दूतावासलाई सबैको साझा घर बनाउने युएई राजदुतको प्रतिबद्धता

संयुक्त अरब ईमिरेट्स (युएई) का लागि नवनियुक्त नेपाली राजदुत तेजबहादुर क्षेत्रीले दूतावासलाई सबै नेपालीको साझा घर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल र युएईबीच कुटनैतिक सम्बन्ध स्थापना भएयता चौथो पूर्ण राजदुतका रूपमा हालै युएई आएका क्षेत्री र नेपाली संघसंस्थाका प्रतिनिधिहरुबीच दूतावासमा आइतबार आयोजित भेटघाट कार्यक्रममा बोल्दै राजदुत क्षेत्रीले दूतावासलाई सबै नेपाली श्रमिकले अपनत्व गर्ने घर बनाउने प्रतिबद्धता गरेका हुन्।

युएईका राष्ट्रप्रमुख शेख मोहम्मद बिन जायद अल नयन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपश्चातको पहिलो औपचारिक कार्यक्रमका रूपमा दूतावासले आइतबार राजदुत क्षेत्रीसंग स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधिहरुसँग भेटघाट एवम् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। 

उक्त कार्यक्रममा युएईमा क्रियाशिल नेपाली राजनीतिक दलका प्रवास संगठन , एनआरएनए, पत्रकार महासंघ, व्यवसायी लगायत विभिन्न क्षेत्रीय तथा जिल्लागत संघसंस्थाका प्रतिनिधिहरु र नेपाली समुदायका अगुवाहरु सहभागी भएका थिए।

कार्यक्रममा सहभागीहरुले युएईमा नेपालीहरुले भोगेका समस्याहरु तथा राजदुतावासबाट नागरिकले राखेका अपेक्षाहरुको बारेमा राजदुत क्षेत्रीको ध्यानाकर्षण गराएका छन्। 

कार्यक्रममा नेपाली जनसम्पर्क समितिका मनोज कुमार सैजु, जनप्रगतिशिल मञ्चका बाबुराम विश्वकर्मा, एनआरएनएका विकास शाही, रमेश श्रेष्ठ, पासाङ शेर्पा, मोनिका नगरकोटी, नेपाली पत्रकार महासंघका मेघराज सापकोटा, युवा समाजसेवी निराजन खत्री, चन्द्रप्रसाद सापकोटा, बाबुराम सापकोटा लगायतले नेपाली श्रमिकका विभिन्न विषयमा राजदुत क्षेत्रीलाई जानकारी गराएका थिए।

नेपाली समुदायका प्रतिनिधिहरुको कुराहरु सुनि सकेपछी बोल्दै राजदुत क्षेत्रीले राजदुतावासको सेवालाई सेवाग्राही मैत्री, पहुँचयोग्य, सहज र चुस्तदुरुस्त बनाउन सबै निकायसंग समन्वय गरेर अगाडि बढ्ने बताए। 

उनले युएईमा रहेका नेपालीहरुको समस्या समाधान तथा समृद्ध नेपाल निर्माणका लागि द्विपक्षीय व्यापार, वैदेशिक लगानी जस्ता विषयमा समेत काम गर्ने बताए। 

कार्यक्रममा उठेका विषयहरुमाथी नियोग उपप्रमुख विशाल भट्टराई र श्रम काउन्सिलर दिनबन्धु सुवेदीले समेत सम्बोधन गरेका थिए।

कार्यक्रममामा सहभागीहरुले भिजिट भिजामा आएर अलपत्र हुनेहरुको संख्या बढेकोप्रती चिन्ता व्यक्त गर्दै दूतावासले उक्त समस्या समाधानका लागि पहल गर्नुपर्ने र दुबईमा श्रम काउन्सिलर खोल्न माग समेत गरेका थिए।

प्रकाशित मिति: : 2023-10-09 10:40:00

प्रतिकृया दिनुहोस्