जबज: नेपाली क्रान्तिको माैलिक कार्यक्रम

BreaknLinks
BreaknLinks

९० को दशकमा विश्व कम्युनिस्ट आन्दोलनले धक्का बेहोर्नु परेको थियो। यो धक्काले पहिलो समाजवादी क्रान्ति भएको मुलुक सोभियत मोडेलको समाजवाद असफलता र सोभियत संघ विघटन भयाे। यसले अक्टोबर समाजवादी क्रान्तिपछि सुरु भएको एउटा नयाँ युगको चरण नै अन्त्य गर्‍यो।

परिणाम विश्वको राजनीतिक शक्ति सन्तुलनमा प्रतिकुलता सृजना भयो। मार्क्सवादको सान्दर्भिकता तथा समाजवादको भविष्यमाथि पुँजीपति वर्गले ठूलो आक्रमण गर्‍यो। इतिहासको अन्त्य र विचारको मृत्यु जस्ता भविष्यवाणी भैरहेका बेला क्रान्ति र समाजवाद निर्माणको बाटो पहिल्याउन जरुरी थियो।

यही ऐतिहासिक आवश्यकता पूरा गर्न र नेपाली क्रान्तिको बाटो चीनियाँ, रुसी वा भारतको जस्तो होइन, आफ्नै मुलुकको प्रकृति अनुकूलको हुनुपर्छ। नेपाललाई पनि विश्व कम्युनिस्ट आन्दोलनमा परेको असरबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई जोगाउन र कम्युनिस्ट पार्टीलाई बचाउने सन्दर्भमा जननेता कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनबाद (जबज) प्रतिपादन गर्नुभयो।

तत्कालीन समयमा एउटा मौलिक कार्यक्रममा अगाडि सारिएको जबज झण्डै २२-२३ वर्षपछि नेकपा एमालेले आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा अगाडि सारेको कुरा उल्लेख गर्न चाहन्छु।

विश्वभर कम्युनिस्ट आन्दोलनले धक्का खाएको बेला नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय बन्दै सरकार सञ्चालनको तयारीमा थियो। नेपाली सन्दर्भमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका रूपमा अभ्यास प्रारम्भ भयो। यही दस्ताबेजलाई नेपाली जनताले अङ्गिकार गर्दै २०५१ सालमा सबभन्दा ठूलो दलको रूपमा अनुमोदन गरे। क्रान्तिपूर्व नै सरकार सञ्चालन गरेर लोकप्रिय पार्टीको रूपमा स्थापित हुनका साथै कम्युनिस्ट पार्टी र नेताहरू लाई बदनाम गर्न लगाइएका तमाम आरोपहरु खण्डितसमेत भए।

नेपालको राजनीतिक विचार र सिद्धान्तको क्षेत्रमा जनताको बहुदलीय जनवाद जबजको महत्वपूर्ण स्थान रहेको छ। कुनै पनि विचार, कार्यक्रम, सिद्धान्त वा योजनाहरु शून्यबाट जन्मिदैनन्। त्यसका पछाडि पनि लामो मानव समाजका इतिहास, अनुभव र प्रयोगहरुको ठूलो महत्व रहेको हुन्छ। तसर्थ, नेकपा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनद्वारा अत्यधिक बहुमतले पारित गरेको विचार जबजका आधारहरु यस प्रकार छन्।

१. नेपालको कम्युनिस्ट आन्दोलन नै स्थापना कालदेखि नै प्रजातान्त्रिक माग र नागरिक हक अधिकारको आन्दोलनका साथसाथै कम्युनिस्ट पार्टी जन्मेको थियो।

२. सन् १९८० पछि विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेका समस्याहरु र विश्वका कैयौं सशस्त्र क्रान्तिकारी आन्दोलनमा देखा परेका शिथिलता, बर्लिनको पर्खाल ढल्नु, जर्मनको एकीकरण, पूर्वी युरोपका साम्यवादी सत्ताको शृङ्खलाबद्व अवसान, सोभियत संघको विघटन, चीनमा तेनमियान चोकको विद्रोह जस्ता बाहिरिया कारणले सृजना गरेको परिस्थिति स्मरण रहोस् ती मुलुकहरूमा प्रजातान्त्रिक प्रक्रिया तथा संरचनाहरु थिएनन्।

३. झापा आन्दोलन (२०२८) पछि विकसित भएको नेकपा माले आफ्ना उग्रवादी कमजोरीहरुलाई सुधार्दै २०३७ सालमा जनआन्दोलन लाई संघर्षको प्रमुख रुप मान्नु।

४. २०४३ सालमा पञ्चायती निर्वाचनमा जनपक्षीय हस्तक्षेपको नीति लिनु वा जनपक्षीय उम्मेदवार खडा गर्नु।

५. (२०४६ भाद्र )सालमा चौथो महाधिवेशनबाट बहुदलीय प्रतिस्पर्धालाई आत्मसात गर्दै यो विचारकाे शृङ्खलाको औपचारिक विकास प्रक्रिया सुरु भयो (२०४९ माघ) पाचौं महाधिवेशनबाट ठोस र मुर्तरुप लियो।

त्यस्तै ४३ वर्ष लामो कम्युनिस्ट आन्दोलनका अनुभव (२००६-२०४९) आन्तरिक प्रेरणा हुन्। जनताको बहुदलीय जनवाद २०औं शताब्दीमा भएका वैश्विक संघर्ष, तनाव, द्वन्द, अभ्यास र अनुभवको जगबाट उदय भएको नविन प्रगतिशील नेपाली मौलिक क्रान्तिको जबज एमालेको पाँचौँ महाधिवेशनमा पार्टीको मौलिक कार्यक्रम भनिएको थियो।

छैटौं र सातौं महाधिवेशनले सिद्धान्तको रूपमा स्वीकार गर्नुका साथै आठौं महाधिवेशनबाट मार्गदर्शन सिद्धान्तको रूपमा अंगिकार गर्दै आएका छौं। कानुनी राज्य सिद्धान्तमा आधारित जनताको बहुदलीय जनवादले मात्र हामीलाई आफ्ना गल्तीहरु सुधार्न तथा जनताबीच पार्टीको छवि सुन्दर बनाउन प्रेरणा दिन्छ। जुन शासनको हिसाबले साम्राज्यवाद र सामन्तवादको बिरोधि हुन्छ। महाधिवेशनले स्वीकार गरेका कार्यक्रमका मुख्य विशेषताहरु यस प्रकार छन्।

१.संविधानको सर्वाेच्चता
२. बहुलवादी खुला समाज
३.शक्ति पृथकीकरणको सिद्धान्त
४. मानव अधिकारको रक्षा
५. बहुदलीय प्रतिस्पर्धाको प्रणाली
६.आवधिक निर्वाचन
७. बहुमतको सरकार, अल्पमतको विपक्ष
८.कानुनको शासन,
९.जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, 
१०. विदेशी पुँजी र प्रविधि
११. क्षतिपूर्ति
१२. विदेश नीति
१३. नेतृत्व र अधिनायकत्व

मार्क्सवाद स्वयम् एउटा गतिशील विज्ञान हो। यदि मार्क्सवादी सिद्धान्तले जनताको कल्याणका लागि काम गर्न सकेन भने जनता स्वयम् मार्क्सवादको विपक्षमा उभिन सक्छन्। जनताले मार्क्सवादको रक्षाको लागि ज्यान दिने होइन। मार्क्सवादले जनताको हितमा काम गर्नुपर्छ।

जनताको बहुदलीय जनवाद पनि नेपाली जनवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त भएकाले परिस्थितिअनुसार त्यसमा परिमार्जन गर्न जरुरी हुन सक्छ। जबजलाई अझ उन्नत र समृद्ध पार्नुपर्ने आवश्यकता महशुस हुन सक्छ। त्यसैले जबजलाई पनि गतिशीलताको रुपमा बुझ्नुपर्दछ। तर यसको मुल विशेषताले जनवादी व्यवस्था स्थापना गर्न र सुदृढीकरणका साथै समाजवाद निर्माणका लागि समेत मार्ग निर्देशन गरेको छ।

प्रकाशित मिति: : 2023-06-29 15:58:00

प्रतिकृया दिनुहोस्