अफगानिस्तानमा साठी लाखभन्दा बढी व्यक्ति आन्तरिक रूपमा विस्थापित

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले अफगानिस्तानमा हाल ६५ लाख ५० हजार आन्तरिक रूपमा विस्थापित व्यक्ति रहेको उल्लेख गरेको छ। (यूएनडीपी)ले अफगानिस्तान सिरियापछि सबैभन्दा बढी विस्थापित भएको मुलुक बनेको जनाएको छ।

यूएनडीपीको प्रतिवेदन अनुसार सन् २०२२ को डिसेम्बर ३१ सम्ममा द्वन्द्व र हिंसाका कारण ४३ लाख ९० हजारभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने विपद्का कारण २१ लाख ६० हजार मानिस विस्थापित भएका छन्। प्रतिवेदनले आगामी ३० वर्षमा विश्वव्यापी विस्थापनको सम्भावित वृद्धिबारे चेतावनी जारी गरेको टोलो न्यूजले जनाएको छ।

द्वन्द्व र अस्थिरताका कारण केही वर्षअघि लघमान प्रान्तबाट काबुल बसाइँ सरेका मलिक खानले भने, 'हाम्रो मुख्य मुद्दा आन्तरिक रूपमा विस्थापितका लागि कुनै सहयोग नहुनु हो र पछिल्लो दुई वर्षमा हामीले प्राप्त गरेको एक मात्र सहयोग ५० किलो तेल र पाँच किलो मटर हो।

टोलो न्यूजका अनुसार केही अन्य विस्थापितले तालिबान र सहायता संस्थाहरूसँग उनीहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।

अर्की विस्थापित महिला मरियमले भनिन्, 'हामी इस्लामिक इमिरेट्ससँग हामीलाई आश्रय दिन र सहयोग गर्न आग्रह गर्दछौं। यदि यसले हामीलाई समान स्थान दिन्छ र हामीसँग वासको व्यवस्था गर्ने स्रोत नै छैन भने हामी यसलाई स्वीकार गर्दछौं।' 

'हामी यहाँ केही गर्न र हाम्रा बच्चाहरूलाई आश्रय प्रदान गर्न आएका थियौं। हामीसँग पानीको, बिजुलीको समस्या छ र हाम्रा बच्चाहरू विदालय जाँदैनन्। हामी मजारबाट यहाँ आएका थियौँ, जहाँ कुनै काम थिएन,' बाल्ख प्रान्तबाट विस्थापित हयातुल्लाहले भन्यो। 

गरिबी, असुरक्षा र द्वन्द्वका कारण पनि अफगानी नागरिकले आफ्नो घर छोड्दै श्रम, रोजगारी र सहयोगको खोजमिा शहरी क्षेत्रमा केन्द्रित भएको टोलो न्यूजले जनाएको छ।

यसबाहेक, अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले यसअघि अफगानिस्तानमा आन्तरिक रूपमा विस्थापित हुनेहरूको सङ्ख्यामा वृद्धि भएको बताएको थियो। सङ्गठनले देशको आन्तरिक रूपमा विस्थापित जनसङ्ख्या करिब ६० लाख रहेको अनुमान गरेको छ।

प्रकाशित मिति: : 2023-08-27 05:40:00

प्रतिकृया दिनुहोस्