अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेको र त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुने भएकाले वैदेशिक लगानी अपरिहार्य रहेको बताएका छन्।
बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले वैदेशिक लगानी अपरिहार्यतामा जोड दिएको उनको सचिवालय तथा लन्डनस्थित नेपाली राजदूतावासले जनाएको छ।
नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले ‘सिटी अफ लन्डन’ को ‘म्यान्सन हाउस’मा मङ्गलबार एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो।
सो अवसरमा अर्थमन्त्री डा महतले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका कार्य सुरु गरेको समेत बताए।
उनले अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानुनी पूर्वाधार तयार गरिने जानकारी दिँदै आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गरे।