संस्कृति हाम्रा पहिचान हुन् : प्रदेश प्रमुख गुरुङ

File Photo
File Photo

 गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संस्कृति हाम्रो पहिचान भएको बताएका छन्।

नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले चाडपर्व हाम्रा संस्कृतिक पहिचान भएको उल्लेख गरेका छन्। मौलिक संस्कृतिको प्रवद्धन गदै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वहरूको मौलिकता जोगाउनु अहिलेको आवश्यकता रहेको सन्देशमा भनिएको छ।

सामाजिक एकताको प्रतीकका रुपमा रहेको हरितालिका तीजले सबैमा खुसी साटासाट गर्दै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्धलाई दृढ गर्न सकोस् भन्ने उनले शुभकामना व्यक्त गरेका छन्।

'हरितालिका तीजलाई नेपाली महिलाले एक सनातन सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएका छन्', उनले भने, 'भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा‚ उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास छ।'

विवाह पश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा समेत तीज पर्वलाई महिलाहरूले लिने गरेको प्रदेश प्रमुख गुरुङले भनेका छन्। 

प्रकाशित मिति: : 2023-09-18 06:17:00

प्रतिकृया दिनुहोस्