गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष डा.बद्री केसी इराक पुगेका छन्।
इराकमा रहेका नेपालीहरुको अवस्था बुझ्न अध्यक्ष केसी बिहीबार इराकको कुर्दिस्तान पुगेका हुन्।
कुर्दिस्तानको सुलेमानी पुगेर उनले त्यहाँ कार्यरत नेपालीका समस्याका विषयमा चासो राखेका छन्।
कुर्दिस्तान इराकको प्रान्तीय सरकार हो। कुर्दिस्तानमा मात्र झण्डै २० हजार नेपाली कार्यरत रहेको अनुमान छ।
युद्धग्रस्त इराकमा रोजगारीको लागि जान नेपाल सरकारले अनुमति दिएको छैन। तर, आकर्षक तलबका कारण बेरोजगार नेपालीको गन्तव्य इराक बनेको छ।
कुर्दिस्तानका विभिन्न सहरमा हजारौँ नेपाली अवैध ढंगले रोजगारीका लागि पुगेका छन्। उनीहरु अवैध बाटो हुँदै त्यहाँ पुगेका हुन्।
भारत, यूएई, टर्की, थाइल्यान्ड हुँदै इराक पुग्ने नेपालीहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ। इराकमा कति नेपाली छन् भन्ने आधिकारिक तथ्याङ्क सरकारसँग छैन।
इराकमा नेपाली दूतावास छैन। जसले गर्दा यहाँ समस्यामा परेका नेपालीले गुनासो सुनाउन समेत पाउँदैनन्।
कुर्दिस्तानमा भर्खरै मात्र एनआरएनए गठन भएको छ। अध्यक्ष केसीको पहलमा कुर्दिस्तानमा एनआरएनए गठन भएको हो। भर्चुअल माध्यमबाट शाखा विस्तार भएको थियो। त्यसपछि डा. केसी आफैँ इराक पुगेका हुन्।
एनआरएनए इराकको नेतृत्व विनोद श्रेष्ठले गरिरहेका छन्। डा. केसीलाई सुलेमानीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एनसीसी इराकका प्रतिनिधिले स्वागत गरेका थिए।
एउटै माग– पुरानालाई प्रतिबन्ध हटाइयोस्
इराकमा १२ जना नेपालीको सामूहिक हत्या भएपछि नेपाल सरकारले इराकलाई कालोसूचीमा राखेको थियो । तर, अवैध बाटोबाट हजारौँ नेपाली रोजगारीका लागि त्यहाँ पुगेका छन्। उनीहरु सेटिङमार्फत त्यहाँ पुगेका हुन्।
नेपाल र प्रतिबन्धित देश इराकबीच सिधा हवाई उडान हुने कुरै भएन। तर, नेपालीहरू दुबई तथा दोहालाई ट्रान्जिट बनाएर आवतजावत गर्छन्।
बिदामा आएका नेपाली पनि दलाललाई महँगो रकम तिरेर दुबई हुँदै कुर्दिस्तान फर्किने गरेका छन्। फर्किँदा उनीहरुले यूएईको भिजिट भिसा लिनुपर्ने हुन्छ।
इराक पुगेका ७० प्रतिशतभन्दा बढी नेपाली कुर्दिस्तानका विभिन्न सहरमा कार्यरत छन्।
नेपालीहरू विमानस्थल, कूटनीतिक नियोग, होटेल, रेस्टुरेन्ट, हस्पिटल, व्युटीपालर, उद्योगलगायतका क्षेत्रमा काम गर्दै आएका छन्। यसबाहेक घरहरुमा ‘हाउस मेड’ का रुपमा कार्यरत महिलाहरु पनि थुप्रै छन्।
पछिल्लो समय कुर्दिस्तानमा नेपालीले व्यवसायमा पनि लगानी गर्न थालेका छन्।
नयाँ रोजगारीको लागि श्रम स्वीकृति जारी नगरेपनि वर्षौँदेखि त्यहाँ रोजगारी गर्दै आएकालाई पुन: श्रम स्वीकृति दिनुपर्ने माग उनीहरुको छ।
सरकारले प्रतिबन्ध लगाउँदा धेरैजसो नेपाली घरमा समेत नआएर वर्षौंसम्म उतै बस्ने गरेका छन्। लामो समय विदेश बस्दा कतिपयको त परिवारसमेत बिग्रेको छ। सम्बन्ध विच्छेदका घटना बढेका छन्।
‘सम्पूर्ण इराकको सुरक्षा स्थिति एकै किसिमको छैन। कुर्दिस्तान एकदमै सुरक्षित छ। यहाँको रोजगारीमा सरकारले पुनः विचार गनुपर्छ। यसका लागि सर्वप्रथम नेपाल सरकारले कूटनैतिक सम्बन्ध कायम गर्नुपर्छ,’ याे आवाज कुर्दिस्तानका नेपालीले पटक–पटक उठाउँदै छन्।
कुर्दिस्तानबाट मात्र नेपालीले वार्षिक १० अर्वभन्दा बढी रेमिट्यान्स नेपाल पठाउने एनआरएनए इराकका अध्यक्ष श्रेष्ठको भनाइ छ।
‘म आफैँ सिटी एक्सप्रेस मनि ट्रान्सफरको कन्ट्री हेड हुँ। वार्षिक १ करोडभन्दा बढी पैसा त्यहाँबाट नेपाल आउँछ। सरकारले यसतर्फ ध्यान दिन जरुरी छ,’ श्रेष्ठले भने।
त्यसो त अहिले कुर्दिस्तानका नेपालीका समस्याका बारेमा नेपाल सरकार पनि जानकार छ। डा. केसीकै पहलमा एनआरएनएले कैयौँ पटक इराकको समस्या उठाएको पनि छ। संघको मध्यपूर्व क्षेत्रीय सम्मेलनमा पनि इराक रोजगारीका विषयमा बहस भएको थियो। जहाँ, सरकारका उच्च पदाधिकारीसमेत सहभागी थिए।
श्रम सचिव, श्रममन्त्री र परराष्ट्र मन्त्रालयका पदाधिकारीसमेत कुर्दिस्तान रोजगारी खुल्ला गर्ने विषयमा सकरात्मक छन्। यसका लागि एउटा संयन्त्र बनाएर काम भइरहेको श्रम मन्त्रालयका पदाधिकारी बताउँछन्।
अध्यक्ष डा. केसी पनि इराकमा नेपालीले भोगेका समस्या समाधानमा एनआरएनएले सरकारसँग मिलेर काम गरिरहेको बताउँछन्।
‘हामी त इराकका नेपालीको समस्याबारेमा पहिलेदेखि नै जानकार छौँ। हाम्रै पहलमा श्रम र परराष्ट्र मन्त्रालयबाट काम पनि सुरु भइसकेको छ। यसपटक म आफैँ यहीँ आएको छु। यो विषय छिट्टै समाधान गर्नेछौंँ,’ डा. केसीले भने।