उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर
फलेको बृक्षको हाँगो नझुकेको कहाँ छ र…
कवि शिरोमणी लेखनाथ पौड्यालका कविताका पंक्ति एकाएक सम्झनामा आइदिन्छन्, जब भेट हुन्छ प्रा.डा. मोहनप्रसाद जोशीसँग। बाल्यकालमा चित्रकारितामा खुब रुचि राख्थे उनी। पढ्न खासै मन लगाउँदैन थिए। एक दिन कक्षा छ मा अध्ययन गर्ने ताकाको कुरा हो, भोलिपल्ट अन्तिम परीक्षा थियो तर उनको किताब पढ्नतिर चासो नै थिएन। छोराको त्यो अवस्था देखेर बुवा डा. तारा प्रसादलाई दिक्क लागिरह्यो। केही नभनी बुवाले तीन घन्टा लगाएर छोरालाई पढ्नुपर्ने कुराको सारांश तयार गरिदिनुभएछ।
बुवाको दिक्दारीले छोराको मनमा छोयो। त्यसपछि उनी रातभर पढाइमा तल्लीन रहेर भोलिपल्ट परीक्षामा सामेल भए। परीक्षाको नतिजा आउँदा थाहा भयो, उनले सबैभन्दा अब्बल नम्बर ल्याएछन्। त्यसपछि छोराको पढाइप्रति बुबाले दिक्दार हुनुपर्ने दिन कहिल्यै आएन। बुवाले गरेको दुःख र पढाइ लेखाइले पनि डा. मोहनमाथि प्रभाव परिरह्यो।
११ वर्षको उमेरमै आमाबुवा गुमाएर टुहुरो बनेका उनका बुवा त्यतिबेलै डडेल्धुराबाट काठमाडौं आएका हुन्। काठमाडौं आफन्तकोमा बसेर पढेका बुवाले पछि भारतमा गएर उच्च शिक्षा हासिल मात्र गरेनन्, त्रिविको नेपाली विभागका विभागीय प्रमुखदेखि डिनसम्म बन्न पुगे। नेपाली विभाग प्रमुख हुँदा त्यतिखेरको पाठ्यक्रम निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न पुगे। जो प्रशिद्घ समालोचक पनि थिए। प्रा.डा. बासुदेव त्रिपाठीलगायत थुप्रै विद्धानहरू उनैका शिष्य थिए।
काठमाडौँमै घरजम गरेर बसेका बुवाको जन्मथलो अर्थात् पुर्ख्यौली भूमिमा उनी आफ्नी जहानलाई लिएर दुई पटक पुगे। उग्रतारा मन्दिरमा पुगेर दर्शन गरे। उक्त मन्दिरमा पुग्दा बुवा सम्झिए। विगतमा बुवाले भनेका कुरा सम्झिए। डा. मोहन त्यो विगत सुनाउँछन्, ‘बुवाले भनिबक्सन्थ्यो, म उग्रतारा मन्दिरकै प्राङ्गणमा खेल्थेँ। मन्दिर नजिकै थियो हाम्रो गाउँ।’
बुवाले भन्नुभएको त्यो कुन गाउँ थियो, उनले अझै थाहा पाउन सकेका छैनन्। पहिलो पटक उग्रतारा मन्दिर परिसरमा पुग्दाको घटना निकै भावुक मुद्रामा सुनाउँछन् उनी, ‘म र मेरो परिवार मन्दिर प्राङ्गणमा हिँड्दै थियौँ। एकाएक बाज (पन्छी) आएर मेरो टाउकोमा बस्यो। म चुपचाप अवलोकन गरिरहेँ। झण्डै दश मिनेट जति त्यो पन्छी टाउकोमा बसि नै रह्यो। त्यतिबेला मेरी श्रीमतीले भनिन्, ‘तिम्रो बुवा पन्छीको रुप धारण गरी आउनुभएको हुनुपर्छ। तब म निकै भावुक बनेँ।’
सामान्य जीवन उच्च विचारको मर्मलाई आत्मसात गरेर हिँडिरहेका डा.जोशीले २०४० सालमा भारतको अलाहाबादबाट चिकित्सा शास्त्रमा एमबीबीएस गरे। २०४६ सालमा भारतको नयाँ दिल्लीबाट एमडी गरे र २०५० सालमा स्कटल्याण्डबाट चिकित्सकीय औषधि विज्ञान विषयमा एमएस्सी गरे। आफ्नो छुट्टै चिनारी बनाउन सफल डा. जोशी एक कुशल प्रशासक, अनुसन्धानकर्ता, नवप्रवर्द्धकका साथै पछिल्लो समयमा कवि तथा गीतकारको रुपमा समेत परिचित छन्। उनका गीतहरूको एल्बम प्रकाशित भएको पनि झण्डै एक दशक बितिसकेको छ। जुन गीतहरू न्ह्यू बज्राचार्यको संगीत, रामकृष्ण ढकाल र भट्टराईको सुमधुर स्वरमा स्वरवद्ध भएका छन्।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा विभागीय प्रमुख र सहायक डीनसमेत रहेका डा. जोशी शिक्षण अस्पताल महाराजगञ्जलगायत केही अस्पतालमा २० वर्षसम्म निरन्तर रुपमा सेवारत रही २०६० सालमा संयुक्त राज्य अमेरिका पुगेका थिए। जहाँ उनी स्वास्थ्य विज्ञान व्यवस्थापनसम्बन्धी औषधी प्रणालीगत सवलीकरणको अन्तर्राष्ट्रिय कार्यक्रमसँग वरिष्ठ प्रविधिज्ञका रुपमा कार्यरत रहे।
हाल उनी विश्वका विभिन्न मुलुकमा एन्टिबायोटिक औषधिका बारेमा अध्ययन अनुसन्धानसँगै तालिम गोष्ठी सञ्चालन गर्दै यात्रारत छन्। कतै कन्सल्टेन्टका रुपमा त कतै प्रशिक्षकका रुपमा अनि कतै वरिष्ठ प्राविधिज्ञका रुपमा विदेशी मुलुकमा यात्रारत रहेको पनि निकै लामो समय भैसक्यो। पछिल्लो समय प्रतिजिवाणिक प्रतिरोधिकता, चिकित्सकीय औषधि विज्ञान, स्वास्थ्य शिक्षा आदि क्षेत्रमा संयुक्त राज्य अमेरिकालगायत विश्वका झण्डै दुई दर्जन जति मुलुकमा विशेषज्ञको रुपमा काम गरिरहेका छन्।
यसै सन्दर्भमा उनी बताउँछन्, ‘१३ वटा मुलुकमा एन्टिबायोटिक रेजिस्टेन्स (किटाणुहरूमा प्रतिरोधित क्षमता) को समस्याका बारेमा काम गरिरहेको छु। जहाँ ग्लोवल होल सेक्युरिटी एजेन्टाका विषयमा काम भइरहेको छ। यसका अलावा अन्य चार पाँच वटा मुलुकमा समेत मैले सहयोग पुर्याइरहेको छु।’
कामको चाप छ। ६६ वसन्त पार गरिसकेको ज्यान मेसिन जस्तै खटिरहेको छ। त्यही शरीर र नामले विश्वमा नेपाल चिनाउन मद्दत गरिरहेको छ। विज्ञानले दिनप्रतिदिन फड्को मारिरहेको परिवेशमा उनी भने विज्ञानसँगसँगै बाँडिरहेका छन् आध्यात्मिक चेतना। डा. जोशी आत्मखोज र मानव धर्मका निमित्त आध्यात्म अतिआवश्यक भएको ठान्दछन्।
विगतमा आध्यात्मिक गोरेटोमा यात्रारत हाम्रा कैयौँ आदर्श पात्रहरू छन्। बुद्ध, जिसस, महावीरलगायतका थुप्रै महान शन्तहरूले पछ्याएका हुन् त्यही मार्ग। पछिल्लो समय ती मुक्तात्माहरूले पछ्याएको मार्गमा विभिन्न धार्मिक बुट्टा कुँदेर आफ्नो अस्तित्व खोज्ने धर्मका केही ठेकेदारहरूले धार्मिक संस्थाको जग बसाल्न थाले। धर्म र आध्यातमामा निकै अन्तर छ। जुन कुरा सबैले बुझ्न सकिरहेका छैनन्।
आध्यात्मिक मार्ग त्यो मार्ग हो, जहाँ मान्छेले आफूलाई खोज्छ। आफूभित्रको चैतन्य खोज्छ। शान्ति खोज्छ। र, मानव कल्याणका लागि काम गर्छ। अहिलेको पुस्ताले ती मुक्तात्माहरूको ज्ञान र सीपलाई बुझ्नु त परै जाओस् तिनले देखाएको मार्गलाई समेत अनुसरण गर्न सकेको देखिँदैन। समाजमा आध्यात्मिक संस्कारलाई स्थापित गर्न सकिएको छैन।
भाैतिकवादी बन्दै गइरहेको मान्छे सुखी हुन सकेको छैन। उसै पनि अधैर्य र अन्तुष्ट प्राणीका रुपमा हेरिने मान्छेलाई भौतिक सुख सुविधा जति नै हुँदा नि अपुग नै भइरह्यो। कहिल्यै अघाउन सकेन मान्छे भौतिक सुख सुविधाले। शान्ति प्राप्तिको एउटा मात्रै उपचार छ, एउटै मार्ग छ त्यो हो आध्यात्मिक गोरेटो। त्यही गोरेटोले सिकाउँछ अहंकार त्याग्न, त्यसैले सिकाउँछ कर्म गर्न र भावनात्मक विकासमा वृद्धि गर्नुका साथै परोपकारी बनाउन।
पछिल्लो समय केवल स्वार्थको मार्गमा दौडिरहेको मान्छे नितान्त एक्लो छ। जतिसुकै आर्जन गर्दा पनि जतिसुकै उच्च ओहदामा पुग्दा पनि छैन सन्तुष्ट हुन सकेको। ऊ झनझन दुखी बन्दै गइरहेको छ। यसै सन्दर्भमा डा. जोशी सुनाउँछन्, ‘मान्छेले आफूलाई खोज्न सक्नुपर्छ। प्रकृतिप्रेमी बन्न सक्नुपर्छ। प्रकृति हामी आमा हुन्। प्रकृतिप्रति कृतज्ञ हुन सक्नुपर्छ। अनि चैतन्यलाई जोगाउन सक्नु पर्दछ।’
डा. जोशीका अनुसार विज्ञान बहिर्मुखी कुरा हो। त्यो पनि चाहिन्छ तर हामीभित्र पनि विज्ञान छ, ज्ञान छ। जो अन्तरमुखी छ। जसको सदुपयोग गरिरहेका छैनौं हामी। यसलाई चटक्कै बिर्सिने हो भने जीवन कुरुप बन्न जान्छ। जीवनलाई सन्तुलित र सुन्दर बनाउन विज्ञान र आध्यात्माको सन्तुलन मिलाउन सक्नुपर्छ।
जीवनको उत्तरार्धका दिनहरू नेपालमै बिताउने सोच बोकेका डा. जोशीलाई संसारको सबैभन्दा मीठो खाना नेपाली खाना नै लाग्छ। उनी यहाँको माटो र पानीमै मिठास पाउँछन्, ‘हिजोआज भात खान्नँ। गहुँको दलिया खान्छु। प्रसस्त मात्रामा दाल अनि साग तरकारी खान्छु।’
कवितामा गहिरो रुचि भएका डा. जोशीको १२ वर्ष अगाडि नेपाली भाषाका कविताहरूको सङ्ग्रह 'कहाँ छ ठाउँ' प्रकाशित भएको देखिन्छ। जसभित्र ७८ वटा कविताहरू संग्रहित छन्। उक्त कविता सङ्ग्रहमा उनी ठाउँठाउँमा आध्यात्मिक विचार पोखिरहेका देखिन्छन्। जहाँ दर्शनको पाटो त्यत्तिकै सशक्त रुपमा देखापरेको छ।
उनले हालसालै मात्र बजारमा ल्याएका छन् अंग्रेजी भाषामा लेखिएको एक सय कविताहरूको सङ्ग्रह (A hundred Flowers to Awareness and Deth)। डा. जोशीका अनुसार यो किताबभित्रका ती सबै कविता विगत दुई वर्षभित्रमा लेखिएका हुन्। ‘मेरो लेखनतिरको सोच त थिएन, तर याद भएदेखि जीवन के हो? भनेर बुझ्ने र त्यसको अर्थ खोज्ने जस्ता कुरामा चासो लिन थालेँ। फलस्वरुप यतातिर रुचि बढ्दै जान थाल्यो। भावना प्रस्फुटन भैदिँदा कुनै सोच बिना आफैँ लेखियो। अझै भन्नुपर्दा म प्रकृतिप्रति कृतज्ञ छु। यी कविता प्रकृतिले मलाई माध्यम बनाएर लेखेको हो जस्तो लाग्छ,’ उनले भावुक हुँदै बताए।
उनका कविताहरूमा एकातिर विचारका अन्तर लहरहरू छन् भने अर्कातिर आध्यात्मिक र दर्शनको सुन्दर गोरेटो स्पष्ट रुपले देख्न सकिन्छ। उनी आफैँमाथि व्यङ्ग्य गर्दै मानव जगतलाई सुनाइरहेका हुन्छन्। उनका कविताहरू कतै बाटो बिराइरहेको मानवप्रति व्यङ्ग्यात्मक रुपले गहिरो भाव बोकेर देखापरेका छन् भने कतै यन्त्रमुखी मानवका बारेमा बहस गरिरहेका छन्। खासमा उनका कवितामा मानव प्राणी अहंकार बोकी भौतिक सुखभोगका निम्ति सदा दौडिरहेको छ। यही दौडलाई मनन् गरी कवि जोशी ठाउँठाउँमा आत्मसमीक्षा गर्दै भनिरहेका हुन्छन्:
न उक्लेँ माथि छतमा
चाँदनी रातमा
न रुझेँ म वर्षातमा
रुख विरुवाको साथमा
न पल्टिए केहीबेर प्रकृतिको साथमा
हिँजोको मान्छे आफ्ना लागि काम गर्थ्यो। तर आजको मान्छेका लागि काम गर्ने विभिन्न उपकरणहरू छन्, आधुनिकताको देखासिकीमा मान्छे दिन प्रतिदिन झनझन् दुखी बन्दैछ। उसले आफ्नै आँखा अगाडिको सौन्दर्यपान गर्न सकिरहेको छैन। कृत्रिम सौन्दर्यका पछि दौडिरहेको छ। कुनै पल मृत्युबोध गर्न सकिरहेको छैन। आफूभित्रको चेतना, होस, जागरण चैतन्य कुनैको खोजी गर्न सकिरहेको छैन। यिनै कुराहरूले मान्छेलाई आत्मस्मरणमा मद्दत पुर्याउँछन्। अभ्यस्त तुल्याउँछन्। अहँ, मान्छे त्यो मार्गमा गइरहेको छैन। त्यसैले कविले कविताका माध्यमबाट यसरी भाव दर्शाइरहेका हुन्छन्।
न रोकेँ मैले आफूलाई
हेर्न लामो इन्द्रधनु
सुर्यास्त देख्दा कुनै दिन
रोकिएन मेरो मनु
गढेको देख्छु छातीभित्र
आधुनिकताको तीखो धनु
भौतिक विकासले फड्को मारिरहेको पछिल्लो समयमा भावनात्मकरूपले मान्छे अति नै कमजोर बन्दै गइरहेको छ। केवल भौतिक उन्नतिले मात्र मानव जगतको कल्याणको मार्ग फैलिनेवाला छैन। सुन्दर र समथल बन्नेवाला छैन। त्योसँगै आध्यात्मिक विकास पनि जरुरी छ। त्यसैले विश्वव्यापीरूपमा आध्यात्मिक चेतनाको थालनी हुनु जरुरी देख्छन् कवि जोशी।
डा. जोशी बाहिरबाट हेर्दा जति सरल लाग्छन्, त्यति नै सरल उनको भित्रि पाटो छ, त्यतिकै सरल अनि भावपूर्ण छन् उनका कविता पनि। कुनै बनावटी छैन। कुनै किसिमको अहंम छैन। विश्वजगतमै ख्याति कमाइरहेका उनी आफूलाई सामान्य मान्छे ठान्छन् र सजिलै भनिदिन्छन्, ‘काम त थुप्रै गरेँ, पब्लिकेशन पनि थुप्रै छ। प्राविधिक रुपमा निकै नै साउण्ड भएर काम गरेँ। तर, त्यो सब सामान्य हो। एकदमै अविस्मरणीय र विलक्षण चाहिँ हैन।’
यो दुनियाँमा एकातिर आफूलाई आफैं विद्वान घोषणा गर्दै हिँड्ने, आत्मश्लाघीहरूको जमात छ, अर्कोतिर डा. जोशी जस्ता विद्वानहरू म केही हैन भनेर हिँडिरहेका छन्। डा. जोशी यहाँका मै हुँ भनेर फाइँफुट्टी लगाउने अहंकारी र आत्मश्लाघीहरूका लागि चेतना र बौद्धिकताको दरिलो झापड पनि हुन्।