गलत समाचार लेख्ने पत्रकारबाट दुई करोड भराउन अदालतको आदेश

बिएल संवाददाता

नयाँ दिल्ली
Prakash Mathema/AFP
Prakash Mathema/AFP

दिल्ली उच्च अदालतले तहलका डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल तथा मेसर्स तहलका डटकमलाई दुई करोड भारतीय रुपैयाँ क्षतिपूर्ति गर्न आदेश दिएको छ।

न्यायाधीश नीना वंशल कृष्णाको इजलाशले सेवा निवृत्त सैनिक अधिकृत एम एस अलुवालियालाई निजहरूबाट उक्त रकम क्षतिपूर्तिस्वरुप भराउने आदेश दिएको हो।

सन् २००१ मा मेजर जनरल अलुवालियाले सैन्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउँदै तहलका डटकमले गोप्य कारबाही (स्टिङ अप्रेशन) गरेर खरिदसम्बन्धी विवरण सार्वजनिक गरेको थियो।

तेहेल्काले सार्वजनिक गरेका भ्रमपूर्ण समाचार सामग्रीबाट आफ्नो मानहानी भएको जिकिर गर्दै जनरल आलुवालियाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए। उनीमाथि प्रतिरक्षा सामग्री आयातमा ठूलो घोटाला गरिएको आरोप लगाइएको थियो।

प्रतिरक्षा उपकरण उत्पादक बेलायती कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर तहलकाका दुई जना पत्रकारले स्टिङ अप्रेशन गरेका थिए। उनले एक शिशी ब्ल्यू लेबल ह्विस्की र दश लाख घुस मागेको श्रव्य सामग्री तहलका डटकमले प्रसारण गरेको थियो।

उक्त सामग्री प्रसारण हुनेबित्तिकै भारतीय सेनाले उनीमाथि छानबिन थालेको थियो। छानबिनबाट प्रसारित श्रव्य सामग्री असत्य भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो।

न्यायाधीश कृष्णाले भ्रामक समाचारबाट पीडितको चरित्र हत्या भएको सार्वजनिक मानप्रतिष्ठामा ठूलो आघात पुगेको, साक्षमा याचनाबाट त्यो आघात नमेटिने भएकाले उक्त रकम क्षतिपूर्ति भर्न आदेश दिएकी हुन्।

प्रकाशित मिति: : 2023-07-22 19:26:00

प्रतिकृया दिनुहोस्