पेट्राेलियम पदार्थकाे मूल्य बढेपछि जुम्लामा एमालेनिकट विद्यार्थी र युवा संघकाे विराेध प्रदर्शन

नेकपा (एमाले)निकट अनेरास्ववियु र युवा संघ नेपालले पेट्राेलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेका छन्। प्रचण्ड सरकारले अनावश्यक रुपमा पेट्राेलिय पदार्थको मूल्यवृद्धि गरेकाे भन्दै विराेध प्रदर्शनी गरिएकाे युवा संघ नेपालका केन्द्रीय सदस्य हरिश राेकायाले बताए।

‘सरकारले मूल्यवृद्धि राेक्नुकाे सट्टा बढाएकाे छ,’ उनले भने, ‘यसकाे प्रत्यक्ष मार जनतालाई परिरहेकाे छ भने सरकार कसरी जनताकाे पक्षमा छ भन्न सकिन्छ ?’

विराेध प्रदर्शनी व्यक्तिगत लाभका नभई तमाम जनताकाे हितका लागि गरेकाे युवा संघ नेपालकी केन्द्रीय सदस्य शारदा पछाईंले बताइन्।

‘हरेक जनपक्षीय काममा अनेरास्ववियु र युवा संघ नेपाल बाेल्छ,’ उनले भनिन्, ‘मूल्यवृद्धिकाे मार आमजनतालाई परिरहेकाे छ। त्यसैले हामी बाेलिरहेका छाैं।’

पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि हुँदा यातायातकाे भाडा समेत बढ्ने भएकाे हुँदा विद्यार्थीलाई मार पर्ने अनेरास्ववियुका केन्द्रीय सदस्य विराज भण्डारीले बताए।

आवरणमा जनपक्षीय देखिन केही च्यारिटी गरिरहेकाे सरकारले भित्रभित्रै जनतालाई मार्ने कुचेष्ट गरिरहेकाे युवा संघ नेपाल जुम्लाका अध्यक्ष कमलसिंह बुढथापाले बताए।

नेपाल आयल निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको थियाे। पेट्रोलमा प्रतिलिटर २१ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ मूल्य बढेको छ।

आइतबार राति १२ बजेदेखि लागू हुने मूल्यअनुसार‚ पेट्रोलको मूल्य प्रतिलिटर १९९ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १९२ रुपैयाँ पर्नेछ।

प्रकाशित मिति: : 2023-09-03 18:35:00

प्रतिकृया दिनुहोस्