तिहारको पूर्वसन्ध्यामा मान्छेहरुको आवतजावत बढिरहेको थियो। काठमाडौँकाे गंगबुस्थित बसपार्कमा गाडीवालाको तछाडमछाड थियो। काँधमा झोला भिरेर हिँडिरहेका मान्छे देख्नासाथ खलासी र कन्डक्टर दौडिदै उसको छेवैमा गएर पाखुरो समात्दै भन्न थाल्थे, एवान बस छ। सिट मिलाइदिन्छौं। बाटोमा खाना पनि खुवाउछौं। हिँड्नु हाम्रो गाडीमा। त्यो मान्छेले तिनीहरुसँग छुट्करा पाउन सजिलो देखिँदैन थियो।
पैसाको बार्गेनिङ सुरु हुन्थ्यो। फकाइफुलाइ क्षणभरमै गाडीवाला सफल भैदिन्थे, त्यस्ता कतिपय मान्छेलाई जालमा पार्न। ती मान्छेहरु पनि स्वयम् जालमा पर्न आएका जस्ता देखिन्थे। बसपार्क गएर गाडीवालासँग बार्गेनिङ गर्दा सस्तोमा जान पाइन्छ भन्ने मानसिकता बोकेका यात्रुहरु पनि नभएका हैनन्। प्रसस्तै भेटिन्छन् त्यस्ता पनि। यात्रु कम हुँदा कहिलेकाहिँ तिनले सिट पनि राम्रै भेटाउँछन बस्नलाई। तर, चाडपर्वको बेला कहाँ भेटिन्थे र खाली गाडीहरु। यतिबेला त हो गाडीवालाले नयाँ मुडा किनेर ग्यालरी भर्ने।
बसपार्कबाट गाडी गुड्छ धनगडीका लागि। कलङ्की पुगुन्जेल उभिएका यात्रुहरु विश्वस्त नै थिए सिट मिलाइहाल्लान भन्नेमा। जब बसले थानकोट मोड पार गर्यो त्यसपछि बल्ल सुरु भयो होहल्ला। गाडीको कन्डक्टर र यात्रुबीच भनाभन सुरु हुन थाल्यो। निकैबेरसम्म चलिरर्यो भनाभन। ‘दुई हजारमा सिट पाइन्छ? मुडामा बस,’ गाडीवालाले थर्काउन थाल्यो।
‘उतिबेला सिट दिन्छु भनेको हैन, पैसा पनि त दुई हजार देऊ भनेर आफैंले भनेको हैन,’ यात्रु कसिन्छ। जति कस्सिएर कुरा गरे पनि केही सीप नचल्ने लक्षण देखेपछि मुडामै रात बिताउन बाध्य भए केही यात्रुहरु। यति मात्रै कहाँ नारायणघाट पुगेपछि लोकल यात्रु चढायो। भेडाबाख्रा खाँदेझैं खाद्याे बसभित्र। अब त मुडा पनि हराए। जेलघरभित्र कोचिएर कैदीहरुले रात कटाएझैं ग्यालरीमै रात कटाउन विवश बने कतिपय युवायुवतीहरु। गाडीवालको रबैया हेरिनसक्नु थियो। बोल्ने भाषा उस्तै छाडा थियो। यात्रुसँग बोल्दा तँ शिवाय अरु आउँदैन थियो मुखबाट। तिनले खाना खुवाउने होटलको नजिकमा अर्को होटल हुँदैन। बिकल्प नै नभएपछि खाए खा नत्र घिच भनेझैं गर्नुपर्ने भैहाल्यो। बिकल्पविहीन एकान्तको एक्लो होटलमा लगेपछि यात्रुहरु सोही होटलमा खान बाध्य हुने नै भए। तब न ड्राइभरले पर ट्रिप पन्ध्र सय रुपैयाँ भत्ता बुझ्न पाउँछ।
अहिलेसम्मको तथ्यांक हेर्ने हो भने अधिकांश दुर्घटनाहरु पनि चाडपर्वकै आसपासमा निम्तिएका छन्। यसो हुनुको प्रमुख कारण क्षमताभन्दा बढी सवारी बोक्नु नै हो। अर्को कुरा यतिबेला पालोको बसले मात्र न पुग्ने भएपछि अरु बसले पनि मौका पाउँछन। यसरी मौका पाउने भनेकै अघिल्लो दिनमात्र यात्रु लगेर गएका गाडीहरु हुन्। जसका चालकले राम्ररी निदाउन नै पाएका हुँदैनन्। पैसाको निम्ति निद् भोक सबै त्यागिदिन्छन् तिनले।
चाडपर्वको बेला नै त हो सोचेजस्तो चुन्नी उठाउन पाइने। ट्राफिकका पनि खल्ती भरिँदा हुन् रत बीस घण्टाको यात्रामा कुनै ठाउँमा पनि गाडीभित्र कति यात्रु सवार छन् भनेर अनुगमन गरेको देखिएन। आखिर मामा भान्जा न परे। मिलेर यात्रु लुट्न पाएपछि के नै चाहियो र। पहाडी रुटमा चल्ने सबै माइक्रो बसले अगाडिको सिटमा तीन जना यात्रु बोकिरहेका हुन्छन्। त्यो सिट हो मात्र दुई जना यात्रु बस्न मिल्ने। तर, पनि ड्राइभरसहित चार जना बसिरहेका देखिन्छन्। खै कहाँ छन् हाम्रा ट्राफिक साथीहरु। किन देख्दैनन् तिनले त्यो दृश्य। कैयौं प्रश्नहरु जन्मिन्छन् यात्रुका क्रममा मनभित्र। तथापि, यात्रा गर्दा सबैभन्दा बलवान बनेर मनमस्तिष्कमा हरपल देखापरिदिन्छ एउटै प्रश्न, ‘के यो देशमा साँच्चिकैको लोकतन्त्र छ त?’
लोकतन्त्रमा त सुसासन हुनु पर्थ्याे होला। जनताले सुख र शान्तिको सास फेर्न पाउँथे होलान्। जताततै कालोबजारी हुँदैन थियो होला। अकालमा मृत्यु हुने मार्ग रोक्ने उपायहरु अपनाइन्थे होलान्। यसरी जताततै हैकम तन्त्र मात्र त देखिँदैन थियो होला नि? मैले यसरी सोचिरहँदा पछाडिपट्टी दुई जना युवाहरु पनि यही विषयमा मन्थन गरिरहेका रहेछन्। तीमध्ये एउटाले भनेको सुनियो, ‘यो गोसाइहरुको तन्त्र हो। प्रजातन्त्र, लोकतन्त्र जे-सुकै भनेपनि जनताको लागि कहिल्यै आएन। र, सतिले सरापेको यो देशमा कहिल्यै आउलाजस्तो पनि लाग्दैन। यहाँ बस्नु बेकार हो। बाहिर जाने तयारी गर्नुपर्छ यार।’
क्षणभरमै मन भारी भयो। अगाडिबाट पुलुकपुलुक ती युवाद्वयलाई हेरिरहेँ। सास फेर्न नै मुस्किल भैरहेको र मनमा अनेक कुराहरु खेलिरहेको परिवेशमा कानको जाली नै फुट्ला गरी माइक बज्न थाल्यो। गाडीभित्र गीत घन्कियो। बलिरहेको दियोमा घिउ थपेझैं गायक अन्तराम बिष्टको छमछमला बोलको गीतले आँखाबाट तप्प-तप्प आँसुका थोपा चुहाउन सघाइरह्यो। गीत नसिद्घिन्जेल सुनसान भैरह्यो माहोल।
गायक : चैतका चर्किला घाम भैंसी तिसाइरै हो
भाइटीकामा भेटभएइन बेना रिसाइरै हो
गायिका : हजारी फूलको माला हातको हातै छ,
मखि लेख्या मेरा दादा दिन पनि रातै छ
गायक : दसै गयो दुत्ते आयो घर आउनै पाएन,
भारी बोक्दै आँसु झार्दै फुर्सदै भएइन
गायिका : भारतका कै कुना छन् दाइका काला केश,
मखिलाई बिरानो भयो मेरै माइत्या देश
यो गीतले सुदूरपश्चिमेली समाजको यथार्थता झल्काएको छ। भारतमा दरवानी गरिरहेको युवा तिहारमा घर फर्किन नपाउँदा दाइ र बैनीको घाँटीसम्म पुगेको मनको भक्कानो फुटाइरहन्छ यो गीतले। अरु बेला सुन्दा पनि आँखा रसाउन बाध्य तुल्याउने यो गीत तिहारको समयमा बिछोडिएका भाइबैनीहरुको भित्रि मनको रुवाइ बन्न पुगेको छ।
यहाँ गरिब र आवाजविहीनका निम्ति चाडपर्वहरु रुवाइका केन्द्र बनिदिन्छन्। पर्वपवादीमा मूल्यवृद्धिले आकाश छोइएलाझैं गर्छ। कालो बजारी उस्तै मौलाउछ। गाडीवालाको हैकम चलिरहन्छ। युवाहरु पलायन हुने मार्गको खोजी गरिरहेकै देखिन्छन्। वृद्ध आमाबुवाहरु काल कुरेर घर रुघिरहेकै छन्। तथापि, यहाँ लोकतन्त्र छ। जनता भोकले मरुन् या शोकले या मरुन् कुनै रोगले केही फरक पर्दैन। ‘सम्राटहरुको मुलुकमा उद्योगधन्दा नहुँदा नै राम्रो हुन्छ रे। रेमिटान्स भित्र्याउन पाइन्छ रे। झोले मुन्द्रेहरु दुई चार जनालाई दारुपानी पिलाएर साथमा हिँडाउन सके नेता बन्न सकिहालिन्छ। अनि भ्रष्टाचार गरेर अकुत कमाउन सके वर्षौ चुनाव जित्न पुगिहाल्छ’, कयौंका मुखबाट सुनिने वाक्य यस्तै हुन्छन् हिजोआज। पञ्चायतमा पञ्चेको राज भयो। गाउँघरतिर मुखिया, डिठ्ठा, बैदार, जमिनदार जस्ताले निमुखाजनको शोषण गरे। २०४६ को प्रजातन्त्रपछि त देशका कलकारखाना उद्योगधन्दा सबै बेचिए। कामदारहरुको हरिबिजोग बनाइयो। भ्रष्टाचारको मार्गको उद्घाटन हुन गयो। गणतन्त्र पछाडि हुन बाँकी केही छैन। गोसाइहरुका लागि लाज शरम र नैतिकता भन्ने कुरा कुन चरीको नाम हो थाहा छैन। यो देश केवल लुटेरा र भ्रष्टाचारीहरुको देश बन्न पुगेको छ। जनता केही पाएका छन् भने त्यो हो हैरानीका सुस्केरा र आँसु। खै कुन्नि किन हो यहाँ चाडपर्वहरुले पनि कुन्नि किन हो यात्राका कतिपय मोडहरुमा बाध्य तुल्याइ दिन्छन् आँसु खसाल्न। बसमा सवार ती युवाहरुको विदेशिने सल्लाहले सम्झाइरह्यो गीतका ती पंक्ति :
जन्मघर बिरानो हुनु यो कसो करम
आँसुइ लाउनु आँसुइ खानु धन्यका धरम
अत्तरियामा भेटिएकी देउसराले सुनाइहालिन्, ‘उता जाजकोट रोयाको छ। यता समय समयमा विदेशबाट लास आएका खबर मात्तर सुनिना। महंगीले बजारैदो हात हाल्लुबाटो नैथि। म त यइ पाली भुवन दाहलको गीत मात्तर सुन्ना छु रातदिन।’
‘भुवनको गीत सुन्ना छौं?’, जिज्ञासा व्यक्त गरेँ।
उत्तर आयो, क्याखिलाई आइ है दसैं देवाली, अनारो बनाइ गाउँघर यै पाली।
गीतले जे सुकै भने पनि यो मनले जसुकै सोचे पनि सम्झे पनि चाड पर्वहरु झुल्किन्छन हरेक वर्ष। श्रृष्टिको चक्र घुमि नै रहन्छ। यहाँ भुमरीमा पर्ने केवल मान्छे मात्रै न हो। अझैं भन्नु पर्दा गरिब गुरुवा र आवाजविहीनहरु नै त हुन् दुख र समस्याको सागरमा पौडिखेलिरहने।
आज तिहारको दिन। ती घटनाहरुले मन जस्तोसुकै बनाएका भए पनि भन्न मन लाग्छ, यो देशका सम्राटहरुका विचारको घैटोमा सकारात्मक सोच र सदबुद्धिको घाम लागोस्। युवाहरुले विदेशिनु नपरोस्। चाडपर्व आउँदा देउसराहरुले विरहका गीत मात्रै सुन्नु नपरोस्। जनताले सुसासनको आभास पाउन सकुन्। दिपावलीको सबैमा शुभकामना।