भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘हिस्दूस्तान’लाई ‘हिन्दू राज्य’ बनाउन चाहन्छन्। वीजेपीको वैचारिक सूत्रधार ‘राष्ट्रिय स्वायंसेवक संघ’को आडमा राज्य–सत्ता हाँकिरहेका उनी ‘प्रजातन्त्र र प्रेस स्वतन्त्रा’ दिन–प्रतिदिन खुम्च्याउँदैछन्।
हिन्दू–मत, राम मन्दिर र मुस्लिम–विरोधी भावना भड्काइरहेका मोदी सत्तामा आएदेखि देश अशान्त छ। उनले भारतीय समाजमा जाति र धर्मका आधारमा हत्या, हिंसा र आतंक मच्चाइरहेका छन्।
प्रधानमन्त्री मोदीको आडमा निरन्तर मुस्लिममाथि जाइलाग्दैछन् ‘मोदीभक्त हिन्दूवादीहरू’। र, कुनाकुनामा बाँडिँदैछन् भारतका जातिवादी जनता।
मोदीले देशको गति उल्टोतिर लग्दैजाँदा समेत ‘मोदी लहर’ व्यापक छ। उनी यतिमै रोकिएका छैनन् भारतीय संविधान मिच्दैछन्, भारतीय संविधान आफूअनुकूल बनाउँदैछन्।
मोदी नेतृत्वको सरकारले भारतको ‘नयाँ संसद भवन’ बनाएको छ। हिजोआज नयाँ भवनमा ‘संसदको विशेष अधिवेशन’ चलिरहेको छ। जारी अधिवेशनमा फेरि नयाँ विवाद उत्पन्न भएको छ।
नयाँ संसदको उद्घाटनपछि सांसदहरूलाई वितरण गरिएको ‘संविधानको प्रतिलिपिमा छापिएको प्रस्तावनाबाट मोदी सरकारले ‘धर्मनिरपेक्ष’ र ‘समाजवादी’ शब्द हटाइएको छ।
संविधानमाथि ‘मोदीतन्त्र’ हुँदैजाँदा भारतीय कांग्रेसका सांसदहरू नयाँ संसद भवन बाहिर बेस्सरी उफ्रिएका छन्। सांसदहरूले मोदी सरकारको आलोचना गरेपछि कानुनमन्त्री अर्जुनराम मेघवालले ‘मूल संविधान’को प्रस्तावना समावेश गरिएको जनाएका छन्। जसमा ‘धर्मनिरपेक्ष’ र ‘समाजवादी’ शब्द नराखिएको उनको दाबी छ।
वास्तवमा, ‘धर्मनिरपेक्ष’ र ‘समाजवादी’ शब्द सन् १९७६ मा ४२औँ संशोधनमार्फत् भारतीय संविधानको प्रस्तावनामा समावेश गरिएको थियो। भारतीय संविधानका सन्दर्भमा विवाद बढ्दैजाँदा कानुनी–पक्ष पनि सामेल छ। भारतको सर्वोच्च अदालतले आफ्नो एउटा निर्णयमा संविधानको प्रस्तावनालाई संविधानको अभिन्न अंगका रूपमा स्वीकार गरेको छ। यस्तो अवस्थामा कुनै शब्द हटाउन वा समावेश गर्नुपरेमा फेरि संविधान संशोधन गर्नुपर्ने हुन्छ।
भारतीय कांग्रेसका नेता अधीर रञ्जन चौधरीले भारतीय संविधानमा समावेश गरिएका ‘धर्मनिरपेक्ष’ र ‘समाजवादी’ शब्द सन् १९७६ मा ४२औँ संशोधनपछि थपिएको बताएका छन्।
उनले भाजपाको नियत शंकास्पद रहेको बताएका छन्। ‘धर्मनिरपेक्ष र समाजवादी शब्द हटाउने काम चलाखीपूर्वक गरिएको छ। यो मेरो लागि चिन्ताको विषय हो। मैले यो मुद्दा उठाउने प्रयास गरेँ तर यो मुद्दा उठाउने मौका पाएको छैन,’ चौधरीले भने।
कांग्रेस नेता चौधरीको आरोपमा कानुनमन्त्री मेघवालले भने, ‘संविधान बन्दा धर्मनिरपेक्ष र समाजवादी शब्द थिएनन्। यी शब्दहरू संविधानको ४२औँ संशोधनमा थपिएका थिए। तर, सांसदहरूलाई दिइएको प्रतिलिपिमा मूल प्रस्तावना र परिमार्जित प्रस्तावना दुवै समावेश गरिएको छ।’
स्रोतका अनुसार पहिलो पृष्ठमा मौलिक प्रस्तावना छ भने दोस्रो पृष्ठमा परिमार्जित प्रस्तावना पनि छ। नयाँ संसद भवनमा जाने सबै भारतीय सांसदहरुलाई संविधानको प्रतिलिपि प्रदान गरिएको थियो।