झापामा अश्लील हर्कत गर्नेहरु नै सामाजिक अगुवा

फाइल तस्विर
फाइल तस्विर

पछिल्लो समय पूर्वका दुई पालिकामा कार्यरत निजामती कर्मचारीहरुको नैतिक आचरण बिग्रिएको भन्दै सामाजिक रुपमा तीव्र आलोचना भयो। कानूनी र प्रशासनिक निकायबाट उनीहरुमाथी कुनै कारबाही भएको सार्वजनिक भएन। राष्ट्रसेवक निजामती कर्मचारीहरुलाई आचरणविपरीतका क्रियाकलाप गरेको अवस्थामा आन्तरिक रुपमा हुनुपर्ने कारबाही भएको विषय बाहिर आए।

दमक नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला र तत्कालीन माइजोमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईका अश्लील क्रियाकलाप भनिएका परस्त्रीसँगको चुम्बनका दृश्यहरु बहिरिएपछि भएको खैलाबैलाका बीचमा दमकका अन्य दुई जना पात्रहरुको अश्लील गतिविधिका प्रमाणहरुका विषयमा भने कुनै कारबाहीको विषय बाहिर आएको छैन। उनीहरु समाजमा आफूलाई अझ उच्च तहको समाजसेवी, अभियान्ता र विशिष्ट कहलाउन लागि परेका देखिन्छ।

कारोबारका हिसाबले र सामाजिक उत्तरदायित्व निर्वाह गरेका हिसाबले पूर्वमा नै नाम कहलिएको दमकको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बुद्धिसागर बराल (बिमल)ले एक महिलासँगको भिडियो संवादका क्रममा ती महिलाको गोप्य अंगहरु नियाल्दै अश्लील हर्कत गरेको दृश्य बाहिरिएको झण्डै दुई महिना जति भइसकेको छ। उनको त्यो अश्लील हर्कतको दृश्य बाहिरिएपछि उनी सम्बद्ध संस्थाहरुमा भित्र भित्रै निक्कै ठुलो खैलाबैला मच्चिएको छ।

लायन्स क्लबमा समेत नेतृत्व गर्दै आफूलाई सामाजिक अभियान्ताको रुपमा चिनाउन प्रयासरत बरालको आचरण र व्यवहार भने आममानिसहरुका लागि आलोचनाको विषय बन्यो। उनलाई लायन्स क्लबको उपल्लो तहले आफ्नाे जिम्मेवारीबाट नैतिकताको कारण देखाउँदै राजीनामा पनि गरायो तर वित्तीय क्षेत्रमा हजारौं सदस्यहरुको नेतृत्व गरेर सहकारीको अध्यक्षका रुपमा बसिरहेका बराल भने आफूलाई उच्च कोटीको अभियान्ताका रुपमा चिनाउँदै दलबलसहित सो संस्थाले गरेका सार्वजनिक कार्यक्रमहरुमा सहभागी मात्रै भएनन संस्थाले निम्ता गरेका विशिष्ट व्यक्तित्वहरुमाझ अध्यक्षता गरेर साधारणसभाहरु गरे।

संस्थाका अध्यक्षको क्रियाकलाप ढाकछोप गर्ने प्रयास स्वरुप संस्थाले झापा, मोरङका ठाउँ-ठाउँमा भएका संस्थाका इकाइगत साधारणसभाहरुमा ५० जनाभन्दा बढी पत्रकारलाई बोलाएर केही नगद थमाएर पठायो। दमकमा एक जना पत्रकारलाई त नगद राशीको पुरस्कार नै प्रदान गर्यो।

यसअघि स्टार एफएममा कार्यरत रहँदा एफएममै एक जना अविवाहित युवतीको सिउँदोमा झुक्याएर सिन्दुर लगाउने असफल प्रयास गरेर बदनामी कमाएका पत्रकार मनकुमार गदाललाई नगद राशीसहित पुरस्कृत गर्यो। स्वर्णलक्ष्मीले पटक-पटक समाजमा आचरणविपरितका क्रियाकलाप गर्ने महिलामाथि दुर्व्यहारको घटनामा संलग्न पत्रकार गदाललाई पुरस्कृत गरेपछि अहिले सर्वत्र सो बिषयमा आलोचना भइरहेको छ।

यस्तै अर्का पात्र देउकुमार नेम्वाङ उस्तै अश्लील भिडियो बाहिरिएपछि समाजमा आलोचित बनेका पात्र हुन्। उनी शुक्रबार मात्रै नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन। उनलाई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसमेत रहेका कोशी प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री इन्द्र आङबो मौसमसहित नेताहरुले स्वागत गरेका छन्। यसअघि जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य भइसकेका नेम्वाङको अश्लील हर्कतको भिडियो सामाजिक सञ्जालहरुमार्फत् बाहिरिँदा नेपालमा थिएनन्।

उनी पूर्वकै प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा रहेको दमक बहुमुखी क्याम्पसको सञ्चालक समितिमा पनि छन्। झण्डै एक वर्षअघि आफ्नाे अश्लील भिडियो बाहिरिएपछि उनले पनि आफ्नाे फेसबुक अकाउण्ट नयाँ खोलेर आफ्ना गतिविधिहरु बाहिर ल्याइरहेका छन।

प्रकाशित मिति: : 2023-09-25 12:11:00

प्रतिकृया दिनुहोस्