थुक्क गरिबी!

BreaknLinks
BreaknLinks

कठै!
पट्ट पट्ट फुटेर
रक्ताम्मे
उ...त्यो बबुरो बच्चाका
कुर्कुच्चाले
मैनको मलम खोजिरहेछन्
कपडाको नाममा कलङ्क
झुत्रा झुत्रा कपडामुनिको
लाजले
एकबित्ता इज्जत खोजिरहेछ
चमजुम्राले छपक्क
बोझिल परेलामुन्तिरका
निस्तेज आँखाले
सारङ्गीको पेटजस्तै खोक्रो पेट
अलिकता उकास्ने
असफल आशाले
जुठेल्नो वरिपरि
सीता खोजिरहेछन्
दिशाहीन
गन्तव्यविहीन
केवल
अनादि
अनन्त
भोक-तिर्खाको भारी बोकी
उखुको भारी लादेर
दौडिरहेको ट्रकका पछि
दौडिरहेछन् ती घाइते खुट्टाहरू
कहिले
केही आफ्नै प्रतिबिम्बहरूलाई
साथमा लिएर
पाखाहरूमा
पखेराहरूमा
काँडाका जुत्ता पहिरेर
अर्चल, अमला, ऐंसेलु, चरिअमिलो 
मकरकाँची आदि जिन्दगी
खोजिरहेको हुन्छ
छ्यापछ्याप्ती
अभावका मारले
चट्टान बनेको शरीरलाई
चट्टानकै ओछ्यानमा पल्टाइदिन्छ
अक्कास ओढाएर
न अतीत काट्नु छ
न भविष्य रोप्नु छ
बस् जे छ
वर्तमान छ
अनि छ
आजको 
मीठो र गहिरो निन्द्रा
सपना?
थकाइले चुटेको मस्त निन्द्रामा
सपना देख्दैन
देखोस् तापनि
फरक पर्दैन
गरीबका सपनाको के अर्थ!
टुहुराका कल्पनाको के मूल्य...!

प्रकाशित मिति: : 2023-07-01 15:56:00

प्रतिकृया दिनुहोस्