भारत सरकारले खाना पकाउने ग्यासको मूल्यमा २०० रूपैयाँ कटौती

बिएल संवाददाता

नयाँ दिल्ली
फाइल तस्बिर
फाइल तस्बिर

भारतभरका घरपरिवारलाई राहत दिने उद्देश्यले केन्द्र सरकारले खाना पकाउने ग्यासमा २०० भारतीय रूपैयाँ कटौती गर्ने घोषणा गरेको छ।

केन्द्रीय मन्त्रिपरिषद्को निर्णयबारे पत्रकारहरूलाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अनुराग सिंह ठाकुरले यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले ओणम र रक्षाबन्धनमा देशका महिलाहरूलाई उपहार दिएको बताए। 

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको हो। बुधबारबाट लागू हुने गरी १४.२ केजीको ग्यास सिलिण्डरको मूल्य देशभर २०० रुपैयाँले घट्ने भएको छ। उदाहरणका लागि दिल्लीमा यो निर्णयले १४.२ केजीको सिलिण्डरको मूल्य प्रतिसिलिण्डर एक हजार १०३ रूपैयाँबाट घटाएर ९०३ रूपैयाँमा झार्नेछ।

यो कटौती उज्ज्वला परिवारलाई प्रति सिलिण्डर रु २०० को विद्यमान लक्षित अनुदानको अतिरिक्त हो, त्यसैले यो कटौतीपछि उज्ज्वला लाभग्राहीका लागि दिल्लीमा प्रभावकारी मूल्य ७०३ भारु हुनेछ।

करिब ९.६ करोड उज्ज्वला लाभग्राहीसहित ३१ करोडभन्दा बढी घरेलु एलपीजी उपभोक्ताहरू छन्। अनुराग ठाकुरले भने, 'वर्तमान सरकारले महिलाहरूको विकासको लागि धेरै योजनाहरू शुरू गरेको छ, जसमा पक्की घर, शौचालय, अतिरिक्त खाद्यान्न र प्रत्यक्ष लाभ स्थानान्तरण समावेश छ।'

प्रकाशित मिति: : 2023-08-30 05:48:00

प्रतिकृया दिनुहोस्