युक्रेनले पुटिनमाथि आक्रमण प्रयास नगरेको जेलेन्स्कीको दावी

युक्रेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्यान लिने प्रयास गरेको भन्ने क्रेमलिनको आरोपको युक्रेनी राष्ट्रपतिले खण्डन गरेका छन्।

फिनल्यान्ड भ्रमणमा रहेका भोलोदिमिर जेलेन्स्कीले आक्रमणबारे रूसी दाबीको खण्डन गर्दै भने, 'हामी पुटिन र मस्कोमाथि आक्रमण गर्दैनौँ। हामी आफ्नो भूभागका लागि लड्छौँ। हामी हाम्रा गाउँ र सहरहरूको रक्षा गरिरहेका छौँ।'

यसअघि रूसी राष्ट्रपतिको कार्यालयले पुटिनको ज्यान लिने उद्देश्यले भएको ड्रोन आक्रमण निस्तेज पारिएको बताएको थियो।

रूसले बदलामा आवश्यक ठानिए जुनसुकै समय र स्थानमा पनि प्रतिकार गर्न सक्ने चेतावनी दिएको थियो।

रूसी राष्ट्रपति कार्यालयले युक्रेनबाट क्रेमलिनस्थित पुटिनको निवासमाथि आक्रमणको प्रयास भएको भन्दै त्यसलाई ‘योजनावद्ध आतङ्कवादी हमला र राष्ट्रपतिको हत्या प्रयास’ को संज्ञा दिएको थियो।

अधिकारीहरूले उक्त भवनलाई निशाना बनाइरहेका दुई वटा ड्रोनहरू इलेक्ट्रोनिक रडारको प्रयोग गरेर निष्क्रिय पारिएको बताएका थिए भने राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले आक्रमणका समय रूसी नेता पुटिन क्रेमलिनमा नरहेको बताएका थिए।

प्रकाशित मिति: : 2023-05-05 05:15:00

प्रतिकृया दिनुहोस्