पञ्जाबमा दुई रेल ठोक्किँदा २९ जना घाइते

फाइल तस्बिर
फाइल तस्बिर

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार बिहान यात्रुबाहक रेल र मालबाहक रेल एकआपसमा ठोक्किँदा २९ जना घाइते भएको सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले जनाएको छ।

प्रान्तीय राजधानी लाहोरस्थित रेस्क्यु ११२२ मुख्यालयका सिफ्ट इन्चार्ज मोहम्मद अतीकले सिन्ह्वालाई बताएअनुसार प्रान्तको शेखपुरा जिल्लामा रेल कर्मचारीको सम्भावित लापरबाहीका कारण स्थानीय समयअनुसार बिहान ४ः३० बजे उक्त घटना भएको हो।

'रेलका कर्मचारीले यात्रुवाहक रेललाई रोक्न सङ्केत गर्ने स्वीच थिच्नबाट चुकेको र त्यस बखत मालबाहक रेल पहिले नै पार्क गरिएको स्थानमा ठक्कर दिन पुगेको थियो,' अतीकले भने। 

यात्रुबाहक रेल कम गतिमा चलिरहेकोले दुर्घटनाका कारण ठूलो क्षति नभएको बताइएको छ। दुर्घटनामा अधिकांश मानिसहरू सामान्य घाइते भएका छन्। 

'घाइतेमध्ये २७ जनालाई घटनास्थलमै प्राथमिक उपचार गरिएको छ भने दुई जना गम्भीर घाइतेलाई अस्पताल लगिएको छ,' उनले भने। 

पाकिस्तानी रेल सेवा स्रोतहरूका अनुसार सुरक्षा टोलीले घटनास्थलमा दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको छ। यदि यो रेल सेवा कर्मचारीहरूको लापरवाही पुष्टि भएमा उनीहरूविद्ध कडा कारबाही गरिनेछ।

प्रकाशित मिति: : 2023-09-25 05:34:00

प्रतिकृया दिनुहोस्