फेउ थाईले गठबन्धन सरकारको नेतृत्व गर्ने दावी

Photo - Nikkei Asia
Photo - Nikkei Asia

घोषित निर्वाचन परिणामले थाइल्याण्डको कडा चुनावी प्रतिस्पर्धापछि फेउ थाई पार्टीले प्रगतिशिल मुभ फरवार्ड पार्टी (एमएफपी) सँग गठबन्धन बनाउने देखिएको थाई अधिकारीहरूले जनाएका छन्।

निर्वाचन आयोगबाट सोमबार सार्वजनिक तथ्याङ्क अनुसार करिब एक दशकसम्म सेनानिकट परम्परावादी दलहरूलाई भारी पराजयको भट्का दिँदै मुभ फरवार्ड पार्टी सबैभन्दा ठूलो दल बन्ने देखिएको छ।

अल जजिराका अनुसार ९७ प्रतिशत मतदान केन्द्रको गणनासँगै प्रोग्रेसिभ मुभ फरवार्ड पार्टी (एमएफपी) ले लोकप्रिय मतमा एक करोड ३५ लाख, प्रतिद्वन्द्वी विपक्षी दल फेउ थाईले एक करोड तीन लाख र प्रधानमन्त्री प्रयुत चान–ओ–चाको युनाइटेड थाई नेशन पार्टीले ४५ लाख मत प्राप्त गरेका छन्।

पछिल्लो मत परिणाम अनुसार यस पहिले थाइल्याण्डको संसदमा विपक्षी दलको भूमिका निर्वाह गर्दै आएका फेउ थाई पार्टी र मुभ फरवार्ड पार्टीले निर्वाचन क्षेत्र र दलीय सूची दुवै दौडमा पालैपालो अग्रता लिइरहेका छन्। मतगणना जारी छ।

बैङ्कक पोस्टका अनुसार फेउ थाईका प्रधानमन्त्रीका तीन दावेदारमध्ये एक स्रेथा थाभिसिनले अनौपचारिक नतिजाले फेउ थाई अझै पनि अग्रस्थानमा रहेको देखाएको बताएका छन्।

सन् २०२० मा गठन भएको युवा नेतृत्वको प्रगतिशील पार्टी एमएफपीले ११५ निर्वाचन क्षेत्र जित्ने प्रवल सम्भावना देखिएको छ भने यसले राष्ट्रव्यापी मतदानका लागि दलद्वारा छुट्याइएको सिटसङ्ख्याको ३३ प्रतिशत हिस्सा ओगटे्ने देखिएको छ।

अर्बपति सिनावात्रा परिवारसँग जोडिएको विपक्षी दल फेउ थाईले ११२ निर्वाचन क्षेत्र र पार्टीको सूचीका २५ प्रतिशत सिट जित्ने अनुमान गरिएको छ।

सन् २०१४ को ‘कू’ पछि पहिलो पटक सत्तामा आएका प्रधानमन्त्री प्रयुथ चान–ओचाको युनाइटेड थाई नेशन पार्टीले निर्वाचन क्षेत्रमध्ये २५ सिट र पार्टी सूचीको १० प्रतिशत सिट जित्ने अपेक्षा गरिएको छ।

आइतबार सम्पन्न निर्वाचनबाट तल्लो सदनका ५०० सिटका लागि प्रतिस्पर्धा हुँदैछ, जसमध्ये ४०० प्रत्यक्ष निर्वाचित निर्वाचन क्षेत्र हुन्।

बाँकी समानुपातिक प्रतिनिधित्व प्रणालीअनुसार बाँडफाँड गरिएको छ। फेउ थाई नेता पेटोङ्टार्न सिनावात्राले एमएफपीलाई चुनावी सफलताका लागि बधाई दिँदै सबैभन्दा बढी मत प्राप्त गर्ने पार्टीले अर्को सरकारको नेतृत्व गर्न पाउने बताएका छन्।

'हामी मुभ फरवार्डसँग कुरा गर्न तयार छौं, तर हामी आधिकारिक नतिजाको पर्खाइमा छौं,' उनले बैङ्ककमा पत्रकारसँग भने। 'म उहाँहरूका लागि खुसी छु,' उनले थपे।

सन् २०२० मा युवाको नेतृत्वमा भएको जनलोकतन्त्र समर्थक प्रदर्शनपछिको यो पहिलो निर्वाचन हो भने सन् २०१४ मा भएको सैन्य ‘कू’ले निर्वाचित सरकारलाई अपदस्थ गरेपछिको यो दोस्रो निर्वाचन हो।

प्रकाशित मिति: : 2023-05-15 13:05:00

प्रतिकृया दिनुहोस्