राजा छोप्ने दाउ हेरिरहेको राप्रपाः दुर्गा प्रसाईंदेखि कलेजका कार्यक्रमसम्मै आफ्नै तामझाम

झापाको एउटा कलेजले आज (शनिबार) एउटा शालिक अनावरण गर्दैछ। त्यही एउटा शालिक अनावरण गर्न कलेजको निमन्त्रणमा झापा पुगेका छन्, पूर्वराजा ज्ञानेन्द्र शाह।

बिर्तामोड नगरपालिका– १ स्थित इकोम कलेजले स्थापना गर्न लागेको शालिक हो, पृथ्वीनारायण शाहको।

आफ्नै प्राङ्गणमा कलेजले शालिक ठड्याउन लाग्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तामझाम भने रोचक देखिएको छ।

शालिक कलेजले बनाउने, कलेजकै प्राङ्गणमा ठड्याइने, कलेजले नै शालिकको अनावरण गर्न पूर्वराजालाई निमन्त्रण गर्ने तर त्यसको तामझाम राप्रपाले गर्ने।

यही तामझामका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन महिना दिनदेखि झापामा खटिएका छन्। झापामा शक्ति प्रदर्शन गर्ने गरी कार्यकर्तालाई निर्देशन दिएका छन्।

सबै कार्यक्रम गर्ने एउटा कलेज। त्यसको तामझाम किन राप्रपा गरिरहेको छ? के कलेजले अनुमति दिएको छ? यस विषयमा कलेज जानकार छैन।

पूर्वराजा आउने सन्दर्भमा बाहिर भइरहेको राजनीतिकरणबारे आफूहरु जानकार नरहेको कलेजमा संस्थापक अध्यक्ष एवम् सिइओ आलोक कार्कीले बताए।

‘कलेजको निम्तोमा पूर्वाजालाई झापा ल्याइएको हो। कुनै पार्टीको निम्तोमा आउन लागेको होइन,’ उनले भने, ‘कलेज बाहिर के-के कार्यक्रम छन्, जानकारी छैन।’

तर, राप्रपाले भने कलेज कार्यक्रमलाई भव्य बनाउने तयारी गरेको छ। त्यो पनि झापामा र्‍यालीसहितको शक्ति प्रदर्शन गरेर। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कार्यक्रमलाई भव्य बनाउन आठ हजार मोटरसाइकल र्‍याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने बताए।

उनले कार्यक्रम कलेजको भएपनि राप्रपाको महत्पूर्ण साथ रहेको बताए। ‘कलेजनको शालिक अनावरण भएपनि राप्रपाले कार्यक्रमलाई भव्य बनाउन सबै तयारी गरेको छ,’ प्रवक्ता श्रेष्ठ भन्छन्।

राजसंस्थाको वकालत गर्ने राप्रपा एउटा कलेजले गरेको कार्यक्रममा पूर्वराजाका लागि किन मरिमेट्टी लागेको छ? पूर्वराजाको साथ पाउने आशमा।

अहिले राजतन्त्र चाहिन्छ भनेर राप्रपाको मुद्धालाई ओझले पार्ने गरी अन्य व्यक्तिहरु चर्चामा आएपछि राप्रपा आत्तिएको छ। नेपालमा राजतन्त्रको वकालत गर्ने पहिले राप्रपामा थियो।

अहिले एउटा व्यक्ति दुर्गा प्रसाईं राजतन्त्रको वकालत गर्दै चर्चामा छन्। उनले बिहीबार काठमाडौंमा देशभरबाट मान्छे उतारेर शक्ति प्रदर्शनसमेत गरेका छन्।

नागरिक बचाउ महाअभियानअन्तर्गत् उनले काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि दबाबमा राप्रपा छ। आफ्नो मुद्धा कोही व्यक्तिको हातमा पुगेपछि राजाको रहानुभूति उतै जाने त होइन, राप्रपा सशंकित छ।

र त, खुलेर प्रसाईंले आह्वान गरेको कार्यक्रमलाई समर्थन नगरेपनि नैतिक समर्थन रहेको बताएको छ। नैतिक समर्थनमात्र होइन, पार्टी प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीलाई प्रसाईंको कार्यक्रममा पठाएर हामी पनि राजतन्त्रवादी हौँ है भन्ने देखाएको छ।

पूर्वराजा राप्रपासँग असन्तुष्ट रहेको चर्चा भइरहेको समयमा उनलाई खुसी पार्न राप्रपा लागिरहेको छ। तर, आफैँ कार्यक्रम गर्न सकेको छैन। कसैले गरेको राजतन्त्र वकालत कार्यक्रमको दाउ हेरेर।

प्रकाशित मिति: : 2023-11-25 07:00:00

प्रतिकृया दिनुहोस्