पत्रकार रावतलाई स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार

पत्रकार विजय रावतले स्वःदीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्राप्त गरेका छन्।

कात्तिक १३ गते बसेको छनोट समितिको बैठकले यस वर्षको पुरस्कारकाे घाेषणा गरेकाे थियाे। बुधबार औपचारिक कार्यक्रम गरेर पत्रकार रावतलाई प्रदान पुरस्कार गरिएको हो।

पत्रकार रावत जुम्लाको तिला गाउँपालिका- १ राराका स्थायी बासिन्दा हुन्। जुम्लाबाट सक्रिय पत्रकारिता गर्दै आएका रावत रासस र हिमालयन टाईम्समा कार्यरत छन्।

पत्रकार रावत नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य र प्रेस सेन्टर जुम्लाका अध्यक्षसमेत रहेका छन्।

जुम्ला जिल्लामै पहिलोपटक निजीस्तरबाट वितरण सुरू गरिएको पुरस्कारको राशी १० हजार रहको छ। पत्रकार रावत यसैवर्ष प्रेस काउन्सिल नेपालले प्रदान गरेको युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका थिए।

हरेक वर्ष कर्णाली क्षेत्रबाट क्रियाशील पत्रकारलाई प्रदान गरिने स्वःदीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार अघिल्लो वर्ष पत्रकार सागर परियारलाई प्रदान गएको थियो।

स्वःदीपबहादुर स्मृति प्रतिष्ठान, जुम्लाले हरेक वर्ष जुम्ला र बाँके जिल्लामा क्रियाशील पत्रकारिता गरिरहेका सक्रिय पत्रकारलाई ५ हजार र १० हजार राशीको पुरस्कार वितरण गर्दै आएको प्रतिष्ठानका सचिव बरमराज कामीले जानकारी दिए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले यो कार्यले पत्रकारलाई थप लेखन क्षेत्रमा ऊर्जा दिएको र ऐन कानुनभित्र रही नीति नियमलाई पालन गरी गाउँपालिकाबाट आवश्यक आर्थिक तथा अन्य स्रोत साधनको सहयोग गरी अक्षयकोष निर्माण गर्न सहयोग गर्ने बताए।

पुरस्कार प्राप्त गरेका पत्रकार रावतले आफूलाई हौसला मिलेकाे बताए। उनले भने, ‘याे मेरा लागि उत्प्रेरणा त हाे नै। पत्रकारिताको मर्यादा कायम गरेर स्तर वृद्धि गर्नु चुनाैती पनि हाे।’

पत्रकार उत्प्रेरणाका निम्ति स्थापित पुरस्कारकाे निरन्तरताका निम्ति आफूले सकेकाे सहयोग गर्ने तातोपानी- ६ का वडाध्यक्ष विशाल खड्काले बताए।

‘ऊर्जाशील जुम्लाकाे पत्रकारितालाई उचाइमा पुगाउने उद्देश्यका साथ स्थापना गरिएकाे पुरस्कारकाे राशी आगामी दिनमा बढाउँदै लैजानुपर्छ,’ उनले भने, ‘असल पत्रकारलाई हाैसला दिन छनाेट समितिले निष्पक्षतालाई ध्यान दिने विश्वास लिएकाे छु।’

हरेक वर्ष प्रदान गरिँदै आएकाे पुरस्कारले जुम्लाकाे पत्रकारितामा इँट्टा थप्ने काम गरेकाे विश्लेषक रामसिंह रावलले बताए।

प्रकाशित मिति: : 2023-11-02 15:16:00

प्रतिकृया दिनुहोस्