अफगानिस्तानलाई आयरल्याण्डबाट पन्ध्र लाख युरो आर्थिक सहयोग

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

अफगानिस्तानले सन् २०२३ का लागि अफगानिस्तान मानवीय कोष (एएचएफ) का लागि १५ लाख युरो बराबरको नयाँ आर्थिक सहायता प्राप्त गरेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)ले जनाएको छ। 

ओसिएचएले मङ्गलबार ट्वीटरमा अफगानिस्तानका जनताका लागि आयरल्याण्डले हालै गरेको महत्वपूर्ण योगदानको कदर गर्दै थप मानवीय सहायता आपूर्तिले आम अफगानीको जीवनमा लाभकारी प्रभाव पार्ने बताएको छ। 

सन् २०२१ को अगष्टमा तालिवानले अफगानिस्तानमा पुनः कब्जा जमाएपछि पूरै अफगानिस्तानमा गरिबी र भोकमरीमा उल्लेखनीय वृद्धि भएको छ।
 सन् २०२३ मा करिब दुई करोड ८३ लाख अफगानी अर्थात् देशको जनसङ्ख्याको करिब दुई तिहाइलाई तत्काल मानवीय र सुरक्षात्मक सहायताको आवश्यकता पर्ने ओसीएचएलाई उद्धृत गरी खामा प्रेसले जनाएको छ। 

यस वर्षको सुरुमा विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा खराब मानवीय विपत्ति अफगानिस्तानमा भएको थियो। मात्रा र तीव्रता दुवैको सन्दर्भमा, यसले एक कठोर गिरावटलाई सङ्केत गर्दछ।  

मानवीय संस्थाहरूले अन्तर्राष्ट्रिय जगतलाई अफगानी जनताको साथमा ऐक्यवद्धता कायम राख्न र यस कठिन घडीमा उनीहरूलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आएका छन्। 

तालिवान सरकारले विशेषगरी महिला र बालिकामाथि लगाएको प्रतिबन्धका बावजुद सन् २०२३ मा अफगानिस्तानका जनतालाई आफ्नो जीवनरक्षक सहयोग प्रदान गर्न सहायता संस्था र मानवीय संस्थाहरू प्रतिवद्ध छन्।

प्रकाशित मिति: : 2023-05-04 05:26:00

प्रतिकृया दिनुहोस्