इरानको दक्षिणपूर्वी क्षेत्रमा चार प्रहरीको गोली हानी हत्या

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा पाकिस्तानसँग सीमा जोडिएको अशान्त क्षेत्रमा आइतबार आक्रमणकारीले गस्तीमा गोली चलाउँदा चार जना इरानी प्रहरीको मृत्यु भएको छ।

सरकारी समाचार संस्था आईआरएनएका अनुसार प्रहरीको गस्ती टोलीमाथि भएको ‘आतङ्कवादी’ आक्रमणमा परी तीन जना प्रहरी मारिएका छन्। 

सरकारी टेलिभिजनका अनुसार चौथो व्यक्तिको उपचारका क्रममा पछि अस्पतालमा मृत्यु भएको थियो। आक्रमणको कारण तत्काल स्पष्ट हुन सकेको छैन।

गरिब सिस्तान–बलुचिस्तान प्रान्तमा भएको अशान्तिमा लागुऔषध तस्करी गर्ने गिरोह, बलुची अल्पसङ्ख्यकका विद्रोही र सुन्नी मुस्लिम अतिवादी समूह संलग्न छन्।

गत जुलाई ८ मा जिहादी जैश अल–अदल समूहले गरेको आक्रमणका क्रममा उक्त प्रान्तमा दुई प्रहरी र चार आक्रमणकारीको मृत्यु भएको थियो।

गत मे महिनामा सिस्तान–बलुचिस्तानको प्रान्तीय राजधानी जाहेदानको दक्षिणपूर्वमा रहेको सरवनमा सशस्त्र समूहसँग भएको झडपमा पाँच जना इरानी सीमा रक्षकको मृत्यु भएको थियो।

सरकारी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमण ‘देशमा घुसपैठ गर्न खोज्ने एक आतङ्ककारी समूहले’ गरेको थियो तर उसका सदस्यहरू घाइते भएपछि घटनास्थलबाट भागेका थिए।
 

प्रकाशित मिति: : 2023-07-23 20:45:00

प्रतिकृया दिनुहोस्