जीवनका रहर अंकुराउँदै थिए।
ती ‘अनुज’ रहर फुल्नै पाएनन्, जीवनको नयाँ यात्रामा अनुजाका पाइलाहरू गाँसिइसके।
एसएलसी परीक्षा सकेर ‘नर्सिङ’ पढ्दै थिइन्, अनुजा प्रधान। घरमा बिहेको प्रस्ताव आयो। चाल नपाउँदै उनकको बिहे छिनिइसकेको थियो। उसै पनि ‘नर्सिङ’ सपना अनुजादेखि अलि टाढा थिए।
सायद जीवनमा ‘त्यो लेखिएकै थिएन कि!’
सन् २००४ तिर उनको बिहे भयो। श्रीमान बेल्जियम बस्ने। उनी पनि त्यतै लागिन्। ‘नर्सिङ’ यात्रा यतै छुट्यो।
जिन्दगी हो, यात्रामा केही छुट्छन्, केही गाँसिन्छन्। कति छुट्टिन्छन्, कति फेरि भेटिन्छन्।
‘सायद त्यही जिन्दगी हो!’ अनुजालाई लाग्छ ‘फछि फर्केर किन हेर्नू…।’
जीवनको यात्रा नै अघि बढ्नु त हो!
जीवनको यात्रा नयाँ थियो, नयाँ सपना अनि नयाँ-नयाँ रहरहरूले छोपिएकी अनुजाका लागि त्यो बिल्कुल नयाँ संसार थियो।
‘सुरुमा सुरुमा त्यस्तै त हो नि। सबै कुरा गाह्रो हुन्छ। जब आदत हुन्छ अनि सब कुरा सजिला लाग्छन्’, विदेशको भूमिमा सुरुवातका दिन संघर्षमय दिन बिर्सिन त गाह्रो हुन्छ, ‘तर अब पछि फर्केर पनि हेर्नुपरेको छैन।’
चितवनमा बाल्यकाल बित्यो। पढ्दापढ्दै बिहे भयो। नयाँ संसारमा उनले आफ्नो जीवनको संसारमा पनि नयाँ यात्रा गर्दै थिइन्।
बेल्जियममा उनका सुरुवाती दिनहरू त भाषा सिक्दैमा बिते। काम पनि सिक्नु थियो। काम पनि सिक्दै गइन्।
केही समय रेस्टुरेन्टमा काम गरिन्। ‘कुक’ पनि भइन्। पेशाले त अहिले पनि उनी ‘सेफ’ नै हुन्।
चितवनको एउटा गाँउमा उनको परिवार नै औषधिका ब्यापार गर्थे। हजुरबुबाको पनि फार्मेसी थियो। बुवाको पनि फार्मेसी थियो। औषधि र बिरामीको साइनो उनको परिवारसँग पुस्तौँदेखि थियो।
त्यही भएर पनि होला, अनुजाको परिवारले उनलाई ‘नर्स’ भएको देख्न चाहन्थे। तर, उनको मन बसेन।
सबै कुरा अरूले भनेजस्तो पनि हुँदैन, आफूले सोचेजस्तो पनि त हुँदैन।
बिहे पनि भयो। उनलाई भनेजस्तै भयो। नर्सिङ पढ्नु परेन।
‘घरबारे’ भएर बेल्जियम गएकी अनुजाले त्यहाँको भाषा पढ्दापढ्दै काम पनि थालिसकेकी थिइन्। पछि आफैँ व्यवसयामा हात हाल्न थालिन्। ‘सायद मेरो खुनमै बिजनेस छ होला कि जस्तो लाग्छ। त्यो खुनकै प्रभाव हो’ अलि हक्की स्वभावकी अनुजा अरुको ‘अन्डर’मा बस्नै रुचाउँदिनन्।
‘अरुभन्दा तल परेर त कामै गर्न मन नलाग्ने। सुरुदेखि नै म त्यस्तै हुँ’ बिहे गर्दा नै अनुजाको एउटा प्रस्ताव थियो ‘म भात-भान्सामा मात्रै हुँदैन। आफ्नै बिजनेस गर्छु र आफैँ बाहिरको काम पनि गर्छ…।’
नभन्दै बेल्जियममा उनले आफूलाई चिनाउन धेरै वर्ष कुर्नै परेन। उनले सुरु गरेका होटेल अनि रेस्टुरेन्टहरूको ब्यापार चम्किन थाले। अनुजा अब व्यवसायमै जम्न थालिन्।
सुरुसुरुमा उनले श्रीमानलाई पनि आफ्नै ब्यापार व्यवसायमा डोर्याइन्। नत्र पहिला त उनका श्रीमान् त्यहाँ पनि जागिर गर्थे।
‘त्यो मेरो खानदानी रगतमै रहेछ क्या!’, अनुजा भन्छिन्, ‘अरुले अह्राएको काम गरेर बाँच्नुभन्दा अरुलाई काम लगाउनेखालको मेरो स्वभाव छ। काम लगाउने पनि त तरिका हुन्छ नि!’
युरोपतिर सफलताका लागि एउटा मान्यता छ- ‘कुनै पनि करियरमा सुरुका तीन वर्ष निकै संघर्षपूर्ण हुन्छ। त्यसपछिका सात वर्षसम्म मध्यमस्तरमा पुगिन्छ। अनि दश वर्षपछि त पछाडि फर्केर हेर्नु पनि पर्दैन।’
त्यसका लागि हिम्मत हार्नुभएन।
अनुजाले आफैँलाई हेर्दा आज त्यो मान्यताले छोएजस्तो लाग्छ। र, उनलाई लाग्छ ‘पछि किन फर्किनू। जिन्दगीको नियम नै हो अघि बढ्नु।’
एनआरएनएको यात्रा
सन् २००२ तिर संसारभरिबाट एकत्रित हुन थालेका नेपालीहरूले एउटा ‘छाता’ खोजिरहेका थिए। जसको ओतमा विश्वभरि छरिएका नेपाली गोलबद्ध हुनसकून। र, त्यही क्रममा जन्मिएको थियो- गैरआवासीय नेपाली संघ(एनआरएनए)।
केही समयपछि बेल्जियममा पनि त्यो अभियान छिर्यो- एनआरएनए बनेर। अनुजाका श्रीमान त्यो बेला एनआरएनए बेल्जियमका संस्थापक सदस्य भए।
अनुजा दम्पत्तीको त्यो बेला भर्खरै छोरा जन्मिएको थियो। सुरु-सुरुमा नेपाली सामुदायमाझ एनआरएनएका कार्यक्रमहरू हुन्थे।
अलि बढी बोल्नुपर्ने, अलि बढी आफूलाई अगाडि ल्याउनुपर्ने। त्यो स्वभावमै थियो, अनुजाको। उनले एनआरएनएले गर्ने कार्यक्रमहरू ‘होस्ट’ गर्न थालिन्। अर्थात्, सयौं मान्छेका बीचमा माइक समाएर बोल्ने भइन्। आफूले पनि अरुलाई चिन्दै गइन्, धेरैले उनलाई पनि चिन्न थाले।
‘म अलि बोल्नुपर्ने खालको छु। लागेको कुरा भन्न नडराउने। सबैसँग बोलिहाल्ने, जिज्ञासा लागेका कुराहरू भनिहाल्ने’, अनि अनुजाको रहर थियो, ‘कार्यक्रम सञ्चालिका बन्ने। हरेकसँग एउटा न एउटा रहर हुन्छ।’
२००८ तिर उनी एनआरएनए बेल्जियमको सदस्य पनि भइन्।
त्यो रहर अब एउटा अभियानसँग गाँसिइसकेको थियो।
‘एनआरएनएको अभियानलाई मैले घरमै बसेर बुझें। धेरै कार्यक्रमहरूमा जाँदा नेपालीका लागि यो चाहिन्छ भन्ने पनि थियो’, अनुजालाई लाग्यो, ‘विदेशको यो भूमिमा सारा नेपालीलाई एउटै मालामा गाँस्ने उद्देश्य बोकेको एनआरएनए यसैगरी फैलिँदै थियो। म पनि त्यसैबेला गाँसिएँ।’
एक चरणको जीवनयात्रापछि एउटा बिन्दुमा पुगिन्छ। जहाँ मान्छेले आफ्नो समाज खोज्छ। सुरु-सुरुमा आफ्नो जीवनलाई स्थापित गर्न लागेका मान्छेहरूसँग फुर्सद पनि हुँदैन र सबै आफ्नै धूनमा हुन्छन्।
तर, एउटा बिन्दुमा पुगेपछि सबलाई त्यो आफ्नो समाज। आफ्नोपन चाहिन्छ।
‘छोरो पनि भइसकेको थियो। मलाई भन्दा पनि अब त्यो बेला मैले मेरो छोराका लागि आफ्नो समाज खोज्न थालेको थिएँ’, अनुजा भन्छिन्, ‘म त्यसरी एनआरएनएमा जोडिएको हुँ। कसैले कर लगाएर वा कसैको केही लोभमा लागेको होइन। यसका उद्देश्यहरू मन परेर लागेकी हुँ।’
एनआरएनए (एनसिसी) बेल्जियममा अनुजाको यात्रा सदस्य हुँदै उपाध्यक्षसम्म पुग्यो। त्यसपछि अध्यक्षका लागि उम्मेदवारी त दिइन्। तर, त्यो चुनाव जितिनन्। त्यसपछि उनी एनआरएनए(आइसिसी) सदस्य भइन्।
एउटा चुनाव नजिते के भो! अघिको सग्लो यात्रा उनलाई पर्खिरहेको थियो।
त्यसपछि उनी एनआरएनए(आइसिसी)मा महिला सदस्य भएर छिरिन्।
‘नेपालीका लागि नेपाली र एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने मन्त्रलाई पछ्याइरहेकी अनुजा अब एनआरएनएको ‘महिला संयोजक’का लागि आफूलाई उभ्याएकी छिन्। त्यसका लागि उम्मेदवारी घोषणा गरिसकेकी अनुजा यतिबेला नेपालमै छिन् र चुनावको तयारी गरिरहेकी छिन्।
‘मैले भन्दा पनि मलाई चाहनेहरू, मलाई नजिकबाट चिन्ने एनआरएनएका अभियन्ताहरू अनि अग्रजहरूले पनि यो पदमा अनुजा नै चाहिन्छ भनेपछि म अघि बढेको हुँ’, अनुजा भन्छिन्, ‘यो कसैलाई चाहिएर वा चाहेर हुने होइन। यसका लागि म सक्षम छु। त्यसैले यो पद रोजेकी हुँ।’
देशभित्रका नेपाली महिला समुदाय अनि रोजगारीका लागि विदेशमा रहेका नेपाली श्रमिक महिलाहरूका लागि काम गर्नका लागि अनुजाले यो पद रोजेकी छिन्।
‘गर्नुपर्ने त धेरै कामहरू बाँकी छन्। हामीले गर्दै पनि आएका छौं र अझ धेरै गर्नसक्छौं’, आर्थिकरुपमा सक्षम महिला नै नेतृत्वका लागि अघि बढ्नसक्छन् भन्ने मान्यता राख्ने अनुजालाई लाग्छ, ‘हरेक महिलालाई नेतृत्वमा पुग्नका लागि उसको पहुँच आर्थिक कुरामा पनि हुनुपर्छ। जसले आत्मस्वाभिमान पनि बढाउँछ।’
नेपाल र विश्वका धेरै देशमा छरिएका नेपाली महिला अझै पनि सबै सबै ठाउँमा अघि बढ्न सकेका छैनन्।
नेतृत्वमा छैनन्, प्रतिनिधित्व छैन। कोही छायामा छन्, कति पछि पारिएका छन्।
‘विदेशमै रहेका नेपाली महिला पनि सबै नै सक्षम हुनुहुन्छ वा बनाइएको छ भन्ने होइन’, अनुजा भन्छिन्, ‘श्रमिक भएर विदेश गएका महिलाहरूलाई अझ धेरै समस्या हुन्छ। सबै महिलाले विदेशमा गएर व्यवसाय नै गरेका छन् भन्ने पनि होइन। कति परिवारको आश्रयमा पनि गएका हुन्छन्।’
अनुजाले अब नेपालमा रहेका र विदेशमा रहेका नेपाली महिलाको हक, हित र अधिकार अनि उनीहरूको दक्षताका लागि एनआरएनएसँग जोडेर विश्वव्यापी अभियान चलाउन चाहन्छिन्। त्यसकै लागि एउटा माध्यमका रुपमा उनले एनआरएनएको ‘महिला संयोजक पद’ चुनेकी हुन्।
‘सबैभन्दा धेरै विदेशमा रहेका नेपाली महिलामा देखिएको मानसिक स्वास्थ्यको समस्यालाई मैले प्राथमिकतामा राखेको छु’, अनुजालाई थाहा छ, ‘परिवारको आश्रयमा बसेका अनि दिनभरि घरमै हुने वा दिनभरि, रातभरि काममा खटिने महिलालाई त्यसको खाँचो छ। मेन्टल हेल्थलाई हामीले हल्का रुपमा लिन्छौं तर यो अहिले निकै ठूलो समस्या भइसकेको छ।’
करिब दुई दकशदेखि एनआरएनए अभियानमा जोडिएकी अनुजाका लागि नेतृत्वमा आफू र आफूजस्ता महिलालाई पुर्याउने यो एउटा अभियान पनि हो।
‘हामी यसका लागि सक्षम छौं। त्यसैले यहाँ छौं’, अनुजा भन्छिन्, ‘कसैको कृपा भएर वा चाहेर अनि नचाहेर एउटा महिला नेतृत्वको भविष्य निर्धारण हुँदैन।’
बेल्जियममा आफैँ अघि सरेर एक सफल नेपाली व्यवसायीको पहिचान बनाउन सफल अनुजाका लागि यो अन्तिम लडाइँ त होइन तर यो उनको नेतृत्व यात्राको सुरुवात पनि हो।
‘र, अनुजा प्रधानलाई हेरिरहेका हरेक नेपाली महिलाका लागि यो एउटा परीक्षा पनि हो’, अनुजा भन्छिन्, ‘अब त्यसलाई स्थापित गर्ने बेला भइसकेको छ। म अब त्यही लडाइँमा छु।’
हरेक लडाइँको एउटा चरण यही आत्मस्वाभिमान र आधा त आत्मविश्वासले नै जितिदिन्छ। बाँकी लडाइँ मैदानमै हुन्छ जहाँ हार र जितको फैसला हुन्छ।
भिडियाे :