झिलीमिली बत्ती। फूलहरूले सजिएको गगनचुम्बी भवन अनि भरिभाउ बजार। घर–आँगनमा भित्रिसकेको छ, तिहार। त्यही तिहारको चटारोमा छिन्, भक्तपुरकी प्रियालक्ष्मी प्रजापति।
माटोका ‘पाला’ बनाउनमा व्यस्त उनी खाना खानसमेत भ्याउँदिनन्। दिनको १८ घण्टा माटोसँग खेल्ने प्रजापति भन्छिन्, ‘यो पटक धेरै अर्डर छ, २५ हजार वटा दियो बाल्ने पाला बनाउनु छ।’
माटोको भाँडा बनाउने प्रजापतिहरुको पुस्तेनी काम हो। तर प्रियालक्ष्मीले भने माटोको भाँडा बनाउन थालेको ७ वर्ष मात्र भयो। त्यही पनि श्रीमानको मृत्युपछि।
वि.स. २०४० सालमा विष्णुप्रसाद प्रजापतिसँग उनको मागी विवाह भयो। त्योबला उनी मात्र १५ वर्षकी थिइन्। पढे-लेखेकी थिइनन् तर घरायसी कामकाजमा निकै सिपालु थिइन् प्रियालक्ष्मी।
विवाह गरेर भक्तपुर आइपुगेकी उनको मेलापातमा दिन बित्थ्यो। श्रीमान भने दिनभरि माटोलाई आकार दिन्थे। श्रीमानले दिएको साथ र एक्लो छोराको स्नेहले रमाइरहेकी थिइन् उनी। तर २०७२ सालको भूकम्पले तहसनहस गर्याे।
वैशाख १२ गते।
घरको कामधन्दा सक्काएर आराम गर्दैथिइन् लक्ष्मी। त्यतिकैमा घर हल्लिन थाल्यो। उनी अत्तालिएर खाटमुनि लुक्न थालिन्। छोरा विवेकले उनलाई घर बाहिर ल्याए। घरभित्रबाट बाहिर निस्किएको केहीबेरमै साढे तीन तला घर आँखा अगाडि नै भत्कियो।
‘म एक्लै घरमा थिएँ, भूकम्पको कारण खाटमुनि छिर्दै थिएँ तर छोराले बाहिर आँगनमा लगेर गयो। सबै जना त्यही थिए’, ०७२ सालमा गएको विनाशकारी भूकम्प सम्झँदै उनले भनिन्, ‘आँखा अगाडि घर भत्कियो तर हामीलाई केही भएन।’
पुर्ख्यौली घर भत्किएपछि डेरामा बस्न बाध्य भए प्रजापति परिवार। माटोको भाँडा बनाएरै गुजारा चलिरहेको थियो। ‘एसएलसी’ मा असफल भएका छोराले पनि माटोको भाँडा बनाउनमा चासो देखाएका थिए। त्यसैले उनी बुबालाई काममा सघाउँथे।
घरका तीनै सदस्य काममा पोख्त थिए। कमाइ राम्रै थियो। तर २०७३ सालमा लक्ष्मीमाथि अर्काे बज्रपात थपियाे। सदाका लागि विष्णुप्रसाद संसारबाट बिदा भए।
‘बुढालाई पेटको क्यान्सर थियो। बेलैमा उपचार भएन, उहाँ बित्नुभयो’, विगतलाई कोट्याउँदै उनले बताइन्।
श्रीमानको निधनपछि उनले पनि माटोसँग नाता गाँस्ने निधो गरिन्। र, आफैँले माटोलाई आकार दिन सुरु गरिन्।
सुरुवाती दिनहरुमा माटोका भाँडाहरु बनाउन खोज्दा छोराले उनलाई नरोकेको होइन। तर उनले श्रीमानको सम्झनामा माटोको काम गर्न छोडिनन्।
उनलाई लाग्थ्यो कि उनको श्रीमानको सबथोक त्यही माटोमा नै छ।
सधैँ मेलापात र घरधन्दा सम्हालेकी लक्ष्मीलाई माटोको भाँडा बनाउनु चानचुने कुरा थिएन। तर उनको कामप्रतिको लगाव र मेहनतको कारण केही दिनमै उनी ‘कुमाले’ भइन्। र, आफैँले बनाएका माटोका भाँडाहरु बिक्री गर्न थालिन्।
‘गाउँको बजारमा जान्थेँ अनि आफैँले बनाएका सामानहरु बेच्थेँ, अरुलाई जस्तो मलाई दाम दिदैँन थियो’, बिएल नेपाली सेवासँग उनले भनिन्, ‘मभन्दा धेरै माटोको भाँडा बनाउन जान्ने हुनुहुन्थ्यो। त्यसैले म पछि पर्थेँ।’
माटोको कचौराबाट भाँडा बनाउन सुरु गरेकी लक्ष्मीले खुत्रुकेसँगै पाला बनाउन पनि सिकिन्। उनलाई अझै पनि याद छ, पहिलोपटक पाला बनाएर बेच्दाको त्यो दिन।
तिहारको रमझम थियो। पाला बेच्नका लागि उनी बजार पुगेकी थिइन्। त्यही बजारमा पालाको मूल्य २ रुपैयाँ थियो। तर उनले भने डेढ रुपैयाँ तोकेकी थिइन्। तर त्यो पनि पाइनन्।
‘अरुले भन्दा मैले पालाको मूल्य कम राखेकी थिएँ तर पनि मान्छेले एक रुपैयाँ दिन्छु भन्यो अनि मैले एकै रुपैयाँ बेचिदिएँ’, उनी सम्झिन्छिन्, ‘मैले बनाएको पाला उहाँहरुलाई खासै राम्रो लागेको थिएन रे!’
तर अहिले।
कुनैबेला एउटा पालाको मूल्य एक रुपैयाँ तिर्न समेत तर्सिने व्यापारी र ग्राहकहरु उनै लक्ष्मीलाई खोज्दै भक्तपुर पुग्छन्। अनि त्यहीँबाट तिहारका लागि चाहिने पाला, बत्तीहरु किनेर लैजान्छन्। एउटै पालाको मूल्य तीन रुपैयाँसम्म तिर्न पछि हट्दैनन्।
माटोसँगको नाता
माटोसँग कुमालेहरुको गहिरो नाता रहेको उनको बुझाइ छ। माटोकै कारण आफूहरुले जीविका चलाउन पाइहेको लक्ष्मीको भनाइ छ। त्यसैले त उनी हरेक दिन माटोलाई पुज्ने गर्छिन्। त्यसपछि मात्र काम सुरु गर्छिन्।
माटोबाट बनाइएका विभिन्न आकर्षक भाँडाहरु जस्तोसुकै माटो बन्न नसक्ने उनीबताउँछिन्। माटोको भाँडा बनाउन कालीमाटो नै चाहिने लक्ष्मीले बताइन्।
‘जस्तोसुकै माटोबाट भाँडा बन्दैन, त्यसको लागि कालीमाटो नै चाहिन्छ। सफा र पवित्र मानिने यो माटो जहाँतहीँ पाइँदैन, काठमाडौँको हशित भन्ने ठाउँबाट ल्याउँछु’, कालीमाटोको विशेषताबारे उनले बताइन्।
आफूहरुको पुर्ख्यौली पेशा कुमाले भएपनि माटोको मूल्य तिर्नुपर्ने उनी बताउँछिन्। एक किलो माटोको मूल्य उनी सय रुपैयाँ तिर्छिन्। यो पटकको तिहारमा त उनले ५० केजी माटो किनेकी छिन्। जसको मूल्य उनले ५ हजार रुपैयाँ तिरिन्।
‘यो पटक धेरै पालाको अर्डरहरु आइरहेको छ, त्यसैले धेरै माटो किनेर राखेकी छु’, माटोलाई पालामा ढाल्दै उनी भन्छिन्, ‘धेरै खुसी छु। तिहार खर्च हुन्छ भनेर ढुक्क छु।’
कुनैबेला कोरोनाकालमा घटेको व्यापार अहिले बढ्न थालेको उनको भनाइ छ। यसपटकको तिहारमा ५० हजार रुपैयाँ पाला बेचेरै कमाउने लक्ष्मीको विश्वास छ।
तिहारमा बनाइने माटोको पालाले लक्ष्मीलाई पैसा मात्र होइन, सन्तृष्टि पनि दिइहेको छ। जसको कारण भगवानसँग जोडिएको छ।
‘तिहारमा मानिसहरुले इलेक्ट्रिक बत्तीहरु बालेर आफ्नो घरहरुलाई झिलीमिली बनाउँछन् तर त्यो बत्तीले भगवानलाई खुसी बनाउनै सक्दैन’, भगवानलाई खुसी बनाउने उपायबारे उनी भन्छिन्, ‘भगवानलाई उज्यालोले खुसी बनाउँछ, त्यसैले दियो र फूलहरुले घरलाई सजाउनुपर्छ।’
एउटा माटोको ढिक्कालाई जसरी पालाको आकारमा ढाल्न पोख्त छिन्, प्रजापति त्यतिकै दयालु पनि छिन्। त्यसैले त उनले माटोको पाला बनाउन चाहनेहरुका लागि ‘पोटेरी ट्रेनिङ सेन्टर’ नै खोलेकी छिन्।
उनीकहाँ पाला बनाउन सिक्ने मानिसहरु धेरै पुग्छन्, सिक्छन् अनि सोध्ने गर्छन्, ‘पाला सिकेको कति हो मूल्य?’, उनी मुस्कुराएर जवाफ दिन्छिन्, ‘तपाईंको इच्छाले दिनूस्।’
कयौँ जनालाई बिना पैसा पाला बनाउन सिकाएकी लक्ष्मी खुसी हुँदै भन्छिन्, ‘पालाको बत्तीले तिहार झल्काउँछ, त्यो काम मैले गर्न पाएकी छु, त्यसै पनि धेरै खुसी छु। भगवानसँग कुनै गुनासो छैन।’
सास रहुन्जेल माटोका भाँडा र पाला बनाएरै हातमुख जोड्ने उनको अडान छ।