कृषकका गोलभेँडा बजार पुर्‍याइदिँदै कटारी नगरपालिका

file photo
file photo

उदयपुरको कटारी नगरपालिकाले नगरका कृषकहरूले उत्पादन गरेको गोलभेँडा बजारमा पुर्‍याइदिने गरेको छ।

नगरको वडा नं ११ मा उत्पादित गोलभेँडाले बजार नपाएपछि नगरपालिकाको सवारी साधन मिनी ट्रकले कृषकहरूको गोलभेँडा बजारसम्म पुर्‍याइदिने गरेको हो।

नगरपालिकाको मिनी ट्रकले कोशी प्रदेशका साथै बागमती प्रदेशको सिन्धुली, मधेस प्रदेशको सिरहासम्म लगेर कृषकहरूको गोलभेँडा बिक्री गरिदिने गरेको छ। ‘नगरपालिकाले ढुवानी गरिदिएर बजारसम्म पुर्‍याइदिन थालेका छौँ’, नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले भने, ‘कृषकहरूको उत्पादनलाई बजार नपाएपछि नगरपालिकाले नै बजारसम्म पुर्‍याउन थालेका हौँ।’

कटारी नगरपालिका–११ मा वडाका एक सय ५० परिवारले गोलभेँडाको खेती गरेका छन्। वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा चार सय रोपनीभन्दा बढी जग्गामा खुलारूपमा र चार सय टनेलमा गोलभेँडा उत्पादन गरिएको छ। उक्त वडामा मात्रै यस वर्ष ५० टनभन्दा बढी  गोलभेँडा उत्पादन भएको  गोलभेँडा सङ्कलन केन्द्रका नुजराज कार्कीले जानकारी दिए।

कार्कीका अनुसार केन्द्रले जस्ताको छानो भएको भवनमा गोलभेँडा सङ्कलन गर्ने गरेको छ। सङ्कलन केन्द्रमा राखिएको गोलभेँडा नगरपालिकाले कटारी बजार, सिन्धुलीको दुधौली, सिरहाको गोलबजारसम्म लगेर बिक्री गर्ने गरेको छ। 

नगरपालिकाले गोलभेँडा बजारसम्म पु¥याइदिएपछि कृषकहरूलाई ठूलो राहत मिलेको वडाध्यक्ष हायु बताउँछन्। ‘बारीमै सडेर जाने अवस्थामा पुगेको थियो, नगरको पहलमा बजारसम्म पु¥याउँदा पनि ठूलो राहत भयो। वडाको गोलभेँडा ओखलढुङ्गा, सोलुखुम्बु, जिल्लाकै कटारी बजार, गाईघाट, सिन्धुलीको दुधौली र सिरहाको गोलबजार, धनकुटासम्म लगेर बिक्री गर्ने गरिएको छ। 

वडाध्यक्ष हायुका अनुसार वडाको गोठडाँडा, काफलडाँडा, खोल्मेचौर, लप्से, आम्बोटेलगायत गाउँमा गोलभेँडा पर्याप्त मात्रामा उत्पादन भएको छ। यसअघि अदुवा, काउली र डल्ले खुर्सानी उत्पादन गरेका कृषकले दुई वर्षयता गोलभेँडा खेतीलाई प्राथमिकता दिँदै आएका छन्। 
 

प्रकाशित मिति: : 2023-06-19 21:16:00

प्रतिकृया दिनुहोस्