एनआरएनए महाधिवेशन विशेष: मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठको उम्मेदवारी

थोरै बोलेर धेरै काम गर्ने प्रतिबद्धता 

दुबईलाई कर्मथलो बनाई लामो समयदेखि एनआरएनए अभियानमा लागेका युवा व्यवसायी रमेश श्रेष्ठले एनआरएनए मध्यपूर्वको नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका छन्।

श्रेष्ठले आगामी अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा आयोजना हुने गैह्रआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनमा मध्यपूर्व क्षेत्रको संयोजकको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।

लामो समयदेखि दुबईमा व्यवसाय र समाजसेवालाई संगै अगाडि बढाएका श्रेष्ठले आज (शुक्रबार) बिएल नेपाली सेवासंग कुरा गर्दै मध्यपूर्वको नेतृत्वका लागि उम्मेदवारी दिने बताएका हुन्। श्रेष्ठले केही दिनमै औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने जानकारी दिएका छन्।

सन २०१० देखि निरन्तर एनआरएनएमा जोडिएका श्रेष्ठले यूएईको एनसीसी सदस्य, उपाध्यक्ष हुँदै २०१७-१९ को कार्यकालको नेतृत्व गरेका थिए। उनकै अध्यक्षतामा श्रेष्ठले एनआरएनएलाई विधिवत रूपमा नेपाल एसोसिएसनको नाममा यूएईमा दर्ता गराएका हुन्।

अहिले नेपाल एसोसिएसन यूएईमा वैधानिकता पाउने एउटै मात्र सक्रिय नेपाली सामाजिक संस्था बनेको छ। श्रेष्ठको कार्यकालमा एनआरएनए र नेपाल एसोसिएसनले सम्पन्न गरेका सामाजिक गतिविधिहरुको अहिले पनि चर्चा हुने गरेको छ।

श्रेष्ठले एनआरएनए मध्यपूर्वको नेतृत्वमा अवसर पाए यस क्षेत्रमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या समाधानका लागि अहोरात्र खट्ने प्रण गरेका छन्।

उनले समान कामको असमान ज्याला दिने प्रणाली सुधार गर्न सरोकारवाला पक्ष र राज्यको ध्यानाकर्षण गराउने बताए। यसैगरी सबै नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्द गराउन विशेष कार्यक्रम सञ्चालन गर्ने, विशेषगरी 'ब्लु क्याटोगेरी' का श्रमिकलाई सामाजिक सुरक्षा कोषको फाईदा र आवश्यकताका बारेमा जागृत गराई अनिवार्य आवद्द हुने वातावरण बनाउन पहल गर्ने बताए।

थोरै बोलेर धेरै काम गर्ने आफ्नो योजना रहेको श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए। उनले संस्कृति र पर्यटन प्रवर्द्धनका लागि मध्यपूर्वका विभिन्न देशमा यससम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्ने समेत बताएका छन्।

अप्ठ्यारोमा परेका नेपालीहरुको राहत र उद्दारका लागि सम्बन्धित देशका एनसीसीहरुसंग समन्वय गरी अगाडि बढ्ने र स्वदेश फर्किएकाहरुको पुनःस्थापनाका लागि नेपाल सरकार र वैदेशिक रोजगार विभाग संग समन्वय गरी प्याकेजमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने श्रेष्ठले प्रतिबद्धता गरेका छन्।

प्रकाशित मिति: : 2023-09-22 18:46:00

प्रतिकृया दिनुहोस्