हेटौडामा दुई डाक्टरलाई कुटपिट गर्ने चार पक्राउ

BreaknLinks
BreaknLinks

हेटौडाका दुई डाक्टरमाथि अस्पताल कक्षमा हातपात र कुटपिट गर्ने चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौडामा रहेको सञ्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा तथा डा. प्रशान्त बिराडीमाथि हिजो अस्पतालको एचडीयू वार्डमा बिरामीको उपचार गरिरहेको समयमा कुटपिट भएको थियो। उक्त  घटनाको मकवानपुरका स्वास्थ्य क्षेत्रबाट व्यापक विरोध र आन्दोलन गर्ने भएपछि आज प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको हो।

घटना विवरणअनुसार एक महिना अगाडि डेङ्गु रोगबाट सङ्क्रमित हेटौडा– १२ पदमपोखरीका४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरवाही गरेको भन्दै ती दुई चिकित्सकमाथि बुधबार हातपात तथा कुटपिट भएको थियो। सञ्चो अस्पतालमा उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेजमा सिफारिस गरिएको थियो।

त्यहाँ मेडिकल कलेजमा डेङ्गु सङ्क्रमित प्रधानको उपचारका क्रममा मृत्यु भएको थियो। मृतक प्रधानका आफन्तको एक आक्रोशितसमूहले चिकित्सकमाथि हातपात गरेको थियो।

कुटपिटमा संलग्न प्रधानकी श्रीमती र छोरीसहित अन्य दुई जनालाई प्रहरीले आज पक्राउ गरेको बताइएको छ। साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2023-09-14 20:12:00

प्रतिकृया दिनुहोस्