बागलुङमा भदौरे नाचको रौनक

बागलुङ बजारमा अहिले भदौरे नाचको रौनकता छाएको छ।

बागलुङकाे पुरानो नाचमध्येका विभिन्न नाचहरू दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र अहिले गुञ्जायमान भइरहेको छ। लोपोन्मुख अवस्थामा रहेका नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षित गर्दै आएका छन्।

विसं १८४३ अघि नै बागलुङमा व्यापारको सिलसिलामा नेवार समुदाय आएर बसोबास गरेको लिखित दस्तावेजका आधारमा उक्त नाच नेवार समुदायअन्तर्गत पर्ने स्थानीय काजी गाउँले श्रेष्ठले बताएका छन्। उनले भदाैरे नाच दुई सय ३७ वर्ष पुरानो हुनसक्ने बताएका छन्।

श्रेष्ठले बागलुङमा भदौरे नाचअन्तर्गत पर्ने अन्य केही नाचहरू भने खर्चिला भएकाले देखाउन छोडिएको बताउँदै अहिले थेतर, कटुवाल, रोपाइँ, जोगी, घोडा, होवालगायतका नाचहरु प्रदर्शन भइरहेको जानकारी दिएका छन्। 'शिखारी र नाग नागिनी नाच बढी खर्चिलो भएकाले देखाउन छोडिएको छ, अन्य केही भदौरे नाचहरु संरक्षित छन्', उनले भने, 'नेवार जातिका कला संस्कृतिअन्तर्गतका धेरै नाचहरू आर्थिक हिसाबले खर्चिला छन्। जुन बचाउनै गाह्रो छ।'

अहिले भदौरे नाचको अवसरमा देखाइएका नाचका कारण बजार क्षेत्रमा रौनकता छाएको जनाउँदै श्रेष्ठले नेवार जातिको पुरानो हनुमान नाच खर्च अभावका कारण पाँच वर्षमा एक मात्र देखाइने गरिएको जानकारी दिएका छन्। पछिल्लो समय युवाहरूले चासो देखिएका कारण लोप हुन थालेका कतिपय नाच पुन देखाउन थालिएको उनको भनाइ छ। 

नेवार समुदायले अहिले देखाइरहेका भदौरे नाचहरू अन्य जातजातिलेसमेत रोचक मानेर हेर्ने गरेका छन्। भदाैरे नाचलाई बर्खे नाच पनि भन्ने गरिएको स्थानीयवासी मञ्जुल शाक्यले बताएका छन्। भदौरे नाच हेर्दा रमाइलो लागे पनि निकै खर्चिलो हुने गरेको भन्दै यसको संरक्षणमा थप चुनौती थपिएको उनले बताएका छन्।

प्रकाशित मिति: : 2023-09-06 14:12:00

प्रतिकृया दिनुहोस्