नेपाली राजनीतिका बारेमा विभिन्न कोणबाट अनेकौँ प्रश्नहरू उठिरहेका छन्। राजनीतिको शब्दै सुन्न नचाहने स्थिति बन्दै गएको छ। नेता भन्नेबित्तिकै फोहोरको थुप्रो भन्दा अझै तल्लो तहको दृष्टिले हेर्ने अवस्था आइसक्यो। अझै दूरावस्था आउँदैछ।
राजनीतिमा होमिएकाहरू समेत स्वयंले आस्था राखेको पार्टी, पार्टीका नेता र पार्टीले गरेको व्यवहारबाट समेत सन्तुष्ट नभएको आभास विभिन्न औपचारिक, अनौपचारिक, अभिव्यक्तिमार्फत झल्काइरहेका छन्।
हरेक क्षेत्रमा राजनीति पसेर देशलाई बर्बाद पार्यो भन्दै दल, नेता र राजनीतिलाई सरापेको स्थिति छ। 'राजनीति फोहोरी खेलको पर्याय हो' भन्ने कथन झन् मजबुत बनाउने काम उनै राजनीतिक दल र नेताहरूले गर्दै आएका छन्।
व्यक्तिभन्दा विधिको, नेताभन्दा नीतिलाई सम्बोधन गर्नेखालको दृढ इच्छाशक्तियुक्त राजनीतिकर्मी उत्पादन गर्नु आजको आवश्यकता हो।
नागरिकमा राजनीतिक चेतना जगाउनका साथै राजनीति फोहोरी खेल मात्रै होइन, बेइमानी जनता र देशलाई झुक्याएर चुनाव जित्ने, सत्ता चलाउने यन्त्र मात्रै होइन भन्ने वातावरण सृजना गर्नुपर्ने अवस्था आएको छ।
राजनीति भनेको वास्तवमा विशेष उदेश्य प्राप्तिका लागि, दिगो परिवर्तनका लागि गरिने अग्रगामी परिवर्तन हो। राजनीतिक बाटो, गोरेटो, सडक हुँदै निश्चित अवस्थामा पुग्ने गन्तव्य हो। एउटा गन्तव्यमा पुगेपछि पनि अर्को उन्नतिका लागि पुग्ने अर्को गन्तव्य हो। यो क्रम निरन्तर चलिरहन्छ भनेर जनतालाई विश्वस्त पार्नुपर्ने अवस्था आएको छ।
राणा शासनबाट प्रजातन्त्र, प्रजातन्त्रबाट बहुदलीय व्यवस्थासहितको राजतन्त्र, राजतन्त्रबाट लोकतन्त्र हुँदै अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र। गणतन्त्रबाट समाजवादमा र समाजवादबाट साम्यवादको गन्तव्यमा पुग्नु विज्ञानको नियम हो। यो निरन्तर अगाडि बढी नै रहन्छ।
तसर्थ, राजनीतिक कार्यकर्ताहरू आँखाको नानी सरह हुनुपर्छ। जनताको मर्म र भावनालाई बुझ्न सक्ने, जनताको दैनिकीसँग आफूलाई जोड्नसक्ने हुनुपर्छ। देश र जनताको भलाई उसको मुख्य लक्ष्य हुनुपर्छ।
बिडम्बना आज राजनीतिक दलहरूले आफ्नो विचार, सिद्धान्त र जनताको आवाजको ठाउँमा पार्टीहरूले नै आफ्नो वर्गीय पक्षधरता छोडिसकेको, कमिसनलाई जायज मानिरहेको र पैसावाललाई पार्टीमा प्रवेश दिएर पैसा तानिरहेक छन्।
निर्वाचनमा समेत पैसावालालाई जनप्रतिनिधिका रुपमा अगाडि बढाउँदैछन्। विचार, सिद्धान्तमा कटिबद्ध इमान्दार नेताकार्यकर्ताहरूलाई उपेक्षा गरिएको छ। आफ्ना नातागोतालाई पोसिरहेको, अपारदर्शी राजनीतिक परिवेशका कारण पनि राजनीतिमै होमिएका र आम जनतामा नैरास्यता आउनु स्वाभाविक मान्न सकिन्छ।
पुँजीवादी व्यवस्थामा पुँजीपतिहरूले इमानदार नेताकार्यकर्ता खरिद गर्न कोसिस गर्छन्। बिगार्छन्, बिगार्न प्रयत्न गर्छन्। अर्कोतिर एकदिनका लागि बाइकमा एक लिटर पेट्रोल हालेर, मासुभात खाएर भोट हाल्ने, जसले बढी पैसाको खोलो बगाउँछ, उसैले जित्ने अवस्थाको राजनीति बन्दै गएको छ।
त्यसै कारणले पनि विचार, सिद्धान्तको राजनीति एकादेशको कथा जस्तो बन्दै गएको हो। त्यसखालको गतिविधिबाट छुटकारा पाउन र राजनीतिलाई सुधारे सुव्यवस्थित शासन सञ्चालन हुन्छ भन्नेबारे पनि सचेत गराउन आवश्यक छ।
आजको समाज राजनीतिक चेतनाको भन्दा भिडको, तत्कालीन घटना परिघटनाको मुद्दाको तथा पपुलिज्मको भरमा कुदिरहेको छ। त्यसैले आम नागरिकमा विशेषत: युवा पुस्तामा राजनीतिक चेतना भएन भने अबको समाज नर्क बन्नेछ।
पुराना र नयाँ दलहरूका बीचमा पनि विभिन्न कोणहरूबाट बहस र छलफल चलिरहेका छन्। पुराना दलहरूको औचित्य छैन। पुराना दलहरूबाट केही पनि हुँदैन, अब यो देश नयाँ दलहरू र स्वतन्त्र नामधारीहरूबाट उन्नति र प्रगति हुन्छजस्ता भाष्यहरू स्थापित गर्न खोजिँदैछ र देशको राजनीतिक स्थितिलाई झन् तरलता पैदा गरिँदैछ।
नयाँ भनिएका सँग वास्तवमा न मिसन छ, न त भिजन। न त स्पष्ट कार्यनीति र रणनीति नै छ। न उनीहरूको वैचारिक स्पष्टता छ, न त कुनै सैद्धान्तिक आधार निर्माण गर्न सकेका छन्। छ त केवल मासलाई उत्तेजित बनाउने, जनताको भावनालाई बोक्ने, बहकिने र जनतालाई भिडमा ओराल्ने, पुराना दल सबै गलत हुन्, अब नयाँले यो देश हाक्नुपर्छ भन्ने।
नयाँ र स्वतन्त्र भन्नेहरूलाई मेरो एउटा मात्र प्रश्न, 'राजनीतिलाई इन्कार गर्न पाइन्छ तर उपाय के हो त? त्यसको जवाफ पनि दिन सक्नुपर्छ।'
मलाई सम्झना छ, पहिलापहिला दसैँ-तिहार जस्ता चाडवाडहरूमा हाम्रा घरमा आउने मान्यजन, आफन्तहरू, घरका बुबाआमाहरू, आफूभन्दा ठुलाहरूले आशिष दिँदा ‘यो देशको सबैभन्दा ठूलो मान्छे बन्नु, राम्रो नेता हुनु, देशको प्रधानमन्त्री-मन्त्री बन्नु’ भन्नुहुन्थ्यो। तर आजभोलि यसको ठाउँमा ‘डाक्टर, इन्जिनियर नर्स आदि बन्नु, सरकारी जागिर खानु, केही नभए राम्रो देशमा जानु’ भन्दै आशीर्वाद दिइरहेको अवस्था छ। के यही आशीर्वाद देशका लागि र घरका लागि पनि ठिक हो त?
हाम्रा विद्यालय, क्याम्पस, घरका बुवा आमा, समाजले किन एउटा असल नेता जन्मियोस् भनेर भन्न सक्दैनन्? किन हाम्रो समाजलाई, घरका बुबाआमालाई, क्याम्पस, विश्वविद्यालयलाई नेता आवश्यक नभएको हो? असल चरीत्रवान नेता जन्माउनुको साटो, राजनीतिक रुपमा सचेत हुनुको साटो, ठिक र बेठिक छुट्टाएर सहि दिशामा घर, समाज र देशलाई हिँडाउनुको साटो झन् झन् बिग्रहतिर, अव्यवस्थित बाटोतर्फ वा नर्कको बाटोतिर हिँड्न खोजिरहेको होला?
देश बनाउन होइन, देश छोड्न हतार गर्दै लामवद्ध भएर राहदानी बनाउने स्थलदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्मको घुँइचोमा युवाहरू देखिन्छन्। एकातिर समृद्धि र विकासको कुरा गर्दै नथाकेका हामी अर्कोतिर यो समृद्धिको महानयात्रामा लामबद्व हुने पुस्तालाई विदेशिन हौसला दिइरहेका छौँ। हाम्रो नीति एकातिर, व्यवहार अर्कोतिर देख्दा सायद राजनीतिप्रति वितृष्णा पैदा भएको हुनसक्छ।
तसर्थ, राजनीतिक चेतनासहितको यात्रा चाल्नुपर्छ। प्राविधिक र आर्थिक रुपान्तरणका लागि युवा सीपलाई राजनीतिमा जोड्नुपर्छ।