एमालेको समर्थनमा कांग्रेसका कार्कीले गरे मुख्यमन्त्री दाबी पेश

कोशी प्रदेशका मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेसका केदार कार्कीले ४७ सदस्यसहित प्रदेश प्रमुखको कार्यालयमा आज साँझ दाबी पेश गरेका छन्। उनी कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर हुन् ।

कार्कीले पार्टी नेतृत्वसँग विद्रोह गर्दै एमालेको सहयोगमा मुख्यमन्त्रीमा दाबी गरेका हुन्। उनलाई डा. शेखर कोइराला पक्षधर नेपाली कांग्रेस कोशी प्रदेशसभा सदस्य इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूको समर्थन रहेको छ ।

कार्कीले कांग्रेका ८का अतिरिक्त नेकपा (एमाले)का ३९ प्रदेशसभा सदस्यको पनि समर्थन जुटाएका छन् । यसरी प्रदेशसभा सदस्यको बहुमत जुटाएर कार्कीले मुख्यमन्त्री नियुक्त गर्न माग गरेका हुन् । उनी ४७ प्रदेशसभा सदस्यसहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।

तर, प्रदेश प्रमुख पर्शुराम खापुङ भने मुख्यमन्त्रीका लागि दुईजनाको दाबी आएकाले कानूनी परामर्शमा रहेका छन् । कांग्रेसका वागी कार्कीसँगै सत्ता गठबन्धनको तर्फबाट माओवादीका इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीको मागदावी गरेका छन् । 

कोशीमा कांग्रेसमा वगावत भएपछि यता काठमाडौंमा कांग्रेसको बेचैनी ह्वात्तै बढेको छ । यो समस्यालाई कसरी समाधान गर्ने भनेर केन्द्रमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । तर, बैठकमा डा. शेखर कोइराला अनुपस्थित रहेर कोशीमा गरेको वगावतबाट उनी पछि नफर्कने संकेत गरेका छन् । 

 

प्रकाशित मिति: : 2023-10-13 17:57:00

प्रतिकृया दिनुहोस्