गुल्मी इन्द्रगौडाका निर्मल अर्याल एक दशकअघि हङकङ पुगेका थिए। उनका बाबु हङकङमा जागिरे थिए। पछि परिवार नै उतै लगे। निर्मलले हङकङमै अध्ययनलाई अगाडि बढाउँदै विभिन्न स्थानमा जागिर पनि गरे।
नेपालमा धेरैको बुझाइ छ, विदेशमा पैसा फल्ने रुख हुन्छ। सुरूमा उनको बुभाइ पनि लगभग त्यस्तै थियो।
उनले ८ घण्टा काम गरे। विदेशमा कामको मूल्यांकन हुनाले तुलनात्मक रूपमा नेपालभन्दा विदेशमा राम्रो तलब हुन्छ। फेरि नेपालको तुलनामा विदेशी मुद्रा बलियो भएको हुनाले उसै पनि तलब ठूलो देखिन्छ।
तर, विदेशमै बसेर काम गर्नुपर्ने र उतैको जीवनशैली पछ्याउनुपर्ने हुनाले कमाएको पैसा खासै जोगिन्न।
निर्मलले केही पैसा बचाउनका लागि दिनमै १२ घण्टाभन्दा धेरै काम गरे। तर, त्यसले पनि उनको जीवनशैलीमा खासै फरक देखिएन।
यसपछि उनको दिमागमा एउटा ‘आइडिया’ फुर्यो। त्यो थियो, काम गरेर जोगिएको थोरै पैसा भए पनि लगानी किन नगर्ने?
यसको अर्थ थियो, आफैंं ‘व्यवसायी’ किन नबन्ने?
उनको सोच त राम्रो थियो तर त्यसलाई पछ्याउने कसरी? सुरूवाती दिनमा उनलाई आफ्नो सपना पछ्याउन निकैै गाह्रो पर्यो। किनभने यो सम्बन्धि ज्ञान उनीसँग थिएन। न कुनै विश्वविद्यालयमा यसको पढाइ हुन्थ्यो।
लामो खोजपछि निर्मलले पूँजी बजारमा आफ्नो पैसा कसरी लगानी गर्ने, त्यो बुझे। उनले अमेरिकाका अनुभवी व्यक्तिसँग ‘इन्टरनेट क्लास’ लिए। र, आफैंले पूँजी बजारमा लगानी गरे।
अहिले उनको जीवनशैली फेरिएको छ। हङकङको सुरूवाती दिनमा निकै संघर्ष गरेका निर्मल विगत केही वर्ष यतादेखि आफू जस्ता युवाहरूलाई पूँजीबजारमा लगानी गर्न उत्तप्रेरित गरिरहेका छन्।
उनले २ वर्षअघि साथीहरूसँग मिलेर ‘चेन भ्याली, हङकङ’ नामक एउटा कम्पनी स्थापना गरेका थिए।
यो कम्पनीले अहिले पूँजीबजारमा लगानी गर्न चाहने व्यक्तिहरूलाई कहाँ र कस्तो अवस्थामा पूँजी लगानी गर्ने भन्ने विषयमा शिक्षा प्रदान गर्दै आइरहेको छ। यसले पूँजीबजारको विषयमा शुन्य जानकारी भएका व्यक्तिलाई पनि सचेतना उपलब्ध गराउँछ। अझ, पूँजीबजारको विषयमा केही अध्ययन गरेर लगानी गर्न चाहने व्यक्तिका लागि ३ महिने उद्यमी कोर्ष सञ्चालन गर्दै आइरहेको छ।
विगतमा आफू ‘इन्टरपेनर’ बन्ने बाटोेमा नेपालीहरूलाई थुप्रै दुविधा थियो। लगानी डुब्ने हो कि भनेर नेपालीहरू निकै डराउँथे। यसले नेपालीहरूलाई ‘स्टार्ट–अप’ सुरू गर्न पनि गाह्रो परिरहेको थियो।
तर, अब विस्तारै नेपालीहरू पनि पूँजीबजारमा आकर्षित हुन थालेका छन्। उनीहरू पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न चाहिरहेका छन्। यसमा केही जोखिम पनि छ। जोखिम न्युनिकरण गर्न अध्ययन पनि आवस्यक छ।
चेन भ्याली, हङकङका सह–संस्थापक अर्याल भन्छन्, ‘केही कुरा हासिल गर्न, रिस्क त लिनु पर्छ नै।’
तर, उनी ठूलो लगानी अर्थात ठूलो जोखिम लिने भन्दा आफूसँग भएको पूँजीलाई अत्याधिक उपयोग गर्न चेन भ्यालीले सिकाउने गरेको बताउँछन्।
‘हङकङमा काम गरेर मानिसहरूले केही न केही पैसा जोगाउने गरेका छन्। हामीले जोगाएको त्यो पैसालाई कहाँ र कसरी लगानी गर्ने, त्यो सिकाउँछौं,’ उनले भने, ‘अहिले हामीसँग अध्ययन गरेर पूँजीबजारमा लगानी गरेका व्यक्तिहरूले ३० प्रतिशत माथि नाफा कमाएका छन्।’
चेन भ्यालीले अहिले आफ्नै कोर्ष बनाएर विद्यार्थीलाई सिकाउँदै आइरहेको छ। जसअन्तर्गत ७ वटा विभिन्न कोर्ष तीन महिनासम्म सञ्चालन हुँदै आएको छ।
चेन भ्यालीले हङकङमा बसोबास गर्ने नेपालीलाई बजारमा लगानी गर्न उत्साही बनाउँदै आएको छ। तर, नेपालमा भने सोचे जस्तो प्रगति हुन सकेको छैन। त्यसको कारण हो, नेपाल राष्ट्र बैँकको नीति र नेपालका ऐनकानुनहरू पनि झन्झटिला छन्।
‘हङकङमा कन्स्ट्रक्सनदेखि धेरै ठाउँमा लगानीको अवसर छ। नेपालमा पनि थुप्रै ठाउँमा लगानीको अवसर छ। तर, यहाँको नीतिनियमहरूका कारण लगानीकर्तालाई सहज छैन। जनतालाई इन्टरपेनर बनाउने सवालमा ठोस नीतिगत निर्णय भएको पाइँदैन,’ निर्मल भन्छन्।
हङकङलाई आफ्नो कर्मथलो बनाएका निर्मल आफू जस्ता हजारौं नेपालीलाई ‘इन्टरपेनर’ बनाउन चेन भ्यालीमार्फत शिक्षा प्रदान गर्दै आइरहेका छन्।
उनी नेपालमा पनि थोरै पूँजी भएका नेपालीहरू आफ्नो पैसाको मालिक आफैं बनेको हेर्न चाहन्छन्। तर, त्यसका लागि पहिले शिक्षा आवश्यक रहेको उनको ठम्याई छ।