धादिङमा ४१ करोड विद्युत महशुल उठाउन बाँकी

धादिङमा विद्युतको बक्यौदा उच्च देखिएको छ। नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले दिएको जानकारी अनुसार ४१ करोड ३८ लाख ४५ हजार छ सय १६ रुपैयाँ विद्युत महशुल उठ्न बाँकी देखिएको हो।

त्यसमध्ये धुनिबेसी नगरपालिकामा संचालित युनाइटेड सिमेन्ट उद्योगको मात्र २७ करोड ५९ लाख ६४ हजार ५ सय ५६ रुपैयाँ बाँकी रहेको देखिन्छ। युनाइटेड सिमेन्टले पुरानो विद्युत महशुलबारे अदालतमा मुद्दा गरिरहेको छ।

महशुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत लाइन काटिएपनि एक सय ७७ ग्राहकले अझैसम्म भुक्तानी नभएको नेपाल विद्युत प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेले जानकारी दिएका छन्।

एक सय तीन जनालाई विद्युत प्राधिकरणले धादिङमा कालोसुचिमा राखेको छ। विद्युत लाइन काटेपछि नेपाल विद्युत प्राधिकरणले चार करोड २६ लाख ७४ हजार दुई सय ४० रुपैयाँ असुली गरेको प्राधिकरणले जनाएको छ। कालोसूचिमा परेका ग्राहकबाट ३७ लाख १२ हजार तीन सय एक रुपैयाँ असुल गर्न बाँकी रहेको छ।

कालोसूचिमा राखेपछि सरकारी बाँकी सरह असुल गर्ने र तिन पुस्तेमा पर्नेलाई विद्युत सेवा नदिने नियम समेत छ। धादिङ शाखाले गत आवमा एक जना ग्राहकको रकम उठाउन काठमाण्डौ र भक्तपुरमा समेत उनिहरुको घरमा लाइन काटेको कार्यालय प्रमुख न्यौपानेको भनाई छ।

धादिङमा विद्युत चोरीको घटना पनि गत वर्षको तुलनामा बढेको छ। चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपमान्तरण र ट्रान्सफरमर थप गरेर विद्युत संचालन गरेपनि चोरी नियन्त्रण भने अझै गर्न सकेको छैन।

प्राधिकरण धादिङ शाखाका न्यौपानका अनुसार गत आर्थिक वर्षमा मात्रै विद्युत चोरीमा  गर्ने दुई सय ९४ जनालाई कारबाही समेत गरेको छ। उनीहरुबाट १४ लाख ८१ हजार ९६ रुपैयाँ जरिवाना असुल पनि गरेको छ। तर पनि चोरी निर्मुल पार्न सकेको छैन। यस भन्दा अघिल्लो वर्षमा नेपाल विद्युत प्राधिकरण धादिङले एक सय २३ जनालाई विद्युत चोरी अन्तरगत कारबाही गरेको थियो।

गत आर्थिक वर्षमा ११ करोड २२ लाख ९१ हजार छ सय नौ युनिट विद्युत विक्रि गरि एक अर्ब दुई करोड दुई लाख ८२ हजार आठ सय ४६ को विद्युत विक्रि गरेको पाइएको छ। गत वर्षको तुलनामा यो २५ प्रतिशतले वृद्ध भएको विद्युत प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: : 2023-08-17 06:39:00

प्रतिकृया दिनुहोस्