एनआरएनए मध्यपूर्वः तीन देशमा एकैदिन नयाँ नेतृत्व चुनिँदै

नेपालीहरू बसाेबास गर्ने सबै मुलुकहरूमा आफ्नो शाखा विस्तार गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघारौँ विश्व सम्मेलन नजिकिँदैछ। 

सम्मेलन आगामी ११ अक्टोबरदेखि काठमाडौंमा हुँदैछ। सम्मेलनमा दशौँ महाधिवेशनमा असन्तुष्टि जनाउँदै अलग्गै गठन गरेका शेष घले पनि आफ्नो समूह लिएर पुन: एकजुट हुने चर्चा छ।

केन्द्रीय सम्मेलनको मिति नजिकिँदै गर्दा अहिले विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्ले अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन्। केन्द्रीय विधानमा जुलाइभित्र राष्ट्रिय समन्वय परिषद्ले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने व्यवस्था छ।

यसैक्रममा मध्यपूर्वमा पनि चुनावी रौनक बढेको छ। साउदी अरब, कतार, यूएई, कुवेत, ओमन, बहराइन र इराकलगायतका मुलुक मध्यपूर्व क्षेत्रमा पर्छन्। 

हालसम्म ओमनले मात्र आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको अवस्था छ। ओमनमा विकल झा नेतृत्वमा पुन: दोहोरिएर आएका छन्।

आइसीसीले तय गरेको निर्वाचन तालिका अनुसार २१ जुलाइमा कतार, बहराइन र कुवेतमा एकै दिन निर्वाचन हुँदैछ।

कतारमा निर्वाचन संयोजकको जिम्मेवारी क्रान्ति सिंहले पाएकी छन् भने मध्यपूर्व क्षेत्रीय उपसंयोजकलाई पर्यवेक्षकमा जिम्मा दिइएको छ।

यस्तै, कुवेतमा निर्वाचन गराउने जिम्मेवारी सुजन केसीलाई दिइएको छ भने मध्यपूर्व क्षेत्रीय उपसंयोजक अमृत चाम्लिङ राईलाई पर्यवक्षक बनाइएको छ।

त्यसैगरी, बहराइनमा चुनाव गराउन कमल श्रेष्ठलाई संयोजक तोकिएको छ भने मध्यपूर्व क्षेत्रीय उपसंयोजक लाल प्रसाद पुनलाई पर्यवक्षकको जिम्मेवारी दिइएको छ।

यस्तै, साउदी अरब र इराकमा २८ जुलाइका लागि निर्वाचन मिति तय भएको छ। साउदीमा मध्यपूर्व क्षेत्रीय संयोजक राजेन्द्र अर्याल (जोन)ले निर्वाचन गराउने अधिकार पाएका छन् भने पर्यवक्षकमा एनसीसी साउदी अरबका उपाध्यक्ष भक्त वीर राइलाई पर्यवक्षक बनाइएको छ।

इराकमा निर्वाचन गराउन राजीव कुमार थिङलाई संयोजक बनाइएको छ भने पर्यवक्षकको जिम्मा निर्वतमान अध्यक्ष लालकाजी गुरुङलाई दिइएको छ।

मध्यपूर्व क्षेत्रको अन्तिममा यूएईमा महाधिवेशन हुँदैछ। यूएईमा रमेश श्रेष्ठलाई निर्वाचन संयोजक तोकिएको छ भने राजु केसीलाई पर्यवक्षकमा राखिएको छ।

प्रकाशित मिति: : 2023-07-14 22:14:00

प्रतिकृया दिनुहोस्