आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी छ: गर्भनर अधिकारी

File Photo
File Photo

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताएका छन्।

नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः२५ बजे सञ्चालन हुने वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम सुरुआत गर्दै गभर्नर अधिकारीले कम्युटर र मोबाइलमार्फत हुने भुक्तानी बढ्दै गएको अवस्थामा आम जनमानसमा पनि वित्तीय साक्षरता बढाउन आवश्यक रहेको धारणा राखे।

‘प्रविधिको विकाससँगै बैंक तथा वित्तीय क्षेत्रले नयाँ सेवा सुरुआत गरेका छन्, ती सेवा र विशेषताबारे आम जनमानसबीच जानकारी गराउनका लागि वित्तीय साक्षरता कार्यक्रमले सहयोग पुग्ने विश्वास नेपाल राष्ट्र बैँकले लिएको छ’, उनले भने।

बैँक र व्यवसायीबीचको असमझदारी कम गर्न पनि यस्ता कार्यक्रम सहयोगी बन्ने उनको भनाइ छ। राष्ट्र बैँकले वित्तीय साक्षरतासम्बन्धी नयाँ मार्गनिर्देशन तयार गरेर अगाडि बढेको जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय साक्षरताको ज्ञान अभावका कारण बैँक तथा वित्तीय क्षेत्रलाई आम जनमानसले हेर्ने दृष्टिकोण नकारात्मक भएको बताए। उनले वित्तीय क्षेत्रको बारेमा आम जनमानसलाई ज्ञान दिनसके देशको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

अध्यक्ष ढकालले पछिल्लो समय रेमिट्यान्स बढ्नु, नेपालमा विदेशी पर्यटकको आगमन बढ्नु, बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउँदै लैजानु अर्थतन्त्रका लागि सकारात्मक विषय भएको बताए।

प्रकाशित मिति: : 2023-08-27 12:58:00

प्रतिकृया दिनुहोस्