीय स्थलका रुपमा चिनाउन सबैले आ-आफ्नो पक्षबाट लागिपर्नुपर्ने हुन्छ।’ अमर शाहीले भनेझैँ हाम्रा राजनैतिक, सामाजिक अगुवादेखि सम्बन्धित सरोकारवालाहरुले यो कुरा बुझ्नु जरुरी छ। सुदूरपश्चिम अझै लेख्न, देख्न र देखाउन बाँकी नै छ।

प्रकाशित मिति: : 2023-11-27 18:25:00

प्रतिकृया दिनुहोस्

    जात्राको सांगीतिक तरङ्गले शरीरमा ऊर्जा बढाउने काम हुन्थ्यो। उमङ्ग र हर्षोल्लासका माध्यम थिए विगतका जात्राहरू, जहाँ काम विभाजनले सामाजिक तथा उत्तरदायी भावनामा बृद्धि हुन जान्थ्यो। नयाँ लुगाकपडामा सजिएर जात्रास्थलमा पुग्दा जीवन र जगतप्रतिको आस्था, प्रेम र विश्वास बढ्थ्यो।

    • एक बर्ष अगाडि
    • Khem ojha