बुर्किना फासोमा जिहादी आक्रमणमा परी सुरक्षाकर्मीसहित ५३जनाको मृत्यु

उत्तरी बुर्किना फासोमा सन्दिग्ध जिहादीको आक्रमणमा परी सुरक्षाकर्मीसहित ५३ जनाको मृत्यु भएको सेनाले जनाएको छ।

सेनाका जनरल स्टाफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आक्रमणको प्रतिकार गर्ने क्रममा सोमबार सेनाका १७ सैनिक र ३६ स्वयंसेवक दलका लडाकूको मृत्यु भएको छ।'

आक्रमणमा परेको उक्त एकाईलाई दुई वर्षभन्दा पहिले जिहादीहरूले लखेटेका बासिन्दाहरूको पुनस्र्थापनाका लागि यातेङ्गा प्रान्तको कोम्ब्री शहरमा तैनाथ गरिएको थियो। आक्रमणमा परी करिब ३० जना सुरक्षाकर्मी घाइते भएको सेनाले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, 'जवाफी कारबाहीमा कैयौँ आक्रमणकारीलाई ‘निष्प्रभावी’ पारिएको र उनीहरूका लडाकू उपकरणहरू नष्ट गरिएको छ भने उक्त क्षेत्रमा अहिले पनि भिडन्त जारी रहेको छ।'

बुर्किना फासोमा सन् २०१५ मा छिमेकी मुलुक मालीमा भएको आक्रमणपछि हजारौंको ज्यान लिइसकेको जिहादी विद्रोहलाई रोक्न असफल भएको भन्दै आक्रोशित भएर गत वर्ष दुई पटक सैन्य ‘कू’ भएको थियो।

जिहादी आक्रमणमा परी १६ हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको एक गैरसरकारी संस्थाले जनाएको छ।

बुर्किना फासोमा पनि २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्, जसले गर्दा यो अफ्रिकाको सबैभन्दा खराब आन्तरिक विस्थापन सङ्कटमध्ये एक हो।

प्रकाशित मिति: : 2023-09-06 05:48:00

प्रतिकृया दिनुहोस्