बिहार रेल दुर्घटना: ४ जनाको मृत्यु, दर्जनौँ घाइते

भारतकाे बिहार राज्यमा भएकाे एउटा रेल दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको र दर्जनाैँ घाइते भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

बक्सर जिल्लाकाे रघुनाथपुर स्टेशन नजिकै बुधबार राति 'दिल्ली–कामाख्या उत्तरपूर्व एक्सप्रेस'को रेल दुर्घटना भएकाे रेल्वे प्रहरी बलले जनाएकाे छ। प्रहरीका अनुसार रेलका ६ वटा डिब्बा पटरीबाट बाहिरिएका छन्। दुर्घटना राति ९:५३ बजेतिर भएकाे थियाे।

घटना भएलगतै युद्धस्तरमा राहत र उद्धार कार्य सम्पन्न गरिएकाे बिहार राज्य सरकारले जनाएकाे छ। यात्रुहरूलाई गन्तव्यमा पठाउन रेल्वे विभागले अर्को रेल पठाएको छ। रेलमन्त्री अश्विनी वैष्णवले घटनाको कारण पत्ता लगाउन समिति गठन गरिने बताएका छन्।

दुर्घटनामा चार यात्रुको मृत्यु भएको बक्सरका प्रहरी उपरीक्षक मनिष कुमारले पुष्टि गरेका छन्। रेल्वे प्रहरी बलका एक अधिकारीका अनुसार दुर्घटनामा करिब ७० यात्रु घाइते भएका बताएका छन्।

रेल्वे दुर्घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। गम्भीर घाइतेहरूलाई एम्स पटनामा रिफर गरिएको छ।

रेलमन्त्री वैष्णवले रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले रुट खाली गर्ने काम सकिएको पनि बताएका छन्।

प्रकाशित मिति: : 2023-10-12 09:38:00

प्रतिकृया दिनुहोस्