महसुल घटाएपछि उपभोक्तालाई राहत

पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल दर घटाएको छ। उपभोक्ताको हितलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको हाे।

पाल्पाकै सबैभन्दा ठूलो खानेपानी आयोजनाका रुपमा रहेको यस संस्थाले थोरैदेखि धेरै पानी उपभोग गर्ने उपभोक्तालाई ध्यानमा राखेर बर्सेनि महसुल दर घटाउँदै आएको छ। आठ युनिटसम्म न्यूनतम दर रु एक सय ७५ यथावत् राखिएको छ।

नौदेखि २० युनिटसम्म (न्यूनतम रकम रु एक सय ७५ सहित) प्रतियुनिट रु ४० घटाएर रु ३० बनाइएको छ। एक्काइस युनिटभन्दा माथि (न्यूनतम रकम रु एक सय ७५ सहित) प्रतियुनिट रु ६३ घटाएर रु ५३ महसुल कायम गरिएको संस्थाका अध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले जानकारी दिएका छन्।

तीन हजार दुई सय धारा जडान गरी घर–घरमा सफा, स्वच्छ र शुद्ध खानेपानी वितरण गर्ने संस्थाको लक्ष्य रहेको छ। शाल तीन हजार नौ सय २३ धारा जडानका लागि उपभोक्ताले शुल्क बुझाएका छन्। अहिले तीन हजार चार सय ९३ धारामा नियमित पानी वितरण भइरहेको छ।

चार सय ३० धारा जडान गर्न बाँकी छ। सात हजार धारा जडान गर्न करिब रु ५० करोड खर्च हुने अनुमान गरिएको संस्थाका कोषाध्यक्ष विष्णुमाया ढकालले जानकारी दिइन्।

प्रकाशित मिति: : 2023-08-02 06:57:00

प्रतिकृया दिनुहोस्