उपन्यासकार जानुका खतिवडाद्वारा लिखित उपन्यास ‘आतोओडा’माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
शनिबार आयोजित एक कार्यक्रममा आख्यानकार सरूभक्तको प्रमुख आतिथ्यतामा उक्त परिचर्चा सम्पन्न भएको हो। कार्यक्रममा समीक्षक डा. ईश्वरमणि अधिकारीले सीमान्तकृत सन्थाल समुदायको भुइँमान्छेको कथा बोकेको उपन्यास सरल भाषामा सहज एवम् मिठो भाषाशैलीसहित बुनिएको बताए।
उनले सीमान्तकृत वर्गको आन्दोलनको पृष्ठभूमि उल्लेख गर्दै ‘जग्गा कसको जोत्नेको, घर कसको पोत्नेको’ भन्ने आन्दोलनबारे जानकारी नलिई यो उपन्यास पढ्दा त्यसले बुझाइ अपूर्ण हुने बताए। दिव्या कोइराला, विपी कोइराला, जगन्नाथ आचार्य, भीमदत्त पन्तलगायतले चलाएको भूमिसुधार आन्दोलनको प्रभाव सन्थाल समुदायमा पर्न नसक्नु बिडम्बना भएकोमा आश्चर्य प्रकट गरे।
सन्थाल जातिको सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक पक्षको समग्र जीवनसङ्घर्षको गाथा नै आतोओडा भएको बताए। सन्थाल समुदायबाहेकका उपन्यासका अन्य पात्रले सन्थाललाई दुःख दिने गरी मात्रै प्रस्तुत गरिएको बताउँदै मुख्यपात्र फूलमुनि सुरुमा हठी देखिए पनि परिस्थितिसँग सम्झौता गरेको देखाइएकोमा असन्तुष्टि व्यक्त गरे।
आत्मिक, अलौकिक, बाध्यात्मक, घरजमलगायतका प्रेमका विविध रूपको चित्रण उपन्यासमा छ। उनले सन्थाल जातिलाई मान्छे कम काम गर्ने मेसिन बढी भएको यथार्थ उपन्यासमा भेटिने विचार व्यक्त गरे। अधिकांश पात्र निरीह बनाइएकोमा उनले असन्तुष्टि जनाए।
पुस्तकमाथि बोल्दै हसिना बस्नेतले झोडा फाँडेर बसेका सन्थालका पुर्खाले औलो र जङ्गली जनावरको आक्रमण सहेर सभ्यता निर्माण गरेका तर राज्यले तिनको अस्तित्वसमेत स्वीकार गर्न नसकेको यथार्थ उपन्यासले बोकेको सुनाइन्। सामाजिक यथार्थवादी धाराको उपन्यासमा फूलमुनि र बुधिनका माध्यमबाट सन्थाल समुदायको जीवनशैली प्रस्तुत गरेको बताइन्।
राज्यका कर्मचारीले सन्थाल समुदायलाई हेपेको देखाएर तमाम सीमान्तकृत वर्गलाई राज्यले हेर्ने दृष्टिकोण गलत रहेको कुरा उल्लेख गरिएको सुनाइन्। आञ्चलिक भाषाको हरक उपन्यासमा पाइने र कथाको शैलीलाई अलिकति सनसनीपूर्ण र खोजमूलक बनाउँदा अझ सुन्दर हुनेतर्फ सङ्केत गरिन्।
कार्यक्रममा बोल्दै समालोचक डा. अशोक थापाले नागरिकता किनबेच हुने देशमा माटासँग सदियौँदेखि सम्बन्ध भएको सन्थाल जातिले नागरिकताबाट बञ्चित बनाइने देशको कथा उपन्यासमार्फत उठाएर उपन्यासकारले ऐतिहासिक महत्त्वको उपन्यास नेपाली साहित्यलाई दिएको जनाए।
राजनीतिक आन्दोलनमा सन्थाल जाति चाहिने तर सन्थाललाई नागरिकता चाहिँदैन भन्ने सोच राज्यसँग रहनु बिडम्बना भएको बताए। उपन्यासको खुल्ला समापन गजब रहेको बताउँदै समसामयिक मुद्दा उठाएकामा लेखकलाई बधाई दिए।
कार्यक्रममा अग्रज साहित्यकार सरुभक्तले भाषिक, सांस्कृतिक एवम् जातीय रूपमा धनी भएर पनि लेखनमा त्यतातर्फ ध्यान पुग्न नसकेको बताए। हाम्रो नेपाली समाज आन्दोलन गर्न जान्ने तर थिचिएकालाई उठाउन नजान्ने मूर्ख समाज बनेकामा दुःख पोखे। सत्ता र व्यवस्था बदल्न खप्पिस तर अवस्था बदल्नतिर ध्यान नदिने राजनीति बाटो बिनाको पुलजस्तो भएको बताए।
अहिले सबै अहङ्कारको मिसाइल बोकेर एक अर्कालाई प्रहार गरिरहेका छन् र त्यसको सिकार सीमान्तकृत एवम् पिछडिएको समुदाय बनेको उल्लेख गरे। २००७ सालदेखि आजका मितिसम्म अनवरत एकैखाले असन्तुष्टि र विद्रोह लेख्नुपरेकामा लेखकहरू समस्यामा परेकाले समाजको लुकेको पक्ष उजागर गर्नेतर्फ कलम चलाउन लेखकहरुलाई आग्रह गरे।
यथार्थ छोडेर स्वैरकल्पना मात्रै लेख्न नसकिने उल्लेख गर्दै जीवनको यथार्थ लेखनको केन्द्र रहनुपर्नेमा जोड दिए। विश्वव्यापी रूपमा स्थानीयतालाई महत्त्व दिई नलेखिएका विषयमा लेख्न थालिएको र आतोओडा पनि त्यसको एक सशक्त उदाहरण बनेकोमा लेखकलाई बधाई दिए।
लेखक जानुका खतिवडाले सन्थालहरुको जीवनलाई लेखनमा ल्याउन आवश्यक भएको महसुस भएर त्यसलाई औपन्यासिक स्वरूप प्रदान गरेको बताइन्। आफूले देखेको र आफ्नो निकटको समुदायले भोगेको जीवनको कथा उपन्यासमा उतारेको उनले बताइन्।
पुछारसिटे अभियानले आयोजना गरेको कार्यक्रमको सभाध्यक्षता संस्थाका संयोजक सञ्जीव पौडेलले गरेका थिए। अभियन्ता श्रीराम अधिकारी ‘गोर्जे’ ले सञ्चालन गरेको कार्यक्रममा सुरज उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरेका थिए।