‘प्रचण्ड–चौतारी’मा बिसाउँदैछन् अब विप्लव

जीवन डाँगी

काठमाडाैँ
तस्वीर: प्रदीपराज वन्त

माओवादी आन्दोलनको ‘रिब्रान्डिङ’ चर्चा–चलिरहेका बेला उपमहासचिव वर्षमान र जनार्दनलाई ‘विप्लव’ भयले तर्साइरहेको छ। माओवादी ऐनामा ‘विप्लव’ प्रकट हुँदा उनीहरूसहित अर्का उपमहासचिव शक्तिबहादुरसमेत रन्थनिँदै हिँडिरहेका छन्।


माओवादीको पार्टी जीवनमा फेरि एकपटक फन्को लगाइरहेका छन् विप्लव। ‘प्रचण्डयाम’को त्यो विश्रान्ति–बखततिर पाखा लागेका उनलाई फेरि मूलघर फर्किनु छ। र, प्रचण्ड आफैलाई पनि चाहिएको एउटा पात्र हो– ‘विप्लव’।

युद्ध बिसाएर संसदीय राजनीतिको बाटो समाउँदै गर्दा सल्लाह मिलेन। केही पर सँगसँगै हिँडेका विप्लवहरू, त्यसपछि प्रचण्डका पाइलाहरू पछ्याउन छोडे र आफ्नै बाटो लागे। 

विप्लवलाई फकाउन माओवादी उपाध्यक्ष अर्थात् एकताकाका ‘स्कूले शिक्षक’ कृष्णबहादुर महरा मैदानमा खटिएका छन्।

‘पूर्वमाओवादीहरूको एकतालाई सकारात्मक रुपमा लिनुपर्छ। हामी कम्युनिष्ट र समाजवादी दलहरूबीच एउटा समाजवादी मोर्चा बन्दैछ। यो मोर्चाले देखाइरहेको बाटो मूलतः क्रान्तिकारी, वैज्ञानिक र दीर्घकालीन छ,’ विप्लवनिकट थबाङका युवानेता अमित घर्तीमगर भन्छन्। 

यो राजनीतिमा स्थापित माओवादीका अरू नेताहरूको तुलनामा ‘विप्लव’ भने अलि बेग्लै पात्र हुन्। 

संसद्मा ‘पाइला’समेत टेकेका छैनन्। ‘विप्लव’ले पहिलो संविधानसभाको निर्वाचनमा भाग लिएनन्। उनी समानुपातिक सूचीमा अटाएनन्।

‘विप्लव’ विद्रोही छन्, सत्ता–स्वार्थमा रुमल्लिएका छैनन्। उग्र छन्, बदनाम छैनन्। उनले प्रचण्ड, मोहन बैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा वा महरालाई सत्तोसराप गरेका छन्। तर सत्तामा लागि कहिल्यै मरिहत्ते गरेका छैनन्।

सायद, विप्लवका यी– यस्तै स्वभावका कारण प्रचण्ड बेलाबखत प्रभावित हुन्छन्। जनयुद्धको जग मेटाउँदै रोजाईमा पार्छन्, विप्लव। खस्किदैँ गइरहेको ‘प्रचण्डपथ’को नयाँ यात्री ठानिँदैछन्, उनी।

माओवादीभित्र दमदार प्रभाव राख्नेसक्ने ‘महरा सर’को राजनीतिक यात्रा ओरालोलाग्दो छ। उनी एकपछि अर्को काण्डमा फस्दैछन्। फसाइँदैछन्। तर पनि माओवादी एकतामै जोड दिइरहेका छन्।

पार्टीभित्र कमजोर हुँदै गएका उनी ‘आफ्ना केही पूर्वविद्यार्थी मध्येका’ सबैभन्दा चतुर विद्यार्थी ‘विप्लव’लाई माओवादीमा तान्न खोज्दैछन्। र, प्रचण्डले साथ दिएका छन्। 

विप्लव–महराको सम्बन्ध गुरुचेलाको सम्बन्ध हो। महराले विप्लवलाई स्कूले पुस्तक मात्र पढाएनन्, मार्क्सवाद र माओवाद पनि गतिलैसँग पढाए। त्यसलाई जनयुद्धको यात्राले अझ बलियो गाँठो बनाइदियो। 

‘महरा सर’ले विप्लवलाई मात्र पढाएनन्, उनले वर्षमान पुन, नन्दबहादुर पुन, ओनसरी घर्ती, कुलप्रसाद केसीजस्ता धेरै माओवादी नेता कार्यकर्तालाई पढाए। र, सँगसँगै माओवादी आन्दोलनमा समाहित बनाए।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनपछि बारम्बार उपमहासचिव वर्षमान पुनबाट रोल्पादेखि केन्द्रसम्म पेलिँदै–चेपिँदै आएका महरा अन्ततः विप्लवलाई पार्टीमा भित्र्याएपछि शक्तिशाली हुने दाउमा छन्। विप्लवलाई माओवादीमा तान्न प्रयासरत ‘प्रचण्ड–महरा’का भने आ–आफ्नै स्वार्थ छन्।

‘पूर्वमाओवादीहरूको एकता अहिलेको आवश्यकता हो। समाजवादी मोर्चामार्फत् पाटी एकताको तहसम्मै जानुपर्छ। हामीहरू लड्दै–भिड्दै, सकिँदै गइरहेका छौँ। जसले जे भने पनि हामीहरू पहिलेजस्तो शक्तिशाली छैनौँ,’ महरानिकट एक पोलिटब्यूरो सदस्यले भने, ‘हामीहरू रक्षात्मक अवस्थामा छ। जताततै गुटबन्दी छ। विप्लव दाइको समूह पनि टुटफुटमा रमाइरहेको छ।’

प्रधानमन्त्री प्रचण्डको निर्देशन र ‘महरा–विप्लव’ बीचको पटकपटको संवादपछि समाजवादी मोर्चामा जोडिएका ‘विद्रोही विप्लव’ शान्त र प्रचण्डप्रति नतमस्तक हुँदैछन्।

०००

‘प्रचण्ड’ सिंहदरबारभित्र छन्। सत्ताको चास्नीमा फेरि पनि प्रचण्ड आफ्नै तालमा। दोस्रो तहका शीर्ष–नेताबीच ब्यापक गुटबन्दी फैलिँदैछ। शहरतिर माओवादी हराउँदैछ। ‘रुकुम–रोल्पा’ एकअर्कालाई सराप्दै छन्। ‘वर्षमान–जनार्दन’ तीव्रगतिमा कुदिरहेका छन्।

माओवादी खेमा सकिनै लाग्दासमेत प्रचण्डले हिम्मत हारेका छैनन्, नेता–कार्यकर्तालाई यसरी मन्त्रमुग्ध पार्छन् कि सायद अर्को कुनै नेता छैन। कतिपय माओवादीकै नेताहरूले ‘नेकपा ब्यूँत्याउने’ र ‘समावादी मोर्चा’ बनाउने प्रचण्डशैलीलाई ‘सत्ता र शक्ति जोगाउने प्रचण्डको नयाँ खेल’ भनेका छन्। तर प्रचण्डका यी बाध्यता र आवश्यकता  हुन्।

‘हामीहरूले चार दशकदेखि अध्यक्ष कमरेडलाई झेलिरहेका छौँ। एमालेसँग मिलेर उहाँले बनाएको नेकपा पनि हेर्‍यौँ, अब समाजवादी मोर्चा पनि हेर्दैछौँ। यी सबै भ्रम र सत्तामा रमाइरहने कुराहरू हुन्। अहिलेको मूल कुरा पूर्वमाओवादीहरूको एकता हो,’ उपमहासचिव जनार्दन शर्मानिकट एक केन्द्रीय सदस्यले भने।

सत्ताशक्तिको ‘भ्यूटावर’मा रमाइरहेका ‘प्रचण्ड’ आज पनि ‘सुप्रिमो’को हैसियतमै छन्। तर पार्टीको आकार र प्रकार थप फैलाउन चाहन्छन्। गिर्दै गएको माओवादी साख पुरानै शैलीमा फर्काउन लागिपरेका छन्।

तर, विप्लवलाई माओवादीमा फर्काएर महासचिव पद दिँदैमा ‘माओवादी आन्दोलन’को पुरानो साख नफर्किनेमा ढुक्क छन्, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत।

०००

राजनीतिक रंगमञ्चमा ‘समाजवादी मोर्चा’को नयाँ दुकान थाप्नै लाग्दा प्रचण्डलाई विप्लवको खाँचो छ। अनि, पर्दापछाडि खेलिरहेका छन्, ‘महरा सर’।

माओवादी आन्दोलनको ‘रिब्रान्डिङ’ चर्चा–चलिरहेका बेला उपमहासचिव वर्षमान र जनार्दनलाई ‘विप्लव’ भयले तर्साइरहेको छ। माओवादी ऐनामा ‘विप्लव’ प्रकट हुँदा उनीहरूसहित अर्का उपमहासचिव शक्तिबहादुरसमेत रन्थनिँदै हिँडिरहेका छन्।

गत असार ४ गते घोषणा भएको ‘समाजवादी मोर्चा’ प्रचण्डका लागि विप्लव भित्र्याउने बहाना बन्दैछ। सबैतिरबाट एक्लिँदै गएका प्रधानमन्त्री प्रचण्डका पछिल्ला भरपर्दा सारथी बनिरहेका छन्, उनै ‘विप्लव’। 

गत असार २१ गते क्रान्तिकारी स्ववियु काउन्सिलको भेला प्रचण्ड बोल्दै जाँदा ‘विप्लवमय’ बन्यो। ‘रैथाने माओवादी’ अर्थात् वर्षमान, जनार्दन र शक्तिबहादुरप्रति असन्तुष्टि जनाउँदै उनले विप्लव, पम्फा भूसाल र देवप्रसाद गुरुङको खुलेरै प्रसंसा गरे।

प्रचण्डको मुखबाट विप्लवको प्रंससा सुनेर दिक्क भएका माओवादी नेता–कार्यकर्ताहरू भने असार २२ गते उत्साहित देखिन्थे। कारण– वर्षमान, जनार्दन र शक्तिबहादुर एउटै मञ्चमा अटाए। 

अघिल्लो दिनको प्रचण्डको त्यो सम्बोधनबाट बिथोलिएका माओवादी उपमहासचिव वर्षमान र जनार्दनले मिनेटौँ ‘प्रचण्डबोली’को खण्डन गरे। शक्तिबहादुर खासै बोलेनन्, वर्षमानको तुलनामा जनार्दन भने प्रचण्डप्रति धेरैबेर खनिए। र, आक्रोशित बने।

विप्लवलाई फेरि माओवादीमै फर्काएर महासचिव बनाउन लागेको सूचना पाएपछि उपमहासचिव वर्षमान र जनार्दनले प्रचण्ड–महराविरुद्ध मोर्चाबन्दी कसेका छन्। लामो समयदेखि प्रचण्डलाई साथ दिँदै आएका उपमहासचिव जनार्दन शर्मालाई पछिल्लोपटक पेल्दै गइरहेको भन्दै जनार्दननिकट केन्द्रीय नेताहरूले अर्का उपमहासचिव वर्षमानसँग गुनासो गरेका छन्। 

साथै, तेस्रो तहका नेताहरूले पार्टीभित्र अध्यक्ष प्रचण्डको मनोमानी बढ्दै गएको र बेलामौकामा पार्टी त्याग्दै–फर्किँदै गरेका अवसरवादी नेताहरूलाई सरकार र पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएको असन्तुष्टि पोख्छन्।

‘हामीहरूले आठौँ महाधिवेशनमा अध्यक्ष कमरेडलाई राम्रोसित भनेका थियौँ, महासचिवमा दुईनेता (वर्षमान वा जनार्दन) मध्ये एकलाई बनाउनुपर्छ। तर त्यसो गरिएन, दुई नेताबीच विवाद भएजस्तो देखाइयो अनि तेस्रो ब्यक्ति समातियो,’ जनार्दननिकट ती केन्द्रीय सदस्यले भने।

प्रचण्डले महासचिवमा तेस्रो विकल्प देवप्रसाद गुरुङ खोजेपछि त्यो पदका तीव्र आकांक्षी वर्षमान र जनार्दन झस्किएका छन्। आफूहरूबीच महासचिवका सन्दर्भमा विवाद नहुँदा–नहुँदैसमेत प्रचण्डबाट दुबै नेतालाई पाखा लगाउने काम भएको बताउँछन्, वर्षमान–जनार्दन।

‘यो सन्दर्भ पुरानो भइसक्यो। तैपनि प्रसंग आइहाल्यो, जनार्दन कमरेड र मेरो बीचमा कुनै विवाद छैन। हामीहरू सँगसँगै सहयात्रा गरेका पुराना साथी–साथी हौँ। त्योबेला मैले अध्यक्ष कमरेडलाई भनेको थिएँ, सहमति जुटेन भने जनार्दन कमरेडलाई महासचिव बनाउनुहोस्,’ माओवादी उपमहासचिव वर्षमान पुनले बिएल नेपाली सेवासँग भने।

तर, प्रचण्डले कसैका कुरा नसुनि महासचिव बनाए, देवप्रसाद गुरुङलाई। महाधिवेशन सकिएको महिनौँ भइसक्यो। जनार्दनले चित्त दुखाउँदै कमिटीमा फरक मत राखे। यति हुँदैहुँदै समेत माओवादीभित्र एकखालको बहस कायमै छ। प्रचण्डले किन रुचाएनन्, जनार्दन। किन किनारा लगाउँदैछन्, वर्षमान–जनार्दन।

०००

दशकपछि ‘प्रचण्ड–विप्लव’ फेरि सँगसँगै हुन चाहन्छन्। एकसमय प्रचण्डसँगै हिँडेका विप्लव अहिले वैज्ञानिक समाजवादको अँध्यारो बाटोमा हिँडिरहेका छन्। उनी राजनीतिक र वैचारिक भुमरीभित्र हराइरहेको माओवादी नेताहरू बताउँछन्। विद्रोह र सडकमोर्चामा कमजोर हुँदै गएपछि समाजवादी मोर्चा हुँदै माओवादीतिर फर्किँदैछन्, विप्लव।

पार्टीभित्र वर्षमान र जनार्दनलाई तह लगाउन विप्लवप्रति प्रेम दर्शाइरहेका उपाध्यक्ष महरा भने दोहोरा चेपुवामा परेका छन्। विप्लवलाई पुरानो पार्टीमा फर्काउन खोज्दा वर्षमान–जनार्दनको निशानामा छन्।

‘महरा सरले अध्यक्ष कमरेडको मार्ग पछ्याइरहनुभएको छ। तर उहाँमाथि उपमहासचिवहरूले ब्यक्तिगत तहमा उत्रिएर आक्रमण गरिरहेका छन्। पार्टीलाई मिलाएर लैजाउ, एकता गरौँ, विप्लव कमरेडलाई मूलघरमा फर्काउभन्दा सुन तस्कर भन्दै समाचार लेखाइरहेका छन्,’ महारानिकट एक पोलिटब्यूरो सदस्यले भने।

०००

चुलबुले ‘विप्लव’ युद्धकालदेखि नै आफ्नै पारा अनि आफ्नै समूहमा रमाउने नेता हुन्। चतुर हुन्। रणनीतिका वादशाह हुन्। उनी जहाँ पुग्थे, त्यहाँ आफ्नो ‘क्रान्तिकारी’ छाप छोड्थे। 

युद्धको समय भारतले माओवादी नेताहरूलाई धरपकड गरेपछि तत्कालीन माओवादीको हेडक्वाटर आधारभूमि रोल्पातिरै सर्‍यो। 

प्रचण्डले नरुचाउँदा नरुचाउँदै ‘विप्लव’ पार्टीको राप्ती ब्यूरो इन्चार्ज बने। त्यो कठिन समयमा सुप्रिमो प्रचण्डसहित अन्य शीर्ष नेताहरू लामो कालखण्ड रोल्पा–रुकुमतिरै रहे। विप्लव जीवनमा त्यो एउटा संयोग थियो र ‘हेडक्वार्टर’का लागि उनलाई स्विकार्नैपर्ने बाध्यता।  

विप्लव आफूले लिएको ‘जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सक्ने नेता हुन्’ भन्दै अध्यक्ष प्रचण्डले आज पनि प्रसंसा गर्छन्। माओवादी हेडक्वाटर रोल्पा सरेका बेला आधारक्षेत्रको मोर्चा उनै विप्लवले सम्हालेका थिए। त्योबेला शीर्ष नेतृत्वका लागि रक्षक थिए उनी। तिनै विप्लव आज पनि बदलिएको ‘प्रचण्डपथ’को रक्षापंक्तिमै खडा छन्। र, मूलघरमै फर्किन चाहन्छन्।

‘विप्लव कमरेडको आफ्नै स्वभाव छ। उहाँको हँसिलो र उर्जाशील जीवनशैली सबैलाई मन पर्छ। हिजो होस्, या आज उहाँभित्रको क्रान्तिकारी चिन्तनको अध्यक्ष कमरेड पनि प्रसंसक नै हुनुहुन्छ, त्यसकारण पनि विप्लव कमरेड माओवादीमै फर्किनुपर्छ,’ माओवादी केन्द्रकी शीर्ष नेता जयपुरी घर्ती भन्छिन्। 

प्रचण्ड थाक्दैनन् सायद, यो माओवादीका अरू नेताहरूलाई लाग्छ। थाके पनि नथाकेजस्तो गर्छन्, अनि प्रचण्डलाई लाग्छ सायद थाक्ने छुट उनी आफैलाई छैन। 

प्रधानमन्त्री बन्ने अन्तिम यात्राको ‘अभिष्ट’ सकिँदै गर्दा प्रचण्ड डोरिने भनेको फेरि उही पार्टी नै हो। राजनीतिक जीवनको यो उत्तरार्द्धमा प्रचण्ड चिन्तन अब ‘उत्तराधिकारी’को खोजीमा छ। 

आफै आफै लडेर सक्किइरहेका जनार्दन, वर्षमान अनि शक्ति बस्नेतहरूलाई त्यो ठाउँ दिन प्रचण्ड मन मानिरहेको छैन। र, प्रचण्ड चाहन्छन् विप्लवको ‘इन्ट्री’ ति ‘शक्ति’हरूलाई तह लगाउने एउटा अर्को शक्ति बनोस् माओवादी जीवनमा। 

अनि एउटा अन्योलग्रस्त र अलौकिक सिद्धान्तको अनन्त: बाटोमा रुमलिदैं रुमलिदैं थाकिरहेका विप्लवका लागि त्यो प्रचण्ड–चौतारी अब एउटा सजिलो ओत हुनेछ। 

र, अब बिसाउने छन्, ‘विप्लव’।

प्रकाशित मिति: : 2023-07-22 06:04:00

प्रतिकृया दिनुहोस्