बेलासे गाउँलाई जलवायु अनुकूलित बनाइँदै

इलामको बेलासे गाउँलाई जलवायु अनुकूलित गाउँ बनाउन काम थालिएको छ। इलाम नगरपालिकाको ११ स्थित सो गाउँलाई स्थानीयको पहलमा काम सुरुआत गरिएको हो।

क्यानाडा कोषकोे सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्र (नासाविके) इलामले बेलासेमा जलवायु अनुकूलनसम्बन्धी परियोजना सुरु गरेको हो। ‘नमूना जलवायु अनुकूलित गाउँमार्फत जलवायु उत्थानशीलता बढाइ प्राकृतिक तथा जलवायु परिवर्तन प्रेरित प्रकोपको प्रभाव न्यूनीकरण गर्ने’ ध्येय रहेको सो परियोजना आठ महिनासम्म सञ्चालन हुने जनाइएको छ।

यसका लागि स्थानीय समुदायलाई जलवायु अनुकूलित गाउँ निर्माणसम्बन्धी सचेतना बेलासेमा सम्पन्न भएको छ। नासाविके इलामका आयोजना प्रमुख हीराकाजी घलेले यो परियोजना सञ्चालनपछि स्थानीयलाई हुने फाइदाका बारेमा जानकारी दिएका थिए।

कार्यक्रम अधिकृत सुबोध निरौलाले परियोजनाले स्थानीयलाई सहजता र स्थानियको दैनिकीमा सहजता थप्ने बताएका छन्। इलाम–११ का अध्यक्ष टासी जवेगुले हाल जलवायु परिवर्तनले असर गरेको जनाउँदै यो परियोजनाले वडावासीलाई फाइदा पुर्याउने जानकारी दिए। 

झापा–इलाम द्रुत मार्गमा पर्ने बेलासे वरपर रहेका ५० घरपरिवार लाभान्वित हुने गरी परियोजना सञ्चालन गरिने छ। इलाम नगरपालिकाको साझेदारीमा सञ्चालन हुने परियोजनासम्बन्धी सचेतनासमेत स्थानीयलाई गरिसकिएको बताइएको छ।

परियोजनामार्फत बेलासेको बाँझो जमिन सिँचाइ गरी जलवायु अनुकूलित खेती प्रणाली अवलम्बन गरिने भएको छ। माइखोला आसपासको बेलासेमा सयौँ रोपनी जमिन बाँझै रहेको र त्यहाँ सिँचाइको व्यवस्था भएमा हराभरा बनाउन सकिने स्थानीय पदम लोक्तामले बताएका छन्। 

परियोजनामार्फत बाँझो जमिन सिँचाइका लागि माइखोलाको पानी सोलार लिफ्टिङ गरी ल्याइने भएको छ। कूल रु ६५ लाख ४५ हजार छ सय ३६ लागतमा सञ्चालन हुने परियोजनामा जलवायु प्रभावको बारेमा सचेतना, जलवायु अनुकूलन खेती प्रणाली, र जलवायु अनुकूलन गाउँको योजना निर्माण गरिने जनाइएको छ।

प्रकाशित मिति: : 2023-08-14 10:03:00

प्रतिकृया दिनुहोस्