रूसी आर्थिक वृद्धिदर सुस्त हुने गभर्नरको चेतावनी

रूसको केन्द्रीय बैंकका गभर्नर एल्भिरा नाबिउलिनाले सन् २०२३ को उत्तराद्र्धमा रूसको आर्थिक वृद्धिदर सुस्त हुने चेतावनी दिएका छन्।

लगातार उच्च मुद्रास्फीति र कमजोर रूबलको बावजुद रूसी अधिकारीहरूले युक्रेनमा मस्कोद्वारा लादिएको युद्धको आर्थिक प्रभावलाई धेरै हदसम्म बेवास्ता गरेका छन्।

‘हामीले यस वर्षको उत्तराद्र्धमा वृद्धिदर अझ मध्यम हुने अपेक्षा गरेका छौं,’ बैंकले दुई महिनामा तेस्रो पटक प्रमुख दर बढाएपछि आयोजित पत्रकार सम्मेलनमा नबिउलिनाले भने।

‘यो द्रूत सुधार आर्थिक वृद्धिको अवधिपछि स्वाभाविक हो। आर्थिक वृद्धिको दर स्रोतको उपलब्धता, मुख्यतः श्रमद्वारा सीमित बनेको छ,’ उनले भने।

बैंकले सन् २०२३ मा १.५ देखि २.५ प्रतिशतको आर्थिक वृद्धिको अनुमान राखेको छ तर सन् २०२४ का लागि यसलाई घटाएर अधिकतम ०.५–१.५ प्रतिशतमा झारेको छ।

केन्द्रीय बैंकले कमजोर रूबल र मुद्रास्फीतिको कारण देखाउँदै आफ्नो प्रमुख दरलाई एक प्रतिशत बिन्दुले बढाएर १३ प्रतिशत पुर्याएको घोषणा गरेको छ।

प्रकाशित मिति: : 2023-09-16 05:55:00

प्रतिकृया दिनुहोस्