एनआरएनए बेल्जियम हाँक्ने दौडधुपमा धमला

गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा यतिवेला चुनावको गर्मी निकै बढेको छ।

जुलाइभित्र सबै राष्ट्रिय समन्वय परिषद्लाई अधिवेशन सकाएर नयाँ नेतृत्व चयन गर्नुपर्ने केन्द्रले निर्देशन दिइसकेको छ।

युरोपेली मुलुक बेल्जियम पनि यतिबेला चुनावी माहोलले तातेको छ। एनसीसी बेल्जियमको निर्वाचन १६ जुलाइमा हुँदैछ।

निर्वाचन समितिका अनुसार बेल्जियममा अध्यक्षबाहेक अन्य सबै पद सहमतिमा टुंगाइएको छ। अध्यक्ष पदमा पनि सहमति जुटाउन निर्वाचन समितिले गरेको प्रयासले भने सार्थकता पाउन सकेन्।

यसअघि अध्यक्ष पदमा ४ जनाले आकांक्षा जनाएका थिए। तिर्थराज धमला, सिता सापकोटा, अनुजा प्रधान र नारायण सिलवालले नेतृत्वमा दावी गरेका थिए। तर, सिलवाल भने अन्तिममा धमलालाई समर्थन गर्दै चुनावी मैदानबाट पछि हटेका छन्।

अब तीन जनाबीचमा चुनाव हुने देखिन्छ। तीनमध्ये धमला र सापकोटा बलिया प्रतिस्पर्धी मानिन्छन्।

धमला वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन्। यसअघिको कार्यकालमा महासचिव भएर काम गरेको अनुभव पनि उनीसँग छ।

धमला अध्यक्षमा आफ्नो उम्मेदवारी स्वभाविक भएको बताउँछन्। ‘उपाध्यक्षपछि जाने भनेको स्वतः अध्यक्षमा नै हो’, धमला भन्छन्।

अहिलेसम्म संस्थामा पाएको जिम्मेवारी इमान्दारी पूर्वक निभाएकोले अध्यक्ष बन्ने आधार नै आफ्नो योगदान र इमान्दारिता भएको धमलाको भनाइ छ।। ‘लामो समय संस्थामा काम गरेको छु। सामाजिक कार्यमा मैले पुर्‍याएको योगदानको मूल्यांकन अवश्य हुनेछ,’ उनले भने।

एनआरएनए बेल्जियमलाई थप गतिशील बनाउन प्रभावकारी कार्य दक्षता देखाउन सक्ने अनुभवी नेतृत्व चाहिएको बताउँदै त्यसका लागि आफू परिपक्क भइसकेको धमलाको दावी छ।

‘मेरो संस्थाप्रतिको इमान्दारीता र निस्वार्थ सक्रियतालाई यहाँका नेपालीले पक्कै बुझ्नु भएको छ,’ उनले भने, ‘योजनासहित आएको छु। नेतृत्व हाँक्न सबै हिसाबले तयार छु।’

प्रकाशित मिति: : 2023-07-12 17:24:00

प्रतिकृया दिनुहोस्