छन्दुमा प्रधानमन्त्री दाहालको भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज (शुक्रबार) चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सीआवोईले द्विपक्षीय भेटवार्ता गरेका छन्।

सिचुआन प्रान्तको छन्दु आइपुगेका प्रधानमन्त्री दाहालसँग यहाँ वाङले भेटवार्ता गरेका हुन्। प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आजै छन्दु पुगेका हुन्।

सो वार्ताका क्रममा प्रधानमन्त्री दाहालले छन्दु नेपालबाट नजिकको सहर भएकाले नेपाली व्यवसायीहरूको पनि केन्द्र रहेको भन्दै यहाँबाट नेपालले कृषि उत्पादन तथा कृषिजन्य उद्योगका क्षेत्रमा पनि आवश्यक मात्रामा लाभ लिन सक्ने बताए।

दाहालले आफूले यसपटक चीनका राष्ट्रपति सी चिनफिङका साथै प्रधानमन्त्रीसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने अवसर पाएको र उनीहरूले नेपाललाई दिएको महत्त्वबाट आफू प्रभावित रहेको बताएका छन्।

प्रधानमन्त्री दाहालले चीनले विज्ञान प्रविधि तथा भौतिक विकासदेखि लिएर धेरै क्षेत्रमा निकै नै महत्त्वपूर्ण प्रगति गरेकामा बधाई ज्ञापन गर्दै चीन नेपालको एक घनिष्ट मित्र रहेका नाताले सदैव नेपालको हित र विकास चाहने गरेको बताएका थिए।

चीनले नेपाललाई अप्ठेरो अवस्थामा पनि सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै यसपटकको चीन भ्रमणले दुई देशबीचको मित्रतालाई थप सुमधुर बनाउन काम गरेको र द्विपक्षीय सम्बन्धका नयाँ आयामहरू सिर्जना गरेको प्रधानमन्त्री दाहालले सो द्विपक्षीय वार्तामा बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन्।

सो वार्ताका क्रममा सचिव वाङले चीन र नेपालसँगै रहेको र अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि एउटै आवाजका साथमा एकसाथ रहेको बताएका थिए। उनले चीन नेपालको सधैँ उन्नति र प्रगतिको पक्षमा रहेको र नेपालका आर्थिक सामाजिकलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताएका थिए।

उनले प्रधानमन्त्री दाहालको चीन भ्रमण सफल भएकामा बधाई दिँदै आगामी दिनमा नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्न तथा लगानी गर्न तयार रहेको बताएका हुन्।

प्रकाशित मिति: : 2023-09-29 21:25:00

प्रतिकृया दिनुहोस्