आफ्नै समाज पढ्दा-पढ्दै पिएचडी सकेकी ‘जीवन’

हेमन्त विवश

काठमाडौं

ग्रामीण परिवेश। आमाबुवाको लाड-प्यार। सपना र कल्पनाका लय सुसेल्ने बैंशालु समय। त्यतिखेर भविष्यमा के बन्ने होला भनेर आफैँसँग प्रश्न गर्थिन् डा. जीवन राना। अनि कल्पना गर्थिन्, मनभरि सपना सजाउँथिन्- सेतो एप्रोन लगाई घाँटीमा आला भिरेर हिँड्ने जिन्दगीको। ‘यदि त्यो पुरा हुन सकेन भने?’, पुनः उब्जाउँथ्यो त्यही मनले प्रश्न। अनि लामो सास फेरेर कल्पिन थाल्थिन्, कालो कोट लगाएर अदालतमा बहस गर्ने जिन्दगी।

विद्यालयस्तरमा पढ्नेताकादेखि नै उनको मनले रोजेको गोरेटो थियो- समाज सेवा। समाजको चेतनास्तर बढाउन र अफ्ठ्यारोमा परेकाहरूलाई सघाउन औधी रुचाउँथिन् उनी। कतै भाषाका कारण त कतै चालचलन र परम्परागत मूल्यमान्यताका हिसाबले कतिपय मान्छेहरू खुलेर आफ्ना समस्याहरू भन्न सकिरहेका हुँदैन थिए।

गाउँघरतिर महिलाहरूका आफ्नै पीडा थिए अनि गरीब गुरुवाहरूका आफ्नै। सरसफाइ र स्वास्थ्यका दृष्टिकोणले हेर्दा त झनै समस्या देखिन्थे गाउँ समाजमा। अन्याय, अत्याचार र शोषणको बादल मडारिएकै हुन्थ्यो।

यस अर्थमा रोज्न चाहन्थिन्, उनी ती दुईवटामध्ये एउटा पेशा। भन्छिन्, ‘त्यतिखेर थारु समुदायबाट महिला त के पुरुषहरू पनि थिएनन् वकालत गर्ने। डाक्टर बन्नु त झन टाढाको कुरा भैहाल्यो।’ पिएचडी गरेर नामको अगाडि डा. त झुण्ड्याइन् तर, मेडिकल डाक्टर बन्ने मृगतृष्णा मेटिएन उनमा।

वैवाहिक जीवनमा बाँधिएको १३ वर्ष बितिसक्दासम्म नथुलादेवी राना र श्रीकृष्ण रानाकाे कुनै सन्तान थिएनन्। औषधि उपचारका लागि थुप्रै ठाउँमा धाए। सामाजिक मान्यताअनुसार सन्तान जन्मिने आशमा नथुलादेवीको पुनः पीपलसँग बिहे गराए। भरभाकल गरिरहे। तत्पश्चात पहिलो सन्तानका रुपमा जन्म भयो जीवनको। त्यसपछि नथुलादेवीले क्रमैसँग तीन छोरी र दुई छोरालाई जन्म दिइन्।

५० जना सदस्य रहेको संयुक्त परिवार भएपनि लाउन-खानमा कुनै समस्या थिएन। आमाबुवा अशिक्षित भएपनि छोराछोरीलाई पढाउन र खान-लाउनमा केही कमी गरेनन्। सानैमा छोरीको बिहे नगर्ने सोच थियो बाआमाको पनि। तथापि धर्म, संस्कार र समुदायको चलनअनुसार एसएलसी उत्तीर्ण हुनेबित्तिकै उनको पनि बिहे हुने पक्कापक्की हुन गयो।

‘आमाबुवाको पनि चाहना थिएन सानैमा बिहे गरेर पठाउने। मेरो आफ्नो पनि ब्याचलर सकेर अफिसरमा नाम निकालेर मात्र बिहे गर्ने  चाहना थियो। तर, सोचेजस्तो कहाँ हुनु।  बिहेको अघिल्लो रात बाआमा रातभर नै रोइराख्नुभयो। ममा त्यस्तो कुनै फिलिङ नै आएन। किन रोइराख्नुभएको छ जस्तो लाग्थ्यो’, त्यो पल सम्झिँदै उनले भनिन्।

बिहेपछि पनि उनले पढाइलाई निरन्तरता दिई नै रहिन्। श्रीमान धर्मराज रानाले उनलाई पढ्न सधैंजसो साथ, सहयोग र हौसला दिइरहे। प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरेपछि उनले सुरु गरिन् रेडियो नेपालमा जागिर। जागिर खाने क्रममा उनी क्षेत्रीय प्रशारण केन्द्र सुर्खेत पुगिन्। जहाँ नेपाली भाषाका साथै थारु भाषाका कार्यक्रमहरू सञ्चालन गरिन्। सुर्खेतमा जागिर मात्र गरिनन्। क्याम्पस भर्ना भएर फुर्सदको समयमा पढाइलाई निरन्तरता दिन थालिन्।

त्यतैछँदा स्नातक तह उत्तीर्ण गरिन्। समाचार वाचकदेखि कार्यक्रम सञ्चालकसम्मको अनुभव बटुल्नुका साथै स्नातक तहको सर्टिफिकेट बोकेर उनी धनगढी फर्किन्। रेडियोको जागिर छोडेर धनगढीस्थित आफूले अध्ययन गरेकै सरकारी विद्यालयमा पढाउन थलिन्। साथै समय निकालेर गाउँबस्तीमा घुम्न थालिन्। थारु समुदायका अभिभावकसँग छोरी पढाउन भनिरहिन्। थारु समुदायका कैयौं छात्राहरू उनलाई देखेर पढ्न प्रेरित भइरहे।

०००

सानो छँदा प्रायजसो बुवाले ल्याइदिएको चमेना-बिस्कुट नखाइकन निदाउँदैन थिइन् उनी। बुवा साथी जस्तै थिए। एउटै चलचित्र चारपटकसम्म पनि देखाउँथे उनलाई। हातका औँला समातेर डोर्‍याउँदै घुम्न लैजाने बुवाको यादमा अहिले पनि रसाइ रहन्छन् जीवनका आँखा। त्यतिखेर उनलाई आमाको भन्दा बढी माया लाग्थ्यो बुवाको। बच्चामा जसले खानेकुरा दियो, घुम्न लग्यो उसको बढी माया लाग्नु स्वभाविकै थियो। जीवनको बाल्यकालमा पनि यही नै कुरा लागु भइरह्याे।

तर, उनले आमाको महत्व त्यतिखेर थाहा पाइन्, जतिबेला आफू आमा बनिन्। ‘२७ घन्टासम्म लगातार ब्यथा लाग्यो। अन्तमा ४ किलोको बच्चालाई जन्माउन सफल भएँ। त्यतिबेला आमा भन्ने शब्द बुवाभन्दा गह्रुङ्गो, ठुलो र अर्थपूर्ण लाग्न थाल्यो’, उनी सुनाउँछिन्, ‘त्यस्तै सुर्खेतको छिन्चुमा साढे तीन वर्षकी छोरी बोकेर गाडीमा यात्रारतरहँदा गाडी पल्ट्यिो। दश बल्ड्याङ खायो गाडीले। छोरी हातबाट फुत्किन्। छोरी बचाइ देऊ भगवान भन्दाभन्दै होस गुमाए छु। पछि आफूलाई सुर्खेत अस्पतालको बेडमा भेटाएँ। होसमा आउँदा बेडको छेवैमा बसिरहेकी छोरी देखेँ। जसको गालामा सानो चोट लागेको थियो। आँखाबाट एकाएक आँसुका थोपा झरे। मातृत्व भाव छल्कियो। त्यतिबेला आमा भन्ने कुरा के हो भन्ने अझ बढी थाहा भयो।’

‘मान्छेको जिन्दगी केही पनि हैन। हामी भगवानले धर्तीमा पठाएका पात्रमात्र हौँ’ ठान्ने जीवनले आफन्तको बियोगमा कैयौँपल्ट आँसु झारिरहिन्। २०६८ सालमा हार्टअट्याकका कारण जेठो भाइले धर्ती छोडे। साना दुइटा भदाहरू टुहुरा बने। भाइको वियोग सहन नसकेर बेहोस भएकी उनलाई अस्पताल भर्ना गरियो। त्यो घटना सम्झिँदा अहिले पनि उनी आँसु लुकाउन सक्दिनन्। परेलीका डिल भत्काउँदै बताउँछिन, ‘भाइको मृत शरीर घाटमा लगेको देख्न पाइनँ। त्यो पल रुन पनि पाइनँ। बेहोस अवस्थामा अस्पतालको शैय्यामा लडिरहेँ।’

भाइले क्षितिज पारिको यात्रा तय गरेको ४ वर्षपछि आमाले पनि उही मार्गलाई रोज्ने तयारी गरिन्। डाक्टरले उनकी आमालाई क्यान्सर भएको घोषणा गरेपछि दिदीभाइ अस्पतालमा एकोहोरो चार घन्टासम्म रोइरहे। चार घन्टासम्म दुबैले एकअर्कासँग कुनै संवाद गरेनन्। वर्षामासको आकाशझैँ चुहाइरहे आँसु। चार घन्टापछि दिदीभाइ दुबैले सल्लाह गरे, आमालाई क्यान्सर भएको कुरा कसैलाई नभन्ने भनेर।

अन्ततगत्वा, केही महिनापछि आमाले धर्ती छोडिन। छोरा र श्रीमतीको वियोगले गल्दै गएका बुवा श्रीकृष्णले पनि धर्तीबाट बिदा लिए । बिदा लिएर गएका ती सबैले छोडेका सम्झनामा बाँकी नै छन्। अनि छन् पुराना तस्विरहरू। जसलाई उनी बेलाबखत हेरेर आँसु झार्दै चित्त बुझाउँछिन्।

जन्मपछि मृत्यु हुन्छ। जुन साश्वत सत्य हो। तर, बाँचुन्जेल असल कर्म गर्नुपर्छ भन्ने सोचका साथ अघि बढिरहिन् उनी। समाजमा एक प्रेरक व्यक्तिको रुपमा देखापरेकी उनको संस्कृति संरक्षणलगायत जनचेतना जोगाउने काममा ठुलो योगदान रहेको छ।

०००

‘राना-थारूहरूको सामाजिक, सांस्कृतिक जीवन’ विषयमा विद्यावारिधि गरेकी जीवन राना पछिल्लो समयमा डा. जीवन रानाको रुपमा चिनिन्छिन्। यति मात्रैमा उनको चिनारी पूरा हुँदैन। उनी राना-थारु समाजकी पूर्व अध्यक्षका साथै राना-थारु समुदायबाट विद्यावारिधि गर्ने पहिलो महिला पनि हुन्। निकै नै संघर्ष गरेर राना-थारुहरूलाई आदिवासी जनजातिअन्तर्गत राख्न लगाउने पनि उनी नै हुन्।

पछिल्लो समय संस्कृतिका लोपोन्मुख पाटाहरूले चिन्तित बनेर अनुसन्धानमा लागिरहेकी जीवन कुशल अध्येताका साथै राना-थारु संस्कृति संरक्षणकी गुरु पनि मानिन्छिन्। चाडपर्व, मेला, महोत्सवहरूमा आफ्नै मौलिक पहिरनमा देखापर्ने गरेकी डा. राना भन्छिन्, ‘हामी बरेलीको झुम्का लगाउँथ्यौँ। अहिले आएर सबैले भारतको पलिया र बेरेलीमा गएर गहना ल्याएका छन्। एकजोर मात्रै किन नहोस्, अधिकांशको घरमा मौलिक गहना भेटिन्छन्। आफ्नो मौलिक भेषभूषा र गरगहनामा सजिएका देखिन्छन्। हाम्रो संस्कृति नै हाम्रो पहिचान हो। त्यसैले यसलाई ठूलो उपलब्धिका रुपमा लिएकी छु।’

सुरुदेखि नै वर्षमा मुस्किलले ३०/३५ दिन मात्र श्रीमानसँग बस्न पाइन् उनले। उनका श्रीमान धर्मराज राना कुरा बुझ्ने, माया गर्ने र सहयोगी भावनाका छन्। तथापि, लामो समय सँगै बस्न कहिल्यै मिलेन। जागिरको सिलसिलामा जिल्लातिर दौडिरहे उनी पनि। गैरसरकारी संस्थाको जागिरले विभिन्न जिल्लाहरूमा पुर्याइरहन्छ।

जीवन एक्लैले छोराछोरी हुर्काइन्। पढाइलाई निरन्तरता दिइन्। गन्तव्यमा पुग्न निरन्तर दौडिरहिन्। यसरी दौडिन् कि कहिलेकाहीँ त खाना खाने फुर्सदसम्म पनि पाइनन्। जिन्दगीको दौडमा न कहिल्यै साहस गुमाइन्, न त कहिल्यै हार खाइन्। घरपरिवार, पढाइ, जागिर, समाजसेवा सबैलाईलाई सँगसँगै लगिन्। पछिल्लो समय श्रीमानसँगै बसिरहेकी उनी मुस्कुराउँदै सुनाउँछिन्, ‘यो पनि त जीवन रहेछ नि!’

अर्थपूर्ण जिन्दगी बाँचिरहेकी डा. राना यो समाजका लागि प्रेरणाकी पात्र बनेकी छन्। पैसा नै सबै कुरा हो जस्तो कहिल्यै लागेन उनलाई। धर्मकर्मकै कुरा गर्दा पनि उनी भन्छिन्, ‘मन्दिर धाएर सन्तुष्टि मिल्दैन। अरुलाई सहयोग गर्न सके थोरै भए पनि सन्तुष्टि मिलिहन्छ। त्यसैले गरीब गुरुवा र समस्यामा परेकाहरूलाई सक्दो सहयोग गरिरहनुपर्छ।’

प्रकाशित मिति: : 2023-08-03 21:20:00

प्रतिकृया दिनुहोस्