एकता, सहमति र सहकार्य आवश्यक: प्रदेश प्रमुख गुरुङ

फाइल तस्बिर
फाइल तस्बिर

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राष्ट्रको समृद्धिका लागि एकता, सहमति र सहकार्य आवश्यक भएको बताए।

गणतन्त्र दिवस २०८० का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले गणतन्त्र घोषणा भएसँगै सुशासन, द्रुततर आर्थिक, सामाजिक विकासलगायत सबै क्षेत्रमा सुन्दर, समृद्ध र नयाँ हुन्छ भन्ने आम नेपालीको अपेक्षा एवं सहिदका सपना साकार पार्न एकता, सहमति र सहकार्य हुनु आवश्यक रहेको उल्लेख गरेका छन्।

लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्नुहुने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले यस ऐतिहासिक दिवसले हामी सबैलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरे।

'व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता हो', सन्देशमा भनिएको छ।

प्रकाशित मिति: : 2023-05-29 08:10:00

प्रतिकृया दिनुहोस्