ललितपुरका मुख्य चार सडक चाेकमा ‘स्मार्ट लाइट’ जडान

बुङमतीमा पनि अग्लो बत्ती जडान हुने

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकाले आफ्नाे सहरलाई उज्यालाे बनाउने अभियानअन्तर्गत हाइ मास्ट स्मार्ट सडक बत्ती (अग्ला बत्ती) जडान कार्यलाई तीव्रता दिएकाे छ।

१२ वटा चाेकमा हाइ मास्ट स्मार्ट सडक बत्ती जडान गर्ने गरी काम सुरु गरेकाे महानगरले हालसम्म ४ वटा चाेकमा जडान गरिसकेकाे नगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए। ‘महानगरलाई उज्यालो बनाउने अभियानअन्तर्गत हामीले स्मार्ट सडक बत्ती जडान गरेका हौँ,’ महर्जनले बिएल नेपाली सेवासँग भने।

उनकाअनुसार विद्युत प्राधिकरणसँगको सहकार्यमा महानगरले हाइ मास्ट स्मार्ट सडक बत्ती जडान गरेकाे हाे। हाल पुल्चोक क्याम्पस, महानगरपालिकाको भवन अगाडि, जावलाखेल र लगनखेलमा यो बत्ती जडान भइसकेको पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जन बताए।

उनले भने, ‘बत्तीले टाढासम्म उज्यालो देओस् भनेर चोक चोकमा राखेका हौं।’ ६० देखि १०० मिटर रेडियसमा यो बत्ती प्रकाश छर्ने उनले बताए। १६ मिटर अग्लो पोलमा हाइ मास्ट स्मार्ट सडक बत्ती गरिएको हो।

कुपन्डोलस्थित बागमती पुल, पुल्चोक इनार (नबिल बैंक नजिकै), लगनखेल चोक बसपार्क, बटुक भैरव मन्दिर अगाडि बुङमती बसपार्क, शंखपार्क शंखमुल, ठाडोढुंगा चोक, धोबीघाट ढुंगेधारा, महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी मन्दिर बत्ती जडान गर्नका लागि बेस तयार भएको छ।

एक साताभित्र सबै चोकमा यो हाइ मास्ट स्मार्ट सडकबत्ती जडान भइसक्ने उनले बताए।

झिलिमिली सहर

ललितपुर महानगरको चक्रपथबाहिरका वडाहरु सुनाकोठी, धापाखेल, खोकना, हरिसिद्धि पनि झिलिमिली भएका छन्। ललितपुर महानगरले चक्रपथबाहिरका वडाहरु सुनाकोठी, बुङमती,खोकना, हरिसिद्धि, भैसीपाटी, धापाखेलमा स्मार्ट सडकबत्ती जडान गरेसँगै यी वडा उज्यालो भएका हुन्।

ललितपुर महानगरले यी वडाहरुमा १४ सय बत्ती जडान गरेको नगरप्रमुख चिरीबाबु महर्जनले बताए। उनले भने, ‘धेरै जसो ठाउँमा बत्ती जडानको काम सकिएको छ, कुनै कुनै ठाउँमा प्राविधिक कुरा मिलाउनु पर्नेछ, दुई साताभित्र यो काम पनि समाप्त हुन्छ।’

यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ अर्थात् पोलैपिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ) बत्ती जडान भएको ठाउँमा आउनु पर्दैन। सर्भर रुमबाट नै गर्न सकिन्छ। सडक बत्ती बाले बापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुन्छ। उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी गर्नेछ।

चक्रपथमा पनि सडक बत्ती

ललितपुर महानगरले चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ।

महानगरले विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य गरी महानगरभित्र पर्ने चत्रपथ  खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न लागेको हो। बत्ती जडानका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। चत्रपथमा जडान गरिने स्मार्ट सडक बत्तीले रातको समयमा हुने सडक दुर्घटना न्यून हुने नगर प्रमुखले बताए।

उनले भने, ‘अधिकांश दुर्घटना राति भएका छन् ,ती दुर्घटना बत्ती नभएको कारणले भएका हुन्।’ स्मार्ट सडक बत्तीले सडकलाई उज्यालो र सुरक्षित बनाउने उनको भनाइ छ।

महानगरको ‘कोर एरिया’मा दुई वर्षअघि नै स्मार्ट सडक बत्ती

ललितपुर महानगरको ‘कोर एरिया’मा स्मार्ट सडक बत्ती जडान भइसकेको छ। यी बत्ती जडान भएपछि सडक उज्यालो र सुरक्षित भएका छन्। महानगरपालिकाभित्रका तीन वटा रुटमा जम्मा ६ सय ६९ वटा स्मार्ट सडकबत्ती जडान भएका हुन्। बाग्मती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल (इनार), पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार, लगनखेलसम्म, पुल्चोक महानगरपालिका कार्यालयबाट मंगलबजार हुँदै ग्वार्कोसम्म सडकबत्ती जडान भएका हुन्।

स्मार्ट सडक बत्ती जडानका लागि प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणले गरेको हो।

प्रकाशित मिति: : 2023-06-12 18:11:00

प्रतिकृया दिनुहोस्