सत्य, सत्य नै हो, भ्रममा बाँच्नुको के अर्थ ! 

BreaknLinks
BreaknLinks

पङ्क्तिकार अमेरिकाको सामाजिक, राजनैतिक र आर्थिक अवस्थाको बारेमा बहस गर्नसक्ने बौद्धिक हैसियत राख्दैन, तर यसै समाजमा बसोबास गर्ने भएको कारण धेरै कुराहरू देखिन्छ, सुनिन्छ र भोगिन्छ, जसलाई नकार्न सकिन्न।

यता बसोबास गर्ने र आफूलाई सबै विषयमा जानकार सम्झिने केही मान्यवरहरूले मलाई नकारात्मक सोचले ग्रस्त र आफ्नै नेपाली दाजु-भाइको मात्रै खोइरो खन्ने गरेको आरोप लगाएका छन्।

एक महामानवले त मलाई आफ्नो पहुँच प्रयोग गरेर यो पोर्टलमा कुनै पनि बिचार प्रकाशित गर्न रोक लगाइदिने कुरा पनि गरेका थिए। मैले आजसम्म कुनै पनि ब्यक्तिविशेषलाई तोकेर उसको हाँसी मजाक गरेको छैन। तर सत्य जे हो उजागर पनि त्यही गर्नुपर्छ भन्ने मेरो मान्यता छ र सदा रहने छ।

अब यो कुरामा कसैलाई आपत्ति छ भने त्यो उसको समस्या हो र त्यस्ता समस्या आफैंले समाधान गर्नुपर्छ, अरुलाई तथानाम गाली गरेर कसैको एउटा रौं पनि झर्दैन। यो लेखमा मैले उठाएका प्रसंगहरूलाई कसैले झुटो प्रमाणित गर्छ भने म अब उप्रान्त लेख्ने छैन तर बास्तविक कुरा हो, किन लेख्नु भन्छ भने त्यो उसको कमजोर मानसिकताको उपज हो। मेरो मतलब हामीले ठाउँ र जमानाअनुसार आफूलाई ‘अपडेट’ र ‘अपग्रेड’ गर्नुपर्छ, सिक्ने र बुझ्ने क्रम कहिले पनि अन्त हुँदैन।

पङ्क्तिकारको एउटा परिचित ट्याक्सी चलाउने काम गर्छन्। बिहानको ६ बजेदेखि रातिको ८ बजेसम्म गाडी हाँक्दा तिघ्राको पछाडि र फिलाको छाला वर्षै हलो जोतेको गोरुको गर्धनजस्तो भएको छ। अर्थात् छाला मरिसकेको छ, तर ऊ आफूलाई सम्पन्न र खुसी देखाउन सामाजिक सन्जालमा किसिम किसिमका फोटोहरू अपलोड गरिरहेको हुन्छ। मेरो बिचारमा अरुलाई आफू खुसी भएको देखाएर नाटक गर्नुभन्दा आफैं भित्रैबाट खुसी हुनु महत्वपूर्ण हो। यो मान्छे जीवनदेखि खुसी छ भनेर कसैले प्रमाणपत्र दिनु पर्दैन।

त्यस्तै एउटा दम्पती छन् उनीहरूलाई ‘मेसिज’ नामको महङ्गो पसलबाट मात्र लुगा किनेर लगाउनुपर्छ, तर पैसा हालेर किन्ने भए कुनै कुरा गर्नुपर्दैन थियो। उनीहरूले अमेरिकी सरकारले उपभोक्तालाई दिएको अधिकारको यसरी दुरुपयोग गरेका छन् कि सुन्दा पनि लाज लाग्छ। हरेक उत्सव तथा समारोहमा नयाँ लुगा किनेर लगाउने तर त्यसको लेबल तथा बिल जतनसाथ राख्ने, जब आफ्नो काम सकिन्छ त्यसपछि आफूलाई मन नपरेको भन्दै फर्काइदिने। त्यस्तै नेपालबाट पाहुना आएको बेलामा किनेर ल्याएको ओछ्यान उनीहरू नेपाल फर्केपछि फिर्ता गरेको पनि पङ्क्तिकारले थाहा पाएको छ।

त्यस्तै अर्का पात्र छन् कुनै प्रसंगबिना नै आफ्नो काठमाडौंमा पाँच तल्ले घर भएको र प्रतिमहिना तीन लाख रुपैयाँ आम्दानी हुने बताउँछन्। प्रथम त जसको जति तल्ले घर भए पनि र जति आम्दानी भए पनि अर्कोलाई कुनै सरोकार हुने कुरा आएन, किनभने अर्कोले त्यो घर र पैसाको उपयोग गर्न पाउने होइन, जब उपयोग गर्न नपाउने कुरामा नै खुसी हुनु छ भने यो संसारमा धेरै सम्पन्न मान्छेहरू छन् उनीहरूको महल जस्तो घर हेरेर खुसी भए भयो। त्यसको तुलनामा मजदुरी गरेर कमाएको पैसाको कुनै औकात नै हुँदैन, त्यसैले मेरो बिचारमा यस्तो कुरा सबैलाई भन्नु उचित होइन। दोश्रो, नेपालमा जत्रो घर भए पनि यता छिँडी (बेसमेन्ट)मा सुत्नु परेको छ, यसरी उपभोग गर्न नपाएपछि त्यो घर हुनु र नहुनुमा के अर्थ रहन्छ ?

त्यस्तै मेरो कमाइ यति र उति भनेर हैरान पार्ने अर्को वर्ग पनि छन्। सबैले आफ्नो क्षमता र योग्यताअनुसार कमाइ गर्ने हो त्यसमा पनि प्रचारप्रसार गर्दै हिँड्नुको कुनै मतलब छैन। यतैका विश्वविद्यालयमा अध्यन गरेर ‘हाइ पेड जब’ गर्नेहरूबाहेक सामान्य काम गर्नेहरूले कमाउने भनेको अधिकतम प्रतिदिन एक सय पचास डलर मात्र हो तर अपाङ्ग मान्छेको स्याहारसुसार गर्ने, निर्माण क्षेत्रमा काम गर्नेहरूको यो भन्दा बढी कमाइ हुन्छ। यस्तो काम भने यति कठिन हुन्छ कि जो पायो त्यो ले एक दिन होइन केही घण्टा पनि गर्न सक्दैन। अब अमेरिकी सरकारको दृष्टिमा ‘लो इनकम’ गर्नेहरूले कमाइकाे के फूर्ति गर्नु ?

अमेरिकालाई मान्छेहरू अवसरै अवसरको देश भन्छन्, त्यस्तो अवसर कसले कति पायो वा केवल भन्नको लागि मात्र भनिरहेका छन् त्यो पङ्क्तिकारलाई जानकारी भएन तर अमेरिकाले सबैलाई बाध्यतावश भए पनि कडा परिश्रम गर्न भने सिकाउँछ। कडा परिश्रम गरेपछि परिणाम पनि राम्रै हुनेमा कुनै शंका छैन। समयको सदुपयोग गरेर काम गर्ने हो भने यो देशमा सबैलाई काम छ, यहाँ बेरोजगार भनेको अल्छी मान्छे मात्र हो।

अन्तमा, मलाई राम्रोसँग थाहा छ यो लेख प्रकाशित भएपछि मैले इंगित गरेको प्रवृत्तिलाई अङ्गीकार गर्ने पात्रहरूलाई रिस उठ्नेछ, र उनीहरू एक पटक मसँग फेरि रुष्ट हुने छन्, त्यस्तो अवस्थाको लागि म मानसिक रुपमा तयार छु। साथै यताका आफन्तको कुरा सुनेर अन्धविश्वासमा पर्ने नेपालमा रहेका पाठक वर्गसँग उता बसेर यताको बारेमा सोच्नु बिल्कुल फरक भएको कारण कुनै धारणा नबनाउनु विनम्र अनुरोध छ।

प्रकाशित मिति: : 2023-07-20 17:30:00

प्रतिकृया दिनुहोस्