इक्वेडरको आसन्न राष्ट्रपतीय चुनावका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ।
देशको उत्तरी सहर क्विटोमा बुधवार आयोजित एक कार्यक्रममा त्यहाँका सांसद फर्नान्डो भिल्लाभिसेन्सिओमाथि आक्रमण भएको बीबीसीले जनाएकाे छ।
उनको प्रचार अभियान समूहका एक सदस्यले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार भिल्लाभिसेन्सिओ आफ्नो कारमा चढ्ने क्रममा एक व्यक्तिले उनको टाउकोमा गोली हानेका थिए। प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सिओलाई तीन पटक गोली प्रहार भएको थियो।
राष्ट्रपति गुइलेर्मो लासोले उनको मृत्यु भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन्।
सुरक्षाकर्मीसँग मुठभेड हुँदा सन्दिग्ध व्यक्तिलाई पनि गोली लागेको थियो र पछि उनको मृत्यु भएको महान्यायाधिवक्ताले जानकारी दिएका छन्। त्यहाँ आगामी अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ।