कुल्लूमा ७ घर ३० सेकेन्डमै भत्किए (भिडियाेसहित)

बिएल संवाददाता

कुल्लू (भारत)

हिमाचलको कुल्लू जिल्लामा बिहीबार बिहान सातवटा घर ३० सेकेन्डमै भत्किएका छन्।

स्थानीय प्रशासनले तीन दिनअघि सबै भवन खाली गराउँदा दुर्घटनामा कुनै हताहती नभएकाे अधिकारीहरूले जनाएका छन्।

सातवटा घर भत्किएकाे क्षेत्रमा मानिसहरूको आवतजावतमा प्रतिबन्ध लगाइएको छ।

त्यस्तै, कुल्लू बसपार्कमा घर भत्किँनैलाग्दा मानिसहरू सडक छेउछाउमा थिए। उनीहरूले दौडिएर ज्यान बचाए। दुर्घटनापछि अन्य २–३ भवन पनि भत्किने खतरा छ।

मिडिया स्राेतका अनुसार हिमाली भेगका विभिन्न स्थानमा भारी वर्षाका कारण १२ जनाको मृत्यु भएको छ। जसमध्ये मण्डी र शिमलामा पहिरोका कारण ७ जनाको मृत्यु भएको छ। ठाउँठाउँमा घरहरू भत्किएका छन्।

हिमाचलमा चार सय सडक अवरुद्ध भएका छन्। वर्षाले कुल्लु–मनाली राजमार्ग पनि बन्द भएको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिनसम्म देशभर भारी वर्षाको सम्भावना रहेको भन्दै रेड अलर्ट जारी गरेको छ। हिमाचलका ३ जिल्ला शिमला, मण्डी र सोलनका सबै विद्यालय र कलेजहरू बन्द छन्।

विभागले उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, झारखण्डलगायत १५ राज्यमा भारी वर्षाको चेतावनी जारी गरेको छ। योसँगै दिल्ली, मध्य प्रदेश र राजस्थानलगायत ६ राज्यमा मध्यम वर्षाको अलर्ट जारी गरिएको छ।

प्रकाशित मिति: : 2023-08-24 21:10:00

प्रतिकृया दिनुहोस्