दुबईमा ‘पिआर तेस्रो दसैँ कप- २०२३’को तयारी पूरा, १६ टोली सहभागी हुने

बडा दसैँको अवसरमा युएईको सक्रिय नेपाली क्लब ‘युथ स्पोर्टिङ क्लब’ले आयोजना गर्न लागेको ‘पिआर तेस्रो दसैँ कप- २०२३’को तयारी पूरा भएको छ।

सन् २०१९ मा स्थापना भएको युथ स्पोर्टिङ क्लबले आयोजना गर्ने दसैँ कपको यो तेस्रो संस्करण हो। यस पटकको प्रतियोगिता दुबईको ‘डल्सको स्पोर्ट्स कम्प्लेक्स’मा संचालन हुने बताइएको छ। आगामी २१ अक्टोबर (कात्तिक ४ गते) संचालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी हुने आयोजक युथ स्पोर्टिङ क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताको विजेताले ट्रफी र प्रमाणपत्रसँगै ४ हजार २ सय दिराम र उपविजेताले २ हजार ८ सय दिराम (नेपाली रुपैयाँ करिब डेढ लाख र एक लाख) पुरस्कार पाउने बताइएको छ। साथै विधागत रुपमा उत्कृष्ट भएका खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ।

पिआर इन्टरटेन्मेन्टको मुख्य प्रायोजन रहने प्रतियोगिता संचालन गर्न बिक्री इन्टरटेन्मेन्ट, परदेसी हातेमालो सहकारी, टप हिमालयन वाटर, ममता एण्ड मुक्ति, क्युटलुक ब्युटी पार्लर, सयपत्री स्टार रेस्टुरेन्ट, खेलप्रेमी राजु तिमल्सिनालगायतका संस्था र व्यक्तिले सहयोग गरेको बताइएको छ।

खेलकुदमा रुचि भएका नेपालीहरुले प्रतियोगिता नि:शुल्करुपमा हेर्न पाउने आयोजकले जनाएको छ। नेपालको ए डिभिजन लिग खेलिसकेका खेलाडीहरुसमेत प्रतियोगितामा सहभागी हुने बताइएको छ। यसअघि संचालित पहिलो र दोस्रो संस्करणको दसैँ कपमा एनएसएसजी रसअलखेमा र आयोजक युथ स्पोर्टिङ क्लब विजेता बनेका थिए।

प्रकाशित मिति: : 2023-10-13 17:34:00

प्रतिकृया दिनुहोस्